कर्णाली प्रतिष्ठान कर्णालीको विशेषज्ञ स्वास्थ्य सेवाको सपना हो : प्रधानमन्त्री ओली
जुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीवासीको विशेषज्ञ स्वास्थ्य सेवाको सपना पूरा गर्ने आधार भएको बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई जुम्लामा पुगेर सम्बोधन गर्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘कर्णाली भनेको सुर्खेत पनि हो तर सुर्खेत दुर्गम होइन। खास विशेषज्ञ स्वास्थ्य सेवाबाट टाढा रहेको दुर्गम कर्णालीमा बसोबास गर्ने स्थानीय नागरिकका लागि विशेषज्ञ स्वास्थ्य सेवा सपनाजस्तै थियो। तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई सञ्चालन भएपछि कर्णालीवासीको त्यो सपना पूरा भएको छ। आज प्रतिष्ठानकै कारण कर्णालीको दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पाउन यहाँका नागरिकहरू सफल भएका छन्। त्यसैले कर्णाली प्रतिष्ठानको थप विकास र सेवा विस्तार जरुरी छ। यहाँको पूर्वाधार विकासका साथै अन्य प्राज्ञिक विकासमा संघीय सरकार पूर्ण प्रतिबद्ध छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लागिपरेको छ।’
प्रधानमन्त्री ओलीले प्रतिष्ठानबाट दीक्षित भएका सबै योग्य क्षमतावान् विशेषज्ञ जनशक्तिलाई बधाई दिँदै उत्कृष्ट कार्यसम्पादन गरी पुराना सबै खाले रेकर्ड ब्रेक गर्न आग्रह गरे। उनले भने, ‘तपाईंहरू यहाँबाट दीक्षित भएर सेवामा फर्किनु भएको छ। धेरै यहाँबाट दीक्षित हुनुपुर्व नै आ–आफ्नो क्षेत्रमा सेवा प्रवाह गरिरहनुभएको छ भन्ने बुझेको छु। अब तपाईंहरू आफ्नो क्षेत्रमा अध्ययन, अनुसन्धान र सेवामा उत्कृष्टता प्रदान गर्न सफल हुनुस्। प्रतिष्ठानको गति रोकिएको अवस्थामा मेरै अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठकले यहाँ विशेषज्ञ अध्ययन कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो। आज प्रतिष्ठानले गति लिएको देख्दा गर्वको अनुभूति भएको छ। अब कर्णालीमा विशेषज्ञ स्वास्थ्य जनशक्ति उत्पादन र सेवा प्रवाहका लागि प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्नेछ।’
प्रधानमन्त्री ओलीले कर्णाली प्रतिष्ठानअन्तर्गत दैलेखको राकममा स्थापना हुन लागेको सय बेडको अस्पताल निर्माण प्रक्रियालाई पनि सरकारले अगाडि बढाउने बताए। उनले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिमका केही जिल्लाहरूलाई समेत विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको अवगत भएको छ। यसलाई थप प्रभावकारी बनाउन राकममा सञ्चालन गर्न लागिएको सय बेडको अस्पताल पनि महत्त्वपूर्ण छ। त्यसले दैलेख, अछाम, कालीकोट, बाजुरालगायतका जिल्लालाई विशेषज्ञ स्वास्थ्य सेवा दिन सहजता प्रदान गर्नेछ। त्यसैले उक्त अस्पताल निर्माणको कामलाई संघीय सरकारले आफ्नो प्राथमिकतामा राख्नेछ।’
प्रतिष्ठानबाट पहिलोपटक ५८ जना दीक्षित
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका छन्। कर्णाली प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई दीक्षित गराएका हुन्। स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएस १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित भएका हुन्।
प्रथम दीक्षान्त समारोहमा बीपीएच प्रथम ब्याजबाट बुधबार नै दीक्षित जुम्ला तातोपानी गाउँपालिका ३ लिताकोटकी दीपा उपाध्यायले आफ्नै जिल्लामा सञ्चालित प्रतिष्ठानबाटै आफ्नो अध्ययनको सपना पूरा गर्न पाउँदा निकै हर्षित भएको बताइन्। उनले भनिन्, ‘मेरो जीवनकै खुसीको पल हो। यस पलमा मेरो आमा कृष्णामाया उपाध्याय र हजुरआमा (बजै) धनलक्ष्मी आचार्य पनि मसँगै हुनुहुन्छ। उहाँहरूले मसँग देखेको सपना आज पूरा हुँदा हाम्रो सबै परिवारमा खुसी छाएको छ।’ उनी स्वास्थ्य सेवा कार्यालय दैलेखमा हाल जनस्वास्थ्य अधिकृतका रूपमा प्रदेश करार सेवामा कार्यरत छिन्। उनले अब आफूले स्नातकोत्तरको पढाइलाई पनि प्रतिष्ठानबाटै सुरुवात गर्ने र कर्णालीमै बसेर सेवा गर्ने प्रतिबद्धता जनाइन्।
प्रधानमन्त्री तथा कुलपति ओलीको अध्यक्षतामा भएको दीक्षान्त समारोहमा प्रमुख अतिथि अमेरिकास्थित हार्भर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङर, स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा सहकुलपति प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झालगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। समारोहमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कर्णाली र सुदूरका केही जिल्लालाई समेत विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको कर्णाली प्रतिष्ठान एकपछि अर्को सफलतातिर केन्द्रित भएको बताए। ‘भौतिक पूर्वाधार र उपकरणका हिसाबले सुविधायुक्त बन्न अझै नसकिरहेको अवस्थामा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह निकै राम्रो भइरहेको छ। यो प्रतिष्ठान कर्णालीवासीका लागि स्वास्थ्य सेवाका हिसाबले जग हो। मुलुकमा संघीयता आएपछिको एक सफल उदाहरण पनि हो।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महŒवपूर्ण योगदान गरिरहेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।
उनले भने, ‘प्रतिष्ठानले शैक्षिक गतिविधि र विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहमा गति लिएको छ। तर, यहाँ अहिले पनि एमआरआईजस्ता सेवाहरू सुचारु गर्न सकिएको छैन। त्यसप्रति प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं। चाँडै त्यो सेवा पनि सुचारु गर्नका लागि कर्णालीवासीको तर्फबाट माग गर्दछु।’
कर्णालीमा पढ्नुभयो, कर्णालीमै सेवा गर्नुस् : स्वास्थ्यमन्त्री पौडेल
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढेका विज्ञहरूले कर्णालीमै सेवा गर्न आग्रह गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले भने, ‘तपाईंहरूले आफ्नो करिअर निर्माणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रोज्नुभयो। कर्णालीमै पढ्नुभयो। अब कर्णालीमै सेवा गर्नुस्। कर्णालीवासीको सेवामा तपाईंहरूको क्षमता र दक्षताको उपयोग गर्नुस्।’
मन्त्री पौडेलले मुलुकभरिका अस्पतालहरू सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्न सरकार लागिरहेको बताए। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्वाधार र प्रविधिका हिसाबले सुविधासम्पन्न बनाउने पनि प्रतिबद्धता जनाए। उनले भने, ‘कर्णालीवासीको स्वास्थ्य सेवाको जग कर्णाली प्रतिष्ठान हो। यसलाई सबै किसिमका सुविधायुक्त बनाउन सरकारले पर्याप्त लगानी गर्नेछ।’