राष्ट्रिय साफ महिला च्याम्पियनसिपका तीन खेलाडी सम्मानित
उदयपुर : राष्ट्रिय साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाएका उदयपुरका तीन खेलाडीलाई नागरिक अभिनन्दन गरिएको छ।
बिहीबार नेकपा एमाले जिल्ला कमिटी उदयपुर र त्रियुगा नगरपालिकाले अलग–अलग कार्यक्रमको आयोजना गरी जिल्लाका खेलाडी अमिसा कार्की, सविता थापामगर र हिरामाया भुजेललाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो।
खेलाडी अमिसाको त्रियुगा नगरपालिका–५, सविता रौतामाई गाउँपालिका–५ र हिरा कटारी नगरपालिका–५ स्थायी घर हो। उनीहरुमध्ये हिरा खेलका क्रममा घाइते भई अस्पतालमा उपचाररत रहेकाले उनको सम्मान भाउजुले ग्रहण गरेकी थिइन्।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनले देशको पहिचान झल्काउन मद्दत पुर्याएकाले थप प्रोत्साहनका लागि गृह जिल्लामा अभिनन्दन गरिएको एमाले अध्यक्ष भागवत राउतले बताए।
एमालेले टोयटा गाडीमा खेलाडीलाई राखेर बजार परिक्रमा पछि टाउनहलमा राई जातिको साकेला नाच र मगर जातिको हुर्रा नृत्य प्रदर्शन गरी नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेको थियो। उनीहरूलाई एमाले पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, उदयपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, जिल्ला अध्यक्ष भागवत राउतले संयुक्त रूपमा झण्डा ओढाएर सम्मान गरेका थिए।
त्यसैगरी त्रियुगा नगरपालिकाले नगर क्षेत्रका खेलाडी अमिसालाई पञ्चेबाजासहित सदरमुकाम गाईघाट बजार परिक्रमा गरेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फुटबलमार्फत नगरपालिकालाई देश विदेशसम्म चिनाउन सफल भएको भन्दै नगरपालिकाले नगद ५० हजारसहित उनलाई सम्मान गरेको हो।
उनलाई मेयर वसन्तकुमार बस्नेत र उपमेयर महेश्वरी राईले नगरपालिकाको सभाहलमा नगदसहित राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए। कार्की उदयपुर जिल्ला फुटबल संघको सदस्य हुँदै राष्ट्रिय टिममा पर्न सफल भएकी हुन्।
सम्मानित अमिसाले आफूहरूलाई गृह जिल्लाले सम्झिएर सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै थप उत्साहित भएको प्रतिक्रिया दिइन्। उनले आगामी दिनमा अझ उत्कृष्टताका साथ खेलेर जिल्लाको नाम उचो राख्ने प्रतिबद्धता व्यक्त गरिन्।
जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्कीले जिल्लामा सात जना महिला खेलाडी रहेको र उनीहरू सबै राष्ट्रिय स्तरका खेलाडी भएको बताए। उनले राज्यले प्रतियोगिताका बेला मात्र खेलाडी सम्झने बाँकी समयमा उनीहरूको वृत्तिविकासमा ध्यान नदिने गरेको गुनासो गरे।