सवारी साधनबाट साढे ७ लाख राजश्व संकलन
जोमसोम : मुस्ताङ सवारी साधनलाई कारबाही गर्दा ७ लाख ६१ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि कात्तिक २४ गतेसम्ममा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो।
मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले मुस्ताङमा सवारी दुर्घटना न्यूनीकरण गर्न तथा मापसे र प्रयोजन विपरीत सवारी चलाउनेलाई कारबाही प्रक्रिया अघि बढाइएको बताए।
डीएसपी बोगटीका अनुसार साउनदेखि कात्तिक २४ गतेसम्ममा ५३२ वटा सवारी साधनलाई कारबाही गर्दा ५ लाख ७५ हजार ५ सय राजश्व संकलन भएको छ।
यसैगरी चालु वर्षको ४ महिनामा प्रयोजनविपरीत सवारी चलाउने ९३ वटा सवारी साधनलाई कारबाही गर्दा १ लाख ८६ हजार राजश्व उठेको छ। मापसे गरी सवारी चलाउने १ जनालाई कारबाही गरिएको र सोवापत ५ सय रुपैयाँ राजश्व संकलन भएको डीएसपी बोगटीले बताए।