पार्टीभित्र गुट-उपगुट छैन, कार्यवाहक सभापतिका विषयमा पनि विवाद छैन : रास्वपा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनका बारेमा समीक्षा भइरहेको बताएका छन्।
सिंहदरवारमा बिहीबार बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताए। आफूहरूको आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनुपर्ने भन्दै उनले विभिन्न कोणबाट खुलारूपमा पार्टीभित्र बहस छलफल भइरहेको बताए।
पार्टीभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा परियारले पार्टीभित्र कुनै गुट-उपगुट नरहेको जिकिर गरे। कार्यवाहक सभापतिका विषयमा पनि पार्टीभित्र कुनै विवाद नरहेको उनको भनाइ छ। उनले आफ्ना नेताविरुद्ध अदालतको अवहेलना मुद्दाका विषयमा पनि पार्टीभित्र छलफल चलिरहेको बताए।
त्यस्तै रास्वपाका सांसद गणेश पराजुलीले सरकारले राजनीतिक प्रतिशोध साधेकाले आन्दोलन निरन्तर अघि बढ्ने बताए। उनले सरकारको रवैयाविरुद्ध उपनिर्वाचनलाई आन्दोलनको रूपमा नै अघि बढाउने बताए। उनले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय नबनाउने उल्लेख गरे।