यसरी भयो पत्रकार भूलको हत्या
धनगढी : कैलालीको गौरीगंगा-११ का पत्रकार सुरेश भूलको कुटपिट गरी हत्या गरिएको छ। सुरेश राष्ट्रिय दलित पत्रकार संघ कैलालीका जिल्ला सचिव हुन् भने उनी सूचनाको हकका लागि राष्ट्रिय महासंघका कैलाली जिल्ला सदस्य पनि हुन्। उनी निगरानी डटकममा रिपोर्टिङ पनि गर्थे।
यसरी भयो हत्या
सुरेशको गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ को कार्यालय नजिकै कान्तिपुर टोलमा मेडिकल, फोटो स्टुडियो र फोटोकपीको पसल छ। कात्तिक २० गते सोही टोलकी विस्ना भूलको बाख्रो हराउँछ।
त्यो कुरा टोलभरीका अधिकांशलाई थाहा थियो। मृतकका आफन्त करन सार्कीका अनुसार बाख्रा हराएको भोलिपल्ट, एकविहानै मृतक सुरेशले वडा कार्यालयको शौचालय नजिकै एउटा बाख्रो बसिरहेको देखे।
मेडिकलमै बस्ने भएकाले सुरेश शौचालयका लागि वडा कार्यालयको शौचालय प्रयोग गर्थे। एकाविहानै उनी शौचालय जानका लागि वडा कार्यालयको शौचालयतिर गए। उनले वडा कार्यालयको गेट नजिकै बाख्रो बसिरहेको देखे। विहानै जाडोले काँपिरहेको बाख्रो समातेर उनले नजिकै रहेको आफ्नो मेडिकलको बाहिर बाँधे।
त्यो दिनभरि उनको पसलमा बाख्रा लैजाने मान्छे कोही आएन। तर, गाउँको कुरा, बाख्रो सुरेशको मेडिकलको बाहिर बाँधिएको कुरा विस्नाको घरसम्म पुग्यो। मृतकका आफन्त करनबहादुर सार्की भन्छन, ‘सुरेशका दिदी र भान्जी आएकाले उनलाई घरतिर पठाउनका लागि ब्यस्त भएकाले सुरेशले बाख्रो पाएको जानकारी फेसबुकमा पनि हाल्न पाएनन्।’
बाख्रा सुरेशले बाँधेको खबर पाएपछि विस्ना भूलका आफन्तहरूले समूहमै आएर अस्थायी प्रहरी चौकी मसुरियामा सुरेशले बाख्रो चोरेको भन्दै उजुरी हाले। प्रहरीमा उजुरी परेपछि मृतक सुरेशको श्रीमती, आफन्त र बाख्रा मालिकका आफन्तहरूबीच बाख्राबापतको ३० हजार रकम दिने र बाख्रो पनि दिने सहमति भयो।
त्यो दिन कागज बनेपनि सुरेशले रकम भने नदिएको आफन्तहरूले बताए। शनिबार बेलुकी ठूलो संख्यामा बाख्राधनी विस्नाका आफन्त र छिमेकीहरूले रकम नदिएको भन्दै सुरेशको मेडिकलमै आएर मरणासन्न हुनेगरी कुटपिट गरे।
‘४०/५० जनाको समूह आयो। ३० हजारले मात्र मान्दैनौं भने। एक लाख रकम दे भने। सुरेशले आफूले बाख्रो नचोरेको तर पाएको बताउँदै गरेका बेला एकाएक आक्रमण भयो। मैले सुरेशलाई छोपे, बचाउने प्रयास गरे। तर त्यत्रो समूहलाई कसरी छेक्नु? मैले छातीमुनि छोपिराख्दा पनि कसैले तलतिरबाट लात्ताले उनको छातीमा हाने, कसैले गुप्तांगमा,’ मृतक सुरेशका भाइका ससुरा करन सार्कीले भने।
४०/५० जनाको समूहमा आएर कुटपिट गरेपछि गम्भीर भएका सुरेशको अवस्था विग्रदै गएपछि आफन्तले आइतबार विहान उनलाई धनगढीको निसर्ग अस्पताल ल्याए। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
हत्यामा संलग्न भएको आरोपमा ८ जना पक्राउ
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीले बीहीबारसम्म घटनामा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। गौरीगंगा नगरपालिका ११ का स्थानीयसमेत रहेकी ४५ वर्षकी बाख्राधनी विस्ना भूल, ५५ वर्षका जंगबहादुर भूल, २८ वर्षका विशाल विक, ३१ वर्षका दिनेश विक, १९ वर्षका दिनेश भूल, ३८ वर्षकी रमा रावल, ३१ वर्षका धर्म विक र २७ वर्षका रमेश रावललाई पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।
मृतक सुरेशकी श्रीमती कल्पना भूलले रमेश रावल बाहेकका ८ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। किटानी जाहेरी दिएकामध्येका पवन बोगटी भने फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी मालाखेती अत्तरियाले जनाएको छ।
सुरेशको शव पोस्टमार्टम गरी बुधबार बेलुकी दाहसंस्कार गरिएको छ। पोस्टमार्टमको रिपोर्टमा पनि सुरेशको छाती, प्राइवेट पार्टमा गहिरो चोट लागेको रिपोर्ट आएको श्रीमती कल्पनाले बताइन्।
हत्यारालाई कडा कारबाहीको माग
पत्रकार सुरेश भूलको कुटपिट गरी हत्या गरिएको घटनाको विभिन्न पेशागत संघसंगठनहरूले विरोध गरेका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले सचिव हेमकर्ण विकको नेतृत्वमा छानबिन समिति नै गठन गरेको छ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, कैलाली जिल्ला समिति, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी, सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीसहितका संघसंगठनहरूले विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्नहरूलाई कारबाहीको माग गरेका हुन्।