विद्यालय पुनर्निर्माणले गति पाओस्
हरेक वर्ष बाढी र पहिरोले विद्यालय र स्थानीय पूर्वाधारलाई गम्भीर असर पु¥याउँछ। यसको प्रत्यक्ष मारमा कलिला बालबालिका र विद्यार्थीसमेत पर्ने गरेका छन्। असोज महिनामा काभ्रेको पनौतीस्थित फुलचोकी आधारभूत विद्यालयसहित केही विद्यालय पहिरो र बाढीका कारणले क्षतिग्रस्त हुँदा शैक्षिक वातावरण पुरानो लयमा फर्कन सकेको छैन। विद्यालय भवन भत्किएको छ। विद्यालय जाने बाटो क्षतिग्रस्त छ। कतिपय विद्यार्थीले अभिभावक गुमाए। घर भत्कँदा पाठ्यपुस्तक, पोसाक आदि बाढीपहिरोसँगै बगेका छन्। अझै कतिपय विद्यार्थी विद्यालय जान नसक्ने स्थिति र मनस्थितिमा छन्। अभिभावक र विद्यार्थीको यो मनोविज्ञानलाई सरकारले कहिले सम्बोधन गर्ने हो ? अन्योल कायमै छ।
प्राकृतिक विपद् कहरका रूपमा आइरहन्छ, जसले मानवीय जीवनको हरेक पक्षमा अवरोध ल्याइदिन्छ। यसबाट उठेर नयाँ निर्माण र योजनामा लाग्नु अनिवार्य आवश्यकता हो। तर, विद्यालय भवनको पुनर्निर्माण नभएर अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाउने कुरा भइरहेको छ। यसले पठनपाठनलाई कहिलेसम्म असर गर्छ भन्ने स्पष्टता छैन। बाढी र पहिरोको रात्रिकालीन दृश्यले बालबालिकामा गहिरो मनोवैज्ञानिक असर पारेको छ। सरकार र सरोकारवालाले समयमै यसतर्फ ध्यान दिन नसके विद्यार्थी र शिक्षकको मनस्थिति झन्झन् बिग्रँदै जाने देखिन्छ। यो कठिन परिस्थितिमा सरकारले गर्ने भएको अस्थायी सिकाइ केन्द्रले कस्तो वातावरण सिर्जना गर्ला ? त्यसमाथि दीर्घकालीन समाधानको चर्चासम्म गरेको देखिँदैन। जसले विशेषतः सिकाइको वातावरण र विद्यालयको अभाव पूर्ण रूपमा पूरा गर्न सक्छ भन्ने देखिँदैन।
शिक्षाविद्हरूका भनाइलाई आधार मान्ने हो भने विद्यालयको पुनर्निर्माण र मनोपरामर्श कार्यक्रमलाई एकसाथ अघि बढाउन जरुरी छ। शिक्षा मन्त्रालय र प्रदेश सरकारले आपत्कालीन राहतका लागि २ करोड ५ लाख रुपैयाँ बजेट दिएको दाबी छ। तर पनि यसको कार्यान्वयन कस्तो हुनेछ ? अझै स्पष्ट छैन। स्थानीय तहलाई निर्माणको जिम्मेवारी दिइए पनि निर्माणको प्रभावकारिता देखिएको छैन। विद्यार्थीको भविष्यमा कस्तो असर पर्ने हो भन्ने चिन्ताले अभिभावकहरूमा समेत निराशा थपेको छ। त्यसैले विद्यालय पुनर्निर्माणको प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन केन्द्र, प्रदेश र स्थानीय सरकारबीच राम्रो समन्वय हुनुपर्ने देखिन्छ। साथै, विपद्मा परेका बालबालिकाको मानसिक स्वास्थ्यलाई समेत ध्यानमा राखेर परामर्श कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। यसो भएमा मात्रै विद्यार्थीले पुरानो घटनाबाट माथि उठेर आफ्नो शैक्षिक यात्रा सहज बनाउन सक्नेछन्।