धान काटिसकेर पराल र ठुटामा आगो लगाउँदा उब्जनीमा कमी
परासी : धान स्याहारेर हिउँदेबाली लगाउने तर्खर गरेका नवलपरासी जिल्लाका किसानहरूले खेतमा आगो लगाउन थालेका छन्।
त्यसरी आगो लगाउँदा माटोको उर्वरा शक्तिमा ह्रास आइ खेतको उब्जनी शक्तिमा कमी आउनेमा अधिकांश किसानलाई जानकारी नभएको र जानकारी भएका किसानले पनि बेवास्ता गर्दा हरेक वर्ष यो क्रम बढेको बताइएको छ।
केही वर्ष पहिले हातले धान काट्दै आएका किसानहरूले अहिले भने प्रविधिको विकाससँगै मेसिन प्रयोग गरेर काट्न थालेका छन्। पराल थन्काउन र अग्ला ठुटाको व्यवस्थापनमा झन्झट मानेर किसानहरूले त्यसलाई नष्ट गर्न खेतमा आगो लगाउने क्रमम बढेको हो। जिल्लाका अधिकांश किसानहरूले धान र गहुँ काटेपछि हरेक वर्ष खेतमा आगो लगाउने प्रवृत्ति बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
आगो नलगाउन स्थानीय तह, ज्ञान केन्द्रलगायत विभिन्न निकायले सचेत गराउँदै आए पनि प्रभावकारी हुन नसक्दा यो क्रम रोकिएको छैन।
किसानहरूलाई खेतमा आगो नलगाउन सचेत गराउँदै आए पनि बेवास्ता गरेका कारण हरेक वर्ष यो समस्या बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले बताए।
खेतमा आगो लगाउँदा माटोको उर्वरशक्ति बढाउने जीवाणु नष्ट हुने र उब्जनीमा कमी आउने चौबेले बताए। ‘कम्पाइन मेसिनले धान काट्दा धेरै पराल खेतमै छोडिने भएकाले किसानहरूले खेत सफा गराउन आगो लगाउने गरेका छन्। आगो लगाउँदा माटोमा भएको उर्वरा शक्ति वृद्धि हुने भ्रम किसानमा देखिएको छ। यो सरासर गलत हो। ’, चौबेले भने।
आगो लगाउँदा उल्टो माटोको उर्वर शक्ति घटने र वातावरणमासमेत असर पर्ने हुँदा स्ट्र–रिपर नामक पराल काट्ने मेसिनको प्रयोग गर्न ज्ञान केन्द्रले किसानहरूलाई सुझाव दिएको छ।