शिक्षा व्यवस्थालाई सुधार्नेगरी ऐन ल्याउन लागेका छौं : शिक्षामन्त्री भट्टराई
काठमाडौं : शिक्षा व्यवस्थालाई सुधार्नेगरी ऐन ल्याउन लागेको शिक्षामन्त्री विद्या भट्टराईले बताएकी छन्। विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ३ वटा उपसमिति बनाएर टुंगो लगाउने तयारी गरिरहेको शिक्षामन्त्री भट्टराईले बताएकी हुन्।
मन्त्री भट्टराईले सो विद्येयकबारे छलफल गर्न बनाएको समितिले एउटा खालको तयारी गुर्नुपर्ने निचोडमा पुगेको बताइन्। बिहीबार शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा समिति सभापतिले काम सुरु गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ।
‘दशैं तिहारपछि लगातार छलफल हुने भनिएकाले अब यसको बैठक सुरु गर्ने तयारीमा छ। आजबाटै औपचारिक रूपमा ३ वटा उपसमिति बनाएर काम थाल्ने तयारी भइरहेको छ,’ शिक्षा मन्त्री भट्टराईले भनिन्,‘अब उपसमिति बनाउँदा पहिलो समितिले संशोधनकर्ताले दिएको विचारलाई उपचार गर्ने एउटा उपसमिति, दोस्रो उप समितिले सरोकारवालाहरूले दिएको सुझाव गर्ने, तेस्रो उप समितिले सबै खालको संवाद गर्ने खालको हुने र यसले काम गर्ने छ।’
यसपछि उक्त समितिले तयार गरेको र मन्त्रालयले तयार गरेकोबारे छलफल गरेर अन्तिम टुंगो लगाउने उनले बताइन्। यसैक्रममा उनले आजको शिक्षा व्यवस्थालाई सुधार्न ऐन ल्याउन जोड दिएको बताइन्।
मन्त्री भट्टराईले पछिल्लो समय विपदबाट करिब ३ सय विद्यालय प्रभावित भएको प्रारम्भिक तथ्यांक आएको बताइन्। यसको आर्थिक सहयोग कसैबाट पनि नलिएको तर मन्त्रालयकै बजेट निकासामा सहज बनाउन अर्थ मन्त्रालयसँग अनुरोध गरेको उनले बताइन्।