अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउँछौं : मन्त्री अधिकारी
तानसेन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि रचनात्मक काम सुरु गरेको बताएका छन्। पाल्पामा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमिका निकै जटिल भएको बताए।
'भूमि बैंकको प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। सार्वजनिक भूमिहरूको अतिक्रमणजस्ता समस्याहरू छन्,' उनले भने। उनले अतिक्रमित सरकारी जग्गाहरू फिर्ता ल्याउने, मालपोत र नापी कार्यालयलाई प्रविधियुक्त बनाउने र जनतालाई सहज सेवाको पहुँच दिने बताए।
उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका ऐन संसोधनदेखि नियमनका कुराहरू भइरहेको बताए। लुम्बिनीमा देखिएका समस्याग्रस्त २२ मध्ये ३ वटा सहकारीको समस्या समाधान भएको उनको भनाइ छ। उनले सहकारी र सहकारी सञ्चालकको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने बताए।