प्रस्तावित पुइलेक विमानस्थल नै उपयुक्त : देउवा
डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित पुइलेक विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणपछि उनले हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको बताए। अब ‘डीटेल सर्भे, डीटेल डिजाइनिङ’ गरिने देउवाको भनाइ छ। यी दुईवटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए। उनले उक्त स्थान विमानस्थलका लागि उपयुक्त रहेकोसमेत बताए।
विसं २०७६ मा विमानस्थल निर्माणका लागि उक्तस्थान छनोट गरिएको थियो। नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि वयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताएको थियो। त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो।
डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रबिन्दु भएकै कारण डडेलधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत हुने विश्वास लिएका छन्। सुदूरपश्चिमका सबै विमानस्थल भन्दा पुइलेक विमानस्थल उपयुक्त हुने जनाए। यसका लागि अन्तिम सर्भेका लागि प्रयास गर्ने जनाए।