कोशीमा ठूला चाडपर्वमा २९३ वटा अपराध

कोशीमा ठूला चाडपर्वमा २९३ वटा अपराध

विराटनगर : कोशी प्रदेशमा ठूला चाडपर्व दसैं, तिहार र छठमा २ सय ९३ वटा अपराध भएका छन्। प्रहरीको तथ्यांक अनुसार १४ जिल्ला रहेको प्रदेशमा विभिन्न अपराध भएका हुन्। 

प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी, डीएसपी ध्रुव श्रेष्ठका अनुसार चाडपर्वका बेला सबैभन्दा बढी १ सय ५१ वटा आत्महत्याका घटना भएका छन्। लागुऔषधका ५२, बलात्कार (जबरजस्ती करणी)का ३९, चोरीका २६, जुवा तासका १७, हत्याका ५, लुटपाटका २ र अभद्र व्यवहारको एउटा घटना भएको जानकारी उनले दिए। 

जुवा तासमा १ सय ५४, लागुऔषधमा ६०, बलात्कारमा ३३ र हत्यामा ७ जनाविरुद्ध मुद्दा चलेको श्रेष्ठले बताए। उनका अनुसार जुवा र तासको खालबाट ३७ लाख ८९ हजार ६ सय ३० रूपैयाँ बरामद भएको छ। चोरी र लुटपाटमा संलग्नको प्रहरीले खोजी गरिरहेको छ। चोरीमा संलग्न केही पक्राउ पनि परेका छन्। 

कोशीमा अघिल्लो वर्ष चाडपर्वको अवधिका ८ जनाको हत्या भएको थियो। गत वर्ष १ सय ७१ जनाले आत्महत्या गरेका थिए। प्रहरीको रेकर्ड अनुसार अघिल्लो वर्षको चाडपर्वमा जुवा तासका ७, जबरजस्ती करणीका १०, लागुऔषधका ९८, चोरीका १० र हातहतियारसँग सम्बन्धित २ वटा घटना भएका थिए। डीएसपी श्रेष्ठका अनुसार यसवर्ष चाडपर्वको अवधिमा विभिन्न ठाउँमा सवारी दुर्घटनामा परेर ३९ जनाको मृत्यु भएको छ। ९३ जना घाइते भएका छन्। 

सुरक्षा सक्रियताका कारण कोशी प्रदेशमा यसवर्ष चाडपर्वमा छिटपुटबाहेक ठूला अपराध र अप्रिय घटना हुन हुन नपाएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व दसैं, तिहार र छठमा फाटफुटबाहेक सामूहिक हिसाबका ठूला अपराध एवं अप्रिय घटना नभएको हो। यसवर्ष ठूला चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए। 

प्रहरीले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाउँदै असोज १७ गतेबाट लागू गरेको थियो। प्रहरीले असोज १७ देखि कात्तिक २२ गतेसम्मलाई चाडपर्वको अवधि मानेको हो। विशेष सुरक्षा योजना बनाएर लागू गर्दै सबै ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएका कारण दसैं, तिहार र छठजस्ता पर्वमा अप्रिय एवं ठूला घटना हुन नपाएको खापुङले बताए। 

प्रहरीका अनुसार विगतमा जस्तो यसवर्ष संगठित अपराध, सामूहिक बलात्कार, डकैती, आगजनीजस्ता ठूला एवं अप्रिय घटना हुन पाएन। सबैको साथ र सहयोग तथा शान्ति सुरक्षाको अवस्था मजवुत बनाएकै कारण तुलनात्मक हिसाबले यसवर्ष चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको र ठूला अपराधिक घटना हुन पाएको प्रहरीको भनाइ छ। 

प्रहरी सक्रियता बढाउँदै सुरक्षा व्यवस्था कडा पारेर चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सबै उपायको अवलम्बन गरिएको जानकारी डीआईजी खापुङले दिए। उनका अनुसार मानवीय चहलपहल, भीडभाड तथा आर्थिक गतिविधि धेरै हुने तथा चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावित स्थानलाई विशेष निगरानीमा राखिएको थियो। 

बैंक, वित्तीय संस्था एवं आर्थिक गतिविधि धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठान, सुनचाँदी पसल, सरकारी तथा गैरसरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिकस्थल र पसलहरुमा सुरक्षा सतर्कता बढाइएकाले अपराधिक घटना कम भएको उनको विश्लेषण छ। विगतका घटनालाई विश्लेषण गरी प्रहरी उपस्थित बढाएकै कारण सामूहिक अपराध रोकिएको डीआईजी खापुङ बताउँछन्। 

चाडपर्वका बेला सादा पोसाक तथा हतियारसहितका प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइएको थियो। संवेदनशील क्षेत्र तथा भित्री सडक र एकान्त स्थानमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको थियो। धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थान सुरक्षाकर्मीको विशेष निगरानीमा थिए। 

मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रणलगायतमा प्रहरीले ध्यान दिएको डीआईजी खापुङको भनाइ छ। चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण नेपाल र सशस्त्र प्रहरीको प्राथमिकतामा परेको थियो। 

‘जुवा, तासलगायत गैह्रकानुनी खेलहरु र शान्ति भड्काउन खोज्नेलाई पूर्णरूपमा नियन्त्रणमा लिने योजनाअनुरुप काम गरियो,’ खापुङले भने, ‘उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षामा कमी भएन।’ उनका अनुसार शंकास्पद व्यक्तिहरु एवं सार्वजनिकस्थलमा हुने गतिविधिको निगरानी, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रणमा प्रहरी सक्रिय थियो। 

चाडपर्वमा अपराध नियन्त्रण गर्न सीसी क्यामेरामार्फत निगरानी बढाउँदै प्राविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए। अवाञ्छित गतिविधि रोकथाम एवं नियन्त्रण गर्दै आमनागरिकमा सुरक्षित, भयरहित, हर्ष र उल्लासका साथ पर्व मनाउने वातावरण सिर्जना गर्न प्रहरीले सबै उपायको अवलम्बन गरेको उनको भनाइ छ। 

डीआईजी खापुङले चाडपर्वका बेला सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीका साथै भारतीय ‘काउण्टर पाट्र्स’सँग समेत समन्वय र सहकार्य गरिएको जानकारी दिए। भारतबाट लागूऔषध, हातहतियार एवं विष्फोटक पदार्थको ओसारपसार तथा अन्य अपराधिक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाएर काम गरिएको खापुङ बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.