आशिषको आश्चर्यलाग्दो कला : मुखमा पेन्सिल च्यापेर चित्र कोर्छन्, ओठ र चिउडोले ट्याब चलाउँछन्
धनकुटा : साँगुरीगढी–८ लुखाका २२ वर्षीय आशिष राई शारीरिक रूपमा अशक्त छन् । बोल्न सक्दैनन्, हातखुट्टा चल्दैनन् । तर, गजबका चित्र बनाउँछन्भन्दा पत्याउनुहुन्न होला ? तर, सत्य यही हो ।
बाल्यकालदेखि नै शारीरिक अशक्तता भए तापनि उनले कला र सिर्जनशीलतामा विशेष पहिचान बनाएका छन् । अचेल उनी चित्रकारका रूपमा परिचित छन् । मुखमा पेन्सिल राखेर चित्र कोर्छन् । उनले बनाएका चित्रहरू सुन्दर र आकर्षक छन् ।
ओठ र चिउडोको सहाराले ट्याब चलाउँछन् । आफूलाई मनपर्ने गीतहरू सुन्छन् । फेसबुक र युट्युब एकाउन्ट खोलेका छन् । आफ्नो केही कुरा भन्न र बोल्न सक्दैनन् । तर, उनले फेसबुक च्याटको माध्यमबाट साथीभाइहरूसँग कुराकानी गर्छन् । सामाजिक सञ्जालमा चित्रहरू पोस्ट गरेर आफ्नो सिर्जना अरूलाई देखाउँछन् । अरूले बोलेको कुरा सुन्न र बुझ्न सक्छन् । सांकेतिक भाषा र अनुहारको भावबाट आफ्नो विचार र भावना प्रकट गर्छन् ।
कोसिस गर्यो भने मान्छेले जे पनि गर्न सक्छ भन्ने आफूले अठोट लिएको उनले फेसबुक म्यासेन्जरमा लेखेर बताए । चित्र बनाउन थालेको उनले एक वर्ष मात्रै भएको छ । सुरुमा कुकुरको चित्र बनाएको उनले स्मरण गरे । चित्र बनाउन आधा घण्टा समय लागेको थियो । विस्तारै अरू चित्र कोर्न थाले । उनले बनाएका चित्रले घरका भित्ता सजिएका छन् । कापिका पानै पिच्छे विभिन्न आकृतिका चित्र कोरेका छन् । हिमाल, पहाड, तराई, विभिन्न जनावर, फूलहरूका चित्र बनाएका छन् ।
घरभन्दा बाहिरको संसार नदेखेपनि अरुले भनेको सुनेर, सामाजिक सञ्जालमा देखेर चित्रमा दुरुस्तै उर्ताने गर्छन् । उनलाई भेट्न आउने जोकोहीले चित्र बनाउन हौसला दिने गरेका छन् ।
बहिनीले बनाएको देखेर चित्र बनाउन सुरु गरेको आशिषकी आमा लक्ष्मी राईले बताइन् । दुईतले घरको माथिल्लो तलामा आशिष बस्छन् । कोठाभन्दा बाहिर उनी निस्किन सक्दैनन् । खाना खान तथा दिसा पिसाब गर्न अरूको सहयोग चाहिन्छ । ‘छोरा केही गरी बस्नै सक्दैन’ लक्ष्मी भन्छिन्, ‘घरी चित्र बनाउँछ, घरी मोबाइल चलाउँछ ।’
उनको क्षमता देखेर परिवारका सदस्य छक्क पर्छन् । हेर्न आउनेले चित्र हेर्दै फोटो खिच्दा आशिषको अनुहारमा खुसीमा भाव झल्किने गर्छन् । उनी आफैं पनि फोटो खिचेर चिने जानेकालाई पठाउने गर्छन् ।
आमा लक्ष्मीका अनुसार छोरा दुई वर्षको उमेरसम्म वामे सर्दै हिँड्थे । समात्ने ठाउँ भेटिँदा उभिन कोसिस गर्थे । उभिएर समात्ने ठाउँ खोज्दै हिँड्न खोज्थे । ४ वर्षको उमेर हुँदासमेत हिँड्न सकेनन् । एउटा खुट्टा उभिए पनि खुट्टाको औंलाले टेक्न सकेनन् । अर्को खुट्टा टेक्न नसक्दा खुम्चियो । पछि विस्तारै हात खुट्टाको नसा सर्दै सर्दै खुम्चिएर एकै ठाउँमा आएको उनी बताउँछिन् । देब्रे हातको कुहिनामा खटिरा जस्तो पिलो आएपछि एक महिना घोपा धरानमा उपचार गराएको उनको भनाइ छ । घरको जायजेथा सकिँदासमेत उपचार हुन सकेन । पछि फिर्ता ल्याएर घरमै राखेको उनले बताइन् ।
छोरालाई दिमाग भगवानले दियो, हातखुट्टा दिन सकेन । यसैमा चित्त बुझाएको लक्ष्मी बताउँछिन् । कोठाको वरिपरि वामे सर्दै यताउता गर्छन् । प्रायः ओछ्यानमै चित्र बनाउँदै मोबाइल चलाउँदै बस्छन् । उनको दिनचर्या यसरी नै बित्ने गरेको छ ।
सरकारले मासिक उपलब्ध गराउने भरणपोषणका लागि सहयोग पुगेको छ । उमेर २२ वर्ष पुगे पनि उनको नागरिकता बनेको छैन । नागरिकता बनाउन उनी आफैं प्रशासन कार्यालयसम्म पुग्न सक्दैनन् । वडा तथा गाउँपालिकाले घरमै नागरिकता उपलब्ध गराउन पहल गरिरहेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
आर्थिक अवस्था कमजोर
आशिषको परिवारमा पाँच जना सदस्य छन् । उनी घरको जेठो छोरा । बुवाआमा र दुई जना भाइ र बहिनी छन् । भाइ र बहिनी पढ्छन् । घरको आर्थिक अवस्था कमजोर छ । घरको मुख्य आम्दानीको स्रोत कृषि हो ।
उनका बुवाआमा खेतीपाति गर्छन् । बाख्रापालन गर्छन् । खेतीपातीले घरको खर्च केही हदसम्म धानेको आशिषका बुवा दलबहादुर राईले बताए ।