पहिरोले स्कुल भत्के, पढ्नबाट विद्यार्थी बञ्चित भए
पनौती (कुशादेवी) : पनौती–२ स्थित श्री फुलचोकी आधारभूत विद्यालयकी विद्या बजगाईं नयाँ कक्षामा पढ्न नपाएकोमा चिन्तित छिन्। ५ कक्षामा दोस्रो भएकी उनलाई कक्षा ६ मा नयाँ किताबकापी बोकेर पढ्न जाने रहर छ। तर, त्यो रहर कहिले पूरा हुने हो, अन्यौलमा छिन्।
‘पहिरोले स्कुल भत्कायो। अब कहिले स्कुल खुल्ने हो ? थाहा छैन,’ बजगाईं भन्छिन्, ‘सर/म्याडमहरूले पनि केही खबर गर्नु भएको छैन।’ स्कुल भत्किँदा विद्यासँगै कक्षा १ मा पढ्ने उनका भाइ संगीतको भविष्य पनि अन्योलमै छ। उनीहरू भाँडाकुटी खेल्ने, उफ्रिने गरेर दिन बिताइरहेका छन्।
असोज १० गतेको पहिरोले पनौती–२ का बासिन्दाका घर मात्र बगाएन, विद्यालय पनि क्षतविक्षत भएपछि पढनबाट बालबालिका बञ्चित भएका हुन। उक्त दिन आँखै अगाडि विद्यार्थी परिचयपत्र (आईडी कार्ड) सहित किताबकापी पहिरोमा पुरिए। कतिपयको स्कुल पोसाक रोशी र लीलावती खोलाले बगायो। न घर सग्ला छन्, न त स्कुल जाने बाटो नै ठीक छ। स्कुल भवन पनि भत्केका छन्। त्यसैकारण, नयाँ किताबकापी बोकेर स्कुल जाने पनौतीका सयौं विद्यार्थीको रहर अधुरै छ।
अन्य क्षेत्रका बालबालिका यतिबेला पढाइमा मग्न छन्। तर, पनौती–२ स्थित श्री फुलचोकी आधारभूत विद्यालयका विद्यार्थीहरू तनाबमा देखिन्छन्। १ देखि ८ कक्षासम्म पढाइ हुने विद्यालयमा ४५ जना विद्यार्थीहरू अध्ययनरत छन्। पनौती नगरपालिकाका शिक्षा शाखाका प्रमुख प्रणराज न्यौपानेका अनुसार पहिरो र बाढीले नगर क्षेत्रका १५/१६ विद्यालयमा क्षति पुगेको छ।
कतिपय विद्यालयमा डेढ महिना बितिसक्दा पनि कक्षा सुचारु हुन सकेको छैन। जसका कारण बालबालिकाको दिनचर्या नै बदलिएको छ। बदलिएको दिनचर्या र जीवनशैलीले अभिभावक पिरोलिएका छन्। घरमै बसिरहेका बालबालिका मानसिक तनावमा छन्। अभिभावक गोविन्द आचार्य भन्छन्, ‘पढ्न नपाउँदा बालबालिकाहरू तनावमा छन्। भत्किएको सडक बनेको छैन। अभिभावकले विद्यालयमा पठाउन सक्ने अवस्था पनि छैन।’
श्री फुलचोकी आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रमेश बजगाईं आफैं तनावमा रहेको बताउँछन्। ‘स्कुलका कोठाहरू भत्केका छन्। अगाडिको चौर फुटेको छ,’ बजगाईं भन्छन्, ‘स्कुलमा विद्यार्थीहरूलाई पढाउनु जोखिमयुक्त छ। कहाँ लगेर पढाउने ? केही भइहाल्यो भने त्यसको जिम्मेवारी कसले लिने ? हामी दोधारमा छौं।’ पनौती–२ वडा सदस्यसमेत रहेका बजगाईंले छोराछोरीलाई स्कुल पढाउन नपाउँदा अभिभावकहरू चिन्तित भएको बताए। स्थानीय गोबिन्द आचार्य भन्छन्, ‘केटाकेटीहरू मानसिक रूपमा तनावमा छन्।’ पनौती नगरपालिकाको शिक्षा शाखादेखि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुगमन भइसकेको उनले बताए।
बाटै छैन, कसरी स्कुल जानु ?
दायाँबायाँ सबैतिर क्षतविक्षत भएका दृश्य देखिन्छन्। सडक भत्किएको छ। केही विद्यालय जसोतसो खुलेका छन्। तर, एक /डेढ घण्टा टाढाबाट आउनुपर्ने विद्यार्थीहरू कक्षा कोठामा देखिएका छैनन्। पहिरो छिचोल्दै स्कुल जाँदा छोराछोरी लड्छन् कि भन्ने भय अभिभावकमा छ।
कक्षा सुरु भएका विद्यालय, कलेजमा पनि विद्यार्थीहरू आउन सकेका छैन। तीन दिनसम्म परेको अविरल वर्षाले सडक भत्किएको छ। पहिरोले पुरेको सडक पार गर्दै विद्यार्थी आउन नसकेको विद्यालयका प्रधानाध्यापकहरू बताउँछन्। पनौतीस्थित श्री कुशादेवी माध्यमिक विद्यालयमा पसेको लेदो सफा गरेपछि कक्षा सञ्चालन भएको छ। तर, टाढाटाढाका विद्यार्थीहरू कक्षा कोठामा देखिएका छैनन्। विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालका अनुसार, स्कुल खुले पनि सडक अबरुद्ध भएका कारण माथिल्लो भेगका विद्यार्थीहरूको कक्षाकोठामा उपस्थिति देखिएको छैन।
‘कक्षा ४ देखि ८ कक्षासम्म पढाइ हुने भवनको पछिल्लो भागमा क्षति पुगेको छ,’ प्रधानाध्यापक दाहाल भन्छन्, ‘स्कुल खुलेको छ। तर, सबै विद्यार्थी पढ्न आउन सक्ने अवस्था छैन। दुई घण्टा टाढाबाट आउनुपर्ने विद्यार्थीहरू पढ्न आउन सकेका छैनन्।’ विद्यालय भवनको पछाडि पट्टीको भागमा लीलावती खोलाको बाढीले क्षति गरेको प्रधानाध्यापक दाहालले जानकारी दिए।
‘बल्लतल्ल आएका विद्यार्थीको सिकाइमा पनि समस्या देखिएको छ। असोजको झैं बाढी आगामी वर्ष आउने हो भने हाम्रै विद्यालय बाँकी रहन्न,’ प्रधानाध्यापक दाहालले भने, ‘विद्यालयको भवन सुरक्षित गर्न पछाडि पर्खाल लगाउनुपर्ने जरुरी छ। अन्यथा सानै बाढी आए पनि यो स्वरूपमा देख्न सकिने छैन।’
पर्खाल लगाउन करिब ३० लाख बजेट लाग्ने अनुमान विद्यालयले गरेको छ। अहिले पर्खाल नलगाउने हो भने झन्डै ५ करोडको भवन सधैं जोखिममा रहने प्रधानाध्यापक दाहालले बताए। ‘स्थानीय सरकारले भन्दा पनि प्रदेश/संघबाट सहयोग हुनुपर्छ।
डेढ दर्जन विद्यालय क्षतिग्रस्त
पनौती नगरपालिका शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेका अनुसार, बाढी–पहिरोमा परी १५/१६ विद्यालयमा क्षति पुगेको छ। जसमध्ये चारवटा विद्यालय सञ्चालन हुन सकेका छैनन्। पनौती–१ स्थित भालचन्द्र माध्यमिक विद्यालय, वडा नं २ स्थित फुलचोकी आधारभूत विद्यालय, वडा नं ११ को कमलादेवी माध्यमिक विद्यालय र १२ स्थित इन्द्रादेवी आधारभूत विद्यालय बढी क्षति भएका छन्।
वडा नं ११ का वडाध्यक्ष विपेन्द्र लामा तामाङका अनुसार, तिहारपछि स्कुल खुले पनि सबै कक्षा सञ्चालन हुन सकेको छैन। ‘पहिरोको लेदो पसेको थियो। सफा गर्ने क्रम जारी नै छ। सफा गरिएका कक्षामा पनि सबै विद्यार्थीहरू आएका छैनन्।’ वडा नं १२ का वडाध्यक्ष जयराम केसीले क्षतिग्रस्त इन्द्रादेवी आधारभूत विद्यालयमा सुचारु गर्न असहज भएपछि अस्थायी सिकाइ केन्द्र (टीएलसी)मा पठनपाठन सुरु गरिएको छ। सिकाइ केन्द्रमा पनि झन्डै ६० प्रतिशित विद्यार्थी मात्र आएका छन्।
पहिरो र बाढीले नगरक्षेत्रमा रहेका १५/१६ वटा विद्यालयको संरचनाको क्षति झन्डै ५ करोड रहेको नगरपालिका शिक्षा शाखाले जनाएको छ। शिक्षा शाखा प्रमुख न्यौपानेले भने, ‘पठनपाठन हुन नसकेका विद्यालयमा पहिरोको लेदो पसेको हो। लेदो सफा गरेर पढाइ सुचारु गरिने छ’ न्यौपानेले भने।
अस्थायी सिकाइ केन्द्रको तयारी
फुलचोकी आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रमेश बजगाईंका अनुसार, कहिलेदेखि विद्यालय सुचारु गर्ने यकिन छैन। अस्थायी सिकाइ केन्द्र (टीएलसी)का रूपमा कक्षा सञ्चालन गर्नका लागि ठाउँ खोजी भइरहेको बजगाईंले बताए। ‘पनौती नगरपालिकाको शिक्षा शाखा र शिक्षा मन्त्रालयको निर्णयको पर्खाइमा छौं,’ बजगाईंले भने।
पनौती नगरपालिका शिक्षा शाखाका प्रमुख न्यौपानेका अनुसार, विकट भूगोलका कारण नयाँगाउँमा रहेको विद्यालयका विद्यार्थीलाई अन्यत्र समायोजन गर्न सक्ने अवस्था छैन। ‘घर मात्र होइन बाटोमा समेत पहिरो गएको छ। त्यसको असर सबै उमेर समूहमा परेको छ,’ न्यौपानेले भने।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार, प्राकृतिक विपद्ले क्षतिग्रस्त भएका विद्यालयमा अस्थायी सिकाइ केन्द्र (टीएलसी) सञ्चालन गर्न निर्देशन दिइएको छ। ‘विपद्मा परेका विद्यालयका लागि हरेक प्रदेशमा बजेट पठाइएको छ,’ उनले भने, ‘अन्तरमन्त्रालय बैठक गरी यसबारेमा छलफल भएको छ। क्षतिग्रस्त विद्यालयले अस्थायी सिकाइ केन्द्र (टीएलसी) मार्फत पठन पाठन सञ्चालन गर्ने निर्णय भएको छ।’
पहिरोले स्कुल भत्कायो। अब कहिले स्कुल खुल्ने हो ? थाहा छैन। नयाँ किताबकापी बोकेर स्कुल जाने रहर छ।
विद्या बजगाईं-विद्यार्थी, कक्षा ६स्कुलका कोठाहरू भत्किएका छन्। आँगन फुटेको छ। कहाँ लगेर विद्यार्थीलाई पढाउने ? तनावमा छु।
रमेश बजगाईं - अध्यक्ष, व्यवस्थापन समिति, फुलचोकी आधारभूत विद्यालयपढ्न नपाउँदा बालबालिकाहरू तनावमा छन्। भत्किएको सडक बनेको छैन। अभिभावकले विद्यालयमा पठाउन सक्ने अवस्था छैन।
गोविन्द आचार्य, अभिभावकस्कुल खुले पनि दुई घण्टा टाढाबाट आउने विद्यार्थीहरू कक्षामा देखिएका छैनन्। सडक अवरुद्ध भएकाले आउन नसकेका हुन्।
माधवप्रसाद दाहाल - प्रधानाध्यापक, श्री कुशादेवी माध्यमिक विद्यालयबाढी–पहिरोले क्षति पुर्याएर बन्द भएका विद्यालय खुलाउन गाह्रो छ। अन्यत्र स्थानमा स्कुल सञ्चालन गर्न मिल्ने ठाउँ पनि भेटिएको छैन।
प्राणराज न्यौपाने, प्रमुख, शिक्षा शाखा, पनौती नगरपालिकाक्षतिग्रस्त विद्यालयले अस्थायी सिकाइ केन्द्र (टीएलसी) मार्फत पठन पाठन सञ्चालन गर्ने निर्णय भएको छ।
नारायणप्रसाद पोखरेल, सूचना अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय।
झस्कन्छन् बालबालिका, चिन्तित छन् अभिभावक !
बाढी र पहिरो खस्न थालेपछि मस्त निद्रामा रहेका बेला अभिभावकहरूले झकझक्याउँदै उठाए। पहिलोपटक भयग्रस्त अभिभावकको मुहार देखेका बालबालिका अविरल वर्षासँगै पहिरो र बाढीको दृश्य सम्झेर बेलाबखत झस्किने गरेका छन्।
पनौती–२ नयाँगाउँका भरत आचार्यका अनुसार राति सुतिरहेको बेला छोराछोरीलाई उठाएको हुनाले अहिले पनि बेलाबखत झस्किने गरेका छन्। ‘पानी परिरहेको थियो। पहिरोले घर भत्कने डर थियो। छोराछोरीलाई राति उठाएर घरको ढोकामा उँभियौं। बाहिर हेरिरह्यौं,’ आचार्य भन्छन,‘त्यो बेलाको असर अहिले बालबालिकालाई मानसिक रूपमा देखा परेको छ। अभिभावक चिन्तित छन्। धेरै जसो अब अन्यत्रै हिँडौं भन्ने मुडमा छन्।’
पनौतीस्थित श्री कुशादेवी माध्यमिक विद्यालय प्रधानाध्यापक माधवप्रसाद दाहालका अनुसार, पाठ्यपुस्तकका साथै घरको पालीमा झुन्ड्याएको पोसाक समेत जोगाउन नसकेको बताउँछन्। ‘आफ्नै आँखा अगाडि पाठ्यपुस्तक, पोसाक बगाएको बालबालिकाको आँखाले देखेका छन्। त्यसको मनोवैज्ञानिक असर विद्यार्थीमा परेको छ,’ प्रधानाध्यापक दाहाल भन्छन्, ‘शिक्षकहरूकै मानसपटल त स्थिर हुन सकिरहेको छैन। बालबालिकाको अवस्था कस्तो होला ? ’ पढाउने र सिकाइ शैलीमा नै असर गर्ने जोखिम रहेको औल्याउँदै प्रधानाध्यापक दाहालले काउन्सिलिङ कक्षा सुरु गर्न मनोपरामशकर्तासँग समन्वय गर्ने तयारी रहेको बताए।
पनौती नगरपालिका शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेका अनुसार, बस्ने, खाने, सुत्ने, पढ्ने स्थान नै क्षतिग्रस्त हुँदा बालबालिका त्रसित मनस्थिितिमा छन्। ‘अन्यत्र जाने बालबालिकाहरू गइसकेका पनि छन्। ‘अन्य कतै जान नसकेका बालबालिकाको पढाइको व्यवस्थापन कसरी गर्ने ? भन्ने छलफल चलिरहेको छ,’ न्यौपानेले थपे, ‘प्राकृतिक विपद्पछि पहिलो आवश्यकता कक्षाकोठा व्यवस्थापन ( सेटलमेन्ट) हो। कक्षाकोठाको व्यवस्थापन मिलाइसके पछि बल्ल बालबालिकालाई मनोपरामर्शको कुरा आउँछ। अहिले हामी विद्यालय व्यवस्थापानतिरै ध्यान दिएका छौं। विद्यालयका कक्षा कोठाको व्यवस्थापन गरिसके पछि बल्ल विद्यार्थी मनोपरामर्श दिने योजना छ।’
अस्थायी सिकाइ केन्द्र बनाएरै भए पनि पढाउनैपर्छ
लक्ष्मीप्रसाद भट्टराई - प्रवक्ता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
पहिरो र बाढीले काभ्रेपलाञ्चोकका दर्जन बढी विद्यालयमा क्षति पुगेको छ। तिहार पछि पनि कतिपय विद्यालय सञ्चालन हुन
सकेका छैनन नि ?
अविरल वर्षा पछिको बाढी र पहिरोले काभ्रपलाञ्चोक क्षेत्रका विद्यालयमा क्षति पुगेको बारेमा मन्त्रालयमा लिखित रूपमै रिपोर्टिङ भएको छ। विद्यालयमा यथाशीघ्र पठन पाठन सुचारु हुनुपर्छ भन्ने नै हो।
विषयगत समितिको बैठक गरी प्रदेश र स्थानीय तहसँग कुराकानी गरिसकेका छौं। प्रदेशले यहीं कात्तिक महिनाभित्र सर्भे गर्ने भनिएको छ। तत्काल अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाएर पठनपाठन
सञ्चालन गर्नुपर्छ।
क्षतिग्रस्त विद्यालयले बजेट अभावमा पुनर्निर्माण पनि हुन सकेको छैन। बजेट पठाइएको छ ?
विपद् प्रभावित शैक्षिक संस्थाका लागि सातवटै प्रदेशमा २ करोड ५ लाखको दरले बजेट पठाएका छौं। त्यसको कार्यान्वयन भएको वा भइरहेको होला भन्ने लागेको छ।
पनौती–२, नयाँगाउँमा रहेको एक विद्यालयले जमिन नपाउँदा अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाउन सकेको छैन। त्यो क्षेत्रको जमिन चिराचिरा परेको छ। यस्तो अवस्थामा के गर्ने ?
अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाउनका लागि स्थानीय तहले ठाउँको पहिचान गर्नै पर्छ। स्थानीय समुदाय र सरकारले ठाउँ छुट्ट्याएपछि प्रदेश सरकारले सबै विवरण माग गर्छ।
प्राकृतिक प्रकोपको पीडा सहेका बालबालिकालाई मानसिक रूपमा असर परेको पाइएको छ। मनोपरामर्श कक्षा सञ्चालन गर्नेतर्फ केही सोंच छ ?
यसतर्फ ध्यानाकर्षण भएको छ। विद्यालय शिक्षा भनेको समन्वय र सहकार्यबाट अघि बढ्ने हो। स्थानीय तह, शिक्षा शाखाबाट काउन्सिलिङ गर्नुपर्ने हुन्छ। प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले पनि समन्वय र सहजीकरण गर्नुपर्छ। त्यस्तै प्रदेश सरकार, विभिन्न विकास साझेदार संस्थाहरूसँग पनि निरन्तर सम्पर्कमा छौं। क्षतिग्रस्त विद्यालयमा गएर शिक्षक र विद्यार्थीलाई काउन्सिलिङ गर्ने सम्बन्धमा संवादमै छौं।