असिनापानीले सखाप पार्‍यो धानबाली

असिनापानीले सखाप पार्‍यो धानबाली
सुन्नुहोस्

दैलेख : नारायण नगरपालिका–४ की मनसरा कठायत अहिले वर्षभरिको गुजारा कसरी गर्ने भनेर चिन्तामा छिन्। पाक्नै लागेको धानबाली कात्तिक तेस्रो साताको असिनापानीले सखाप बनायो। वर्षभरिको गर्जो टार्नकै लागि कठायतले खेतमा यस वर्ष गुडे धान रोपेकी थिइन्। 

गुडे धान दैलेखको चर्चित तथा रैथानी धानमा पर्छ। अघिल्ला वर्षहरूमा उनले अन्य जातका धान रोप्ने गरेकी थिइन्। नगरपालिकाको प्रोत्साहनमा उनले यस वर्ष गुडे धान रोपेकी हुन्। ‘स्थानीय रैथाने जातको धान रोपेका थियौँ, उत्पादन राम्रै होला भन्ने सोचेका थियौँ, तर पाक्नै लागेका बेला असिनापानीले सखाप बनायो, अब वर्षभरिलाई खाद्यान्नको जोहो कसरी गर्ने ? के खाने ? भन्ने चिन्ताले पिरोलेको छ,’ उनले भनिन्। 

कठायत जस्तै नारायण नगरपालिका–१० का नरबहादुर सार्कीलाई पनि उही पिरलो छ। पाक्नै लागेको धानबालीमा असिनापानीले क्षति पुर्‍याएपछि नरबहादुरको परिवार बेचैन छ। उनले झन्डै एक हेक्टर जमिनमा धान खेती गरेका थिए। उनले पनि स्थानीय रैथाने गुडे जातको धान रोपेका थिए। ‘गुडे धान हाम्रा गाउँठाउँका लागि धेरै पुरानो हो। यसको स्वाद पनि मिठो हुन्छ, विकसित जातको धानहरू लगाउन छोडेर यस वर्ष गुडे धान रोपेका थियौं, असिनापानीले खसाप बनाइदियो, खेतमा परालबाहेक केही छैन,’ उनले भने। यी दुई प्रतिनिधिमूलक किसान हुन्। उनीहरू जस्तै नारायण नगरपालिकाका १ सय ८१ किसानले लगाएको धानबाली पूर्ण रूपमा नष्ट भएको छ। नारायण नगरको वडा नम्बर ४, ५ र १० का ती किसानले ४४ हेक्टरमा लगाएको धानबाली पूर्ण रूपमा नष्ट भएको नगरप्रमुख लोमन शर्माले बताए। मेयर शर्माका अनुसार कुल ८२ लाख २१ हजार रुपैयाँबराबरको धानबाली असिनापानीले क्षति गरेको हो। धानबालीसहित किसानले लगाएको तरकारी र सुन्तलामा पनि क्षति गरेको मेयर शर्मा बताउँछन्।

क्षतिपूर्तिका लागि मुख्यमन्त्रीलाई अनुरोध

किसानले लगाएको धानबाली पूर्ण रूपमा नष्ट भएपछि नारायण नगरपालिकाले क्षतिपूर्तिका लागि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसमक्ष अनुरोधपत्र बुझाएको छ। नगरपालिकाले कात्तिक १९ गते परेको असिनाका कारण किसानको खेतबारीमा ठूलो क्षति पुर्‍याएकाले संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारमार्फत आवश्यक राहत उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग माग गरेको हो। ‘असिनाका कारण ८२ लाख २१ हजार रुपैयाँबराबरको धान, तरकारी र सुन्तला बालीको क्षति हुन गई उक्त क्षेत्रमा ठूलो भोकमरीको अवस्था सिर्जना हुने भएकाले प्रदेश सरकारमार्फत संघीय सरकारसँगको समन्वयमा आवश्यक राहत उपलब्ध गराइदिनुहुन र कृषि तथा प्रकोप व्यवस्थापन क्षेत्रमा काम गर्ने दातृ निकायहरूलाई उक्त क्षेत्रमा राहतका कार्यक्रम सञ्चालनका लागि आवश्यक निर्देशन गरिदिन अनुरोधपत्रमा उल्लेख गरिएको छ। असिनापानीको क्षति पुर्‍याएको क्षेत्रका किसानको खेतमा पुगेर प्रदेश सरकारका मन्त्रीहरूले अनुगमनसमेत गरेका छन्। कर्णाली सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले किसानको खेतमा पुगेर अनुगमन गरेका हुन्।

मन्त्रालय धाउँदै जनप्रतिनिधि

किसानले रोपेको धानबाली नष्ट भएपछि राहत उपलब्ध गराउन नगरपालिकाका जनप्रतिनिधिहरूले प्रदेश र संघीय सरकारसँग गुहार मागेका छन् । नगरपालिकाले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई किसानलाई राहत उपलब्ध गराइदिन अनुरोध गरेका छन् । नगरका मेयर लोमनले संघीय सरकारबाट किसानलाई राहत दिलाउन पहल गरिरहेका छन्। ‘किसानलाई ठूलो मर्का परेको छ, किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छौं, क्षतिको विवरण सबै संकलन गरी फाइल बोकेर काठमाडौं आएको छु,’ नगरप्रमुख शर्माले भने । किसानहरूले पछिल्लो समयमा विकसित जातको धानबाली लगाउने गरेका थिए । यस वर्ष नगरपालिकाले स्थानीय रैथाने जातका धान बालीको खेती लगाउन प्रोत्साहन गरेर किसानले गुडे जातको धान रोपेको नगरप्रमुख शर्मा बताउँछन् । ‘नगरपालिकाले प्रोत्साहन गरेर किसानले रैथाने गुडे धान रोपे, अन्य जातको धान रोप्ने किसानले धानबाली भिœयाइसके, गुडे धान अली ढिलो पाक्छ,’ नगरप्रमुख शर्माले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.