राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान

राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान
सुन्नुहोस्

बाकु  : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गरेका छन्। उनी बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्कँदै छन्। 

राष्ट्रपति पौडेललाई यहाँस्थित  हैदर अलिएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री तेमुर मुसाएभले बिदाई गरे। अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुगेका हुन्।

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ। 

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए। सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरे। 

‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन, तल्लो तटीय मुलुकहरूलाई संकटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्न’, राष्ट्रपति पौडेलले भने।

मंगलबार नै राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका समकक्षी डा मोहम्मद मुइजुसँग बाकुमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौं, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भने।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधबार यहाँ राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो। सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ शीर्षकको उच्चस्तरीय ‘राउण्ड टेबल’ बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरे। 

यस्तै बुधबार राष्ट्रपति पौडेलले कीर्गिस्तानद्वारा जलवायु सम्बन्धमा बाकुमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताएका थिए। 

सोही दिन कोप–२९ को सम्मेलनअन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूसँग बाकुमा गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरूबाट अनुदान उपलब्ध गराउन संयुक्त राष्ट्रसंघका महासचिवलाई आग्रह गरे। 

यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ। सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ। कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल यही कात्तिक २५ गते काठमाडौंबाट दोहाका लागि प्रस्थान गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.