पश्चिम नेपालको लाइफलाइन : ठेकेदारद्वारा काम ठप्प, स्थानीय दिक्क
बुटवल : पश्चिम नेपालको लाइफलाइन हो, नारायणगढ–बुटवल सडक। दुई लेनको यो सडक विस्तार गर्ने ठेक्का लियो, चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन कम्पनीले। ०७९ साउन २२ सम्म विस्तार कार्य सक्न ठेकेदार चिनियाँ कम्पनीलाई समय तोकिएको थियो। तर, सम्झौताअनुसार ठेकेदार कम्पनीले काम सकेन। पटक–पटक म्याद थपियो। तीन वर्षमा सक्ने भनिएको काम ६ वर्ष पुग्दा पनि ५३ प्रतिशत मात्रै पूरा भयो। ४७ प्रतिशत काम सक्न अझै कति वर्ष कुर्नुपर्ने हो ? एकिन छैन। उल्टै, असारदेखि ठेकेदार चिनियाँ कम्पनीले काम ठप्प पारेको छ। सडकको दुरावस्था देखेर त्यस क्षेत्रका जनप्रतिनिधिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। ठेकेदारको लापरबाहीप्रति प्रधानमन्त्री ओली पनि असन्तुष्ट छन्। ठेकेदार कम्पनीले चार महिनादेखि निर्माण कार्य ठप्पै पारेपछि बुटवल नारायणगढ सडक खण्डमा पर्ने तीन जिल्लाका जनप्रतिनिधि ताते। बिहीबार प्रधानमन्त्री ओलीको सामूहिक ध्यानाकर्षण गराए। उनीहरूले ठेकेदारलाई छिटोभन्दा छिटो काम सुचारु गराउनेतर्फ पहल गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरे। प्रधानमन्त्री ओलीले मंसिर महिनाभित्र निर्माण कम्पनीले काम नथाले ठेक्का तोड्नेसम्मको चेतावनी दिए।
प्रधानमन्त्रीको आश्वासनपछि संघीय राजधानी पुगेका तीन जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र पालिका प्रमुख, उप्रमुखहरू अब यो योजनाले गति लिनेमा विश्वस्त छन्। तर, नागरिक भने पछिल्लोपटक थपिएको म्यादभित्र योजना पूरा हुनेमा ढुक्क छैनन्। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण ६ वर्षदेखि पश्चिम नेपालका नागरिक प्रताडित छन्।
‘मंसिरभित्र काम नथाले ठेक्का तोड्नुको विकल्प छैन’
शशांक मिश्र,आयोजना प्रमुख, नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड)
ठेकेदारले काम गर्छाैं –गर्छौं मात्र भन्ने तर कामै नथाल्ने गर्दा समस्या निम्तिरहेको छ। जुन वर्षमा नीतिगत र कानुनी झन्झट थिए त्यो वर्षमा काम भयो। तर, अहिले कुनै झन्झट नहुँदा कामै भएको छैन। नागरिकले दिनहुँ सोधिरहेका प्रश्नहरूको हामी नाजवाफ हुनुपरेको छ। प्रधानमन्त्रीसँग भएको छलफलपछि निर्माणले गति लिनेमा हामी विश्वस्त छौं। दसैंपछि काम गर्छौं भने गरेनन्। तिहारपछि गर्छौं भने त्यसपछि पनि गरेनन्। कम्पनीका कामदार र क्याम्पहरू छन्। सबै जना सम्पर्कमै छन्, काम भएकै छैन। निर्माण कम्पनीले खास काम थाल्न नसक्नुको कारण आर्थिक संकट नै रहेको बुझेका छौं।
प्रधानमन्त्री ओलीले मंसिर महिनाभित्र ठेकेदारले काम नथाले ठेक्का तोड्नुको विकल्प नभएको बताएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने बुटवल–नारायणगढ सडक नबन्दा यस क्षेत्रका नागरिकले धेरै समस्या भोगेको बताउँदै ओलीले अब छिट्टै टुंगोमा पुग्ने आश्वासन दिए।
ठेकेदार कम्पनीहरूले काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने ओलीले सुनाए। ‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्ने सोचेका थियौं, बुटवल–नारायणगढ सडक खण्डमा त्यसो हुन सकेन। त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्ण रूपमा धुलोमैलोमा बस्नु परेको छ। आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गर्नुपर्ने देखिन्छ। यसमा मेरो पनि गम्भीर ध्यान गएको छ, हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौं।’
तीनवटै जिल्लाका जनप्रतिनिधिहरू सहभागी छलफलमा प्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मा, तीनवटै जिल्लाबाट निर्वाचित संघीय एवं प्रदेश सांसदहरू, विभागीय प्रमुख, आयोजना प्रमुख लगायतको उपस्थिति थियो। जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का प्रमुख भगौती यादव रुदलको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो।
ठेकेदारले काम गर्नेमा विश्वस्त छैनन् जनप्रतिनिधि
प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का प्रमुख भगौती यादव रुदलले सडक बनाउने जिम्मा पाएको ठेकेदारले काम गर्नेमा कत्ति पनि विश्वास नलागेको प्रतिक्रिया दिए। सडक नबन्नुमा मुख्य दोषी ठेकेदार नै रहेको उनको निष्कर्ष छ। ‘पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठेकेदारले काम गरेन्’, उनले भने, ‘अब त अति भयो। नागरिकहरू वाक्कदिक्क भइसके। उद्योगी, व्यवसायीहरू धराशायी बने। नागरिकहरूलाई रोगी बनायो। प्रधानमन्त्रीको आश्वासनले अलिकति भए पनि आशा पलाएको छ। प्रधानमन्त्रीसहित विषयगत मन्त्रीहरूसँगको छलफलले ठोस निर्णय हुनेमा आशावादी छौं।’ ०८२ जेठ मसान्तपछि पछिल्लोपटक थपिएको म्याद सकिने बताउँदै उनले हालको प्रगति विवरण हेर्दा अबको समयमा काम हुनेमा विश्वास नलागेको बताए।
भगौती यादव रुदल, प्रमुख, जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
सडक बनाउने जिम्मा पाएको ठेकेदारले काम गर्नेमा कत्ति पनि विश्वास लागेको छैन। सडक नबन्नुमा मुख्य दोषी ठेकेदार नै रहेको हाम्रो निष्कर्ष छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठेकेदारले काम गरेनन्। अब त अति भइसक्यो। सडक अस्तव्यस्त छ। नागरिकले पाउनु दुःख पाएका छन्। उद्योगी, व्यवसायीहरू धराशायी बने। नागरिकलाई सडकको धुलो र हिलोले रोगी बनायो। प्रधानमन्त्रीको आश्वासनले अलिकति भए पनि आशा पलाएको छ। छलफलले ठोस निर्णय हुनेमा आशावादी छौं।
ग्रीन, क्लिन र उज्यालो सुनवलले गति लिएन
सुनवल नगरपालिका नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का नगरप्रमुख विमला अर्यालले बुटवल नारायणगढ सडककै कारण नगरपालिकाले लिएका धेरै योजनाहरू समयमै पूरा गर्न नसकिएको गुनासो गरिन्। ‘नगरपालिकाले ग्रीन सुनवल, क्लिन सुनवल कार्यक्रम अघि बढाएको थियो’, उनले भनिन्, ‘तर यही सडककै कारण पूरा गर्न सकिएको छैन। उज्यालो सुनवल कार्यक्रम पनि यसैका कारण गति लिएन।’ नगरपालिकासँग काम गर्ने सामथ्र्य र स्रोत हुँदाहुँदै पनि राजमार्ग क्षेत्रमा परेको र सडककै कारण अघि नबढ्दा समग्र नगरपालिकाले लिएको दीर्घकालीन लक्ष्य पूरा गर्न नसकिनेमा चिन्ता लागिरहेको उनले सुनाइन्। ‘चार महिनादेखि सडक निर्माणको कामै ठप्प भएपछि सबै जनप्रतिनिधि मिलेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं’, उनले भनिन्, ‘अब, पनि कामले गति लिएन भने सरकारले ठोस निर्णय लिनुपर्छ। ठेक्का तोडेर नयाँ ठेक्काबाट काम गर्नुपर्छ। जसरी पनि बाटो बन्नुपर्छ।’
६ वर्षमा प्रगति ५३ प्रतिशत मात्रै
बुटवलदेखि नारायणगढसम्मको दूरी १ सय १३ दशमलव ५ किलोमिटर मात्र छ। गैंडाकोटदेखि दुम्कीबाससम्मको ६५ किलोमिटरलाई पूर्वीखण्ड र बुटवलदेखि दाउन्नेसम्मको दूरीलाई पश्चिम खण्डको रूपमा विभाजन गरेर सडक निर्माण थालिएको हो। हालसम्म दुवै खण्डमा गरी करिब ५३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। यी दुवै खण्डको निर्माणका लागि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी–चाइना)सँग सम्झौता भएको छ। सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सडक विभागले आयोजना सञ्चालन गरेको हो। ०८२ साउन ६ गतेसम्म सक्ने गरी तेस्रोपटक म्याद थपिएको छ। ६ ावर्षमा ५३ प्रतिशतमात्र काम गरेको कम्पनीले अबको बाँकी समयमा ४७ प्रतिशत काम पूरा गर्नेमा नागरिक कति पनि विश्वस्त छैनन्।
दुवै खण्डको बजेट करिब १७ अर्ब
पूर्व–पश्चिम दुवै खण्डको सडक निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित करिब १७ अर्ब रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ। पश्चिम खण्डको साढे ४८ किलोमिटर ७ अर्ब ८६ करोड र पूर्वी खण्डको ६५ किलोमिटर ९ अर्ब १३ करोड रुपैयाँ बजेटमा निर्माण गर्ने सम्झौता छ।
पश्चिम खण्डमा ५२ दशमलव ६५ र पूर्वी खण्डमा ५३ प्रतिशत मात्र सडक निर्माण गरिएको छ। पश्चिम खण्डअन्तर्गत १८ किलोमिटर चार लेन र ३० दशमलव १ किलोमिटर दुई लेनको सडक कालोपत्रे गरिएको छ। वन क्षेत्रमा फोरलेन र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिएको छ। साना पुल २१ वटा मध्येमा १८ वटा र ठूला ९ वटा मध्येमा ६ वटा निर्माण पूरा भएको पश्चिम खण्ड आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शरद श्रेष्ठले जानकारी दिए। दुई पटकसम्म थपिएको म्यादमा पनि काम पूरा नभएपछि तेस्रो पटकलाई म्याद थपिएको हो।
विमला अर्याल, नगरप्रमुख, सुनवल नगरपालिका नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
यही सडककै कारण नगरपालिकाले लिएका धेरै योजनाहरू समयमै पूरा गर्न सकिएको छैन। ग्रीन, क्लिन र उज्यालो सुनवल घोषणाको कामले गति लिएका छैनन्। नगरपालिकासँग काम गर्ने सामथ्र्य र स्रोत हुँदाहुँदै पनि सडकको कारण पछाडि पर्नुपरेको छ। समग्र नगरपालिकाले लिएको दीर्घकालीन लक्ष्य पूरा गर्न पनि बुटवल नारायणगढ सडकले गर्दा अवरोध पुगेको छ। चार महिनादेखि सडक निर्माणको कामै ठप्प छ। प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं। अब पनि कामले गति लिएन भने सरकारले ठोस निर्णय लिनैपर्छ।
पूर्वीखण्डमा वित्तीय प्रगति ४६ प्रतिशत मात्र पूरा भएको आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर आशिष थापा मगरले जानकारी दिएका छन्। दाउन्ने क्षेत्रको साढे चार किलोमिटर पनि यसै खण्डअन्तर्गत पर्छ। १५ किलोमिटर फोरलेन र १५ किलोमिटर दुई लेनको सडक कालोपत्रे गरिएको छ। कोभिडकै कारण निर्माणले गति नलिएको आयोजना प्रमुख थापामगरले बताएका छन्। ‘चाइनाबाट कोरोना सुरु भयो। चाइनाकै निर्माण कम्पनी भएकाले पनि कोरोनाको प्रोटोकलमा धेरै कडाइ भयो। त्यसको असर तत्कालै नदेखिए पनि क्रमिक रूपमा वर्षौंसम्म रहेको हो’, उनले भने, ‘अन्तर सरकारी निकायहरूबीचमा पनि प्रभावकारी समन्वय हुन नसक्दा जंगल क्षेत्रमा रूख कटानी, खानेपानी, विद्युत् लगायतको व्यवस्थापन गर्न ढिलाइ भयो र निर्माणले अपेक्षाकृत गति लिएन।’ तेस्रो पटकमा थपिएको म्यादमा कुनै पनि कानुनी झन्झट र निर्माण कम्पनीले लक्ष्यअनुसारको काम गरेमा मात्र योजना पूरा हुने उनको विश्वास छ। निर्माण कम्पनीले प्रतिघण्टा चार सय टन क्षमताको प्लान्ट जडान गरेपछि स्थानीय आयोजना पूरा हुनेमा थप आशावादी थिए। पहिले प्रतिघण्टा १ सय ६० टन क्षमताको मात्र प्लान्ट थियो। नयाँ जडानपछि २ सय ४० टन क्षमता थपिएको भएको थियो।
गर्छौं–गर्छौं भन्छन्, कामै गर्दैनन्
नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) का आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर शशांक मिश्रले ठेकेदारले काम गर्छौं–गर्छौंैै मात्र भन्ने तर कामै नथाल्ने गर्दा समस्या निम्तिरहेको प्रतिक्रिया दिए। ‘विगतका वर्षमा केही नीतिगत र कानुनी झन्झट थिए। त्यो बेला काम भइरहेको थियो। अहिलेसम्म जति पनि कामको प्रगति भएको छ त्यो विगतका वर्षमा भएको हो’, उनले भने, ‘अहिले काम गर्न कुनै बाधा अड्चन छैनन् तर ठेकेदारले कामै गरेनन्।’
नागरिकले दिनहुँ सोधिरहेका प्रश्नको आयोजना कार्यालय नाजवाफ हुनुपरेको उनले प्रतिक्रिया दिए। प्रधानमन्त्रीसँग भएको छलफलपछि निर्माणले गति लिनेमा विश्वस्त भइरहेको उनले सुनाए। ‘चार महिनादेखि कामै नहुँदा नागरिक तहमा धेरै असन्तुष्टि भइरहेको छ’, उनले भने, ‘दसैंपछि काम गर्छौं भने गरेनन्। तिहारपछि गर्छौं भने त्यसपछि पनि गरेनन्। कम्पनीका कामदार र क्याम्पहरू छन्। सबै जना सम्पर्कमै छन्, मात्र काम गरेनन्।’
डिसेम्बरसम्म कम्पनीको लेखापरीक्षण चल्ने र त्यसपछि काम थाल्ने पछिल्लो आश्वासन पाएको मिश्रले जानकारी दिए। ठेकेदार कम्पनीले खास काम थाल्न नसक्नुको कारण आर्थिक संकट नै रहेको बुझिएको उनले सुनाए। करिब ८ वर्षअघिदेखि स्टिमेट गरिएको दररेटमै कम्पनीले काम गरिरहेको छ। ठेक्का सम्झौता भएको बेला र अहिलेको महँगीअनुसार कम्पनीले काम गर्न नसकेको जवाफ आफूहरूले पाएको उनी सुनाउँछन्।
काम किन नगरेको ? भनेर प्रश्न गर्दा पैसा छैन भन्ने जवाफ आउने गरेको उनले बताए। निर्माण कम्पनीले प्रतिस्पर्धाको रूपमा ठेक्का हाल्दा २४ प्रतिशत कममा पारेको थियो। चाइनमा भइरहेको उक्त कम्पनीको लेखापरीक्षणपछि ऋण लिएर भए पनि काम थाल्ने आश्वासन आफूहरूले पाएको उनले बताए।
यस विषयमा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी–चाइना)का नेपाली प्रतिनिधि डेपुटी कन्ट्याक म्यानेजर योगेश श्रेष्ठलाई किन काम ठप्प पार्नुभएको ? भनेर जिज्ञासा गर्दा प्रतिक्रिया दिन मानेनन्। ‘हामीले मिडियामा प्रतिक्रिया दिन मिल्दैन्’, श्रेष्ठले भने, ‘प्रधानमन्त्री, मन्त्री र आयोजना प्रमुखहरूले दिनुभएको प्रतिक्रियालाई नै आधिकारिक मान्नुहोला।’ आयोजना प्रमुख मि श्रले यो आयोजनाले गति नलिए पनि चाइनाका निर्माण कम्पनीहरूले गरेको कामको भने गुणस्तर पाइएको अनुभव सुनाए।
खेलराज पाण्डेय, नगरप्रमुख, बुटवल उपमहानगरपालिका
व्यावसायिक रुपमा गर्विलो छवि बनाएको सहर हो, बुटवल। तर, यही सहर पछिल्लो समय बुटवल नारायणगढ सडककै कारण चपेटामा परेको छ। स्थापित सयौं व्यवसायीहरू विस्थापित हुनुपरेको छ। देशकै अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगट्ने सहर पनि हो बुटवल। सडककै कारण नयाँ लगानाीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। यस क्षेत्रका जनप्रतिनिधीहरूको संयुक्त टोलीले प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराएका छौं। अब, ठोस निकास आउने प्रधानमन्त्रीबाट आश्वासन पाएका छौँ। बुटवल नारायणगढ सडकलाई छिटोभन्दा छिटो पूरा गर्नका लागि सरोकारवाला र आम नागरिकहरूको चौतर्फी दवाव आवश्यक छ। संघीय सरकारले बनाउने बाटोकै कारण स्थानीय सरकारले पटक पटक नागरिकहरूबाट आलोचना पनि खेप्नुपर्ने बाध्यता छ।
सडककै कारण व्यवसायी विस्थापित
लुम्बिनी प्रदेशकै प्रमुख व्यावसायिक थलो हो, बुटवल। उहिलेको बटौलीबाट बाउ, बाजेले नुन बोक्ने ठाउँको परिचय बनाएको अहिलेको बुटवल व्यावसायिक र औद्योगिक क्षेत्रका रूपमा महत्वपूर्ण सहर बनिसकेको छ। तर, यहाँ उद्योग व्यवसाय सञ्चालन गरेर स्थापित सयौं व्यवसायीहरू दिनप्रतिदिन धरासायी बन्दै गएका छन्। अरू कुनै कारणले होइन्, सडककै कारण। बुटवल नारायणगढ सडक प्रमुख कारणको रुपमा रहेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। ‘व्यवसायी दिनहुँ पलायन हुने क्रम रोकिएको छैन्’,पाण्डेयले भने, ‘करोडौं पर्ने गाडीहरू सडककै कारण थन्किएका छन्। हरेक क्षेत्र अस्तव्यस्त बनिसक्यो। तर, सडक बनाउनेतर्फ ठेकेदारले चासो नै देखाएनन्।’
पटक–पटकको दबाबपछि राजमार्ग चौराह गोलपार्क सडक निर्माण अघि बढेपनि बुटवल नारायणगढ सडक समयमै नबन्दा देशकै अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने बुटवल क्षेत्र चपेटामा परेको उनको भनाइ छ। संघीय सरकारले बनाउने बाटोकै कारण उपमहानगरपालिकाले पटक पटक आलोचना समेत खेप्नुपरेको उनी सुनाउँछन्।
बनेन सडक, चौतर्फी असर
– साढे तीन वर्षमा सक्नुपर्ने
– ६ वर्षमा पनि सकिएन
– बल्ल आधा काम
– तेस्रोपटक थपियो म्याद
– निर्माणको थालनीमै कोभिड
– निर्माण कम्पनी चाइनाको
– कोभिडको उत्पति चाइनाबाटै
– त्यसको असर वर्षौंसम्म परेको गुनासो
– अन्तरसरकारी निकायबीच भएन समन्वय
– रूख कटानमै ढिलाइ
– कोभिड सकियो, बहाना पनि सकियो
– अहिले पहिलेकै असर भन्दै आनाकानी
– बर्खाभरि निर्माण ठप्प
– सडक नबन्दा अर्बौं गुमाए यातायात व्यवसायीले
– पश्चिम नेपालको उद्योग, व्यवसाय तहसनहस
– नागरिक रोगको सिकार
– दुई घण्टाको दूरीमा ६ घण्टाको यात्रा
– सडक देखेर लगानी गरेकाहरू निरुत्साहित
– नयाँ लगानीकर्ताको छैन चासो
– व्यवसायी किन्छन् करोडका गाडी
– पहिलो किस्ता तिर्न नपाउँदै लाखौंको मर्मत खर्च