धरानको कृषि फार्मभित्र गाँजाको कारोबार, सञ्चालक पक्राउ
धरान : सुनसरीको धरान उपमहानगरपालिका रहेको कृषि फार्मभित्र लागू औषध गाँजाको कारोबार हुने गरेको पाइएको छ। सुनसरी प्रहरीले ठूलो परिणामाको गाँजासहित फार्म सञ्चालकलाई पक्राउ गरेको हो।
धरान उपमहानगरपालिका–१७ खेरैनीमा रहेको सप्रिम एग्रीकल्चर कृषि फार्मबाट ३ सय ७ किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताएका छन्। प्लास्टिकका १० वटा बोरामा लुकाइ छिपाइ राखिएको गाँजा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले मंगलबार राति बरामद गरेको उनले बताए।
कृषि फार्मबाट लागू औषध गाँजाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा छापा हान्न प्रहरी टोली पुगेको थियो। उक्त फार्म धरान–१३ का ४४ वर्षीय मनीराज राईले सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।
फार्मबाट गाँजा बरामद भएसँगै राईलाई पक्राउ गरिएको तिमल्सिनाले बताए। राईविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।
धनकुटा, भोजपुरलगायतका पहाडी जिल्लाबाट ल्याएको गाँजा कृषि फार्ममा भण्डारण गरेको गाजा फार्मबाटै अन्यत्र ‘सप्लाई’ हुने प्रहरीको भनाइ छ।
गाँजा कसले र कहाँबाट ल्याएर राखेको हो भनेर प्रहरीले खुलाएको छैन। थप अनुसन्धान भइरहेको डीएसपी तिमल्सिनाले बताए।