भ्रममा बाँचेका खुसीहरू !
मानिस जीवनमा खुसी र आनन्द चाहन्छ। जो सुख, दुःख, खुसी र आनन्दभित्र नै जीवन खोजिरहन्छन्। तर पृथ्वीको गोलाद्र्धमा समय, मौसम आदिको समानता छैन। एक ठाउँमा जाडो हुँदा अर्को गोलाद्र्धमा गर्मी र एक गोलाद्र्धमा रात हुँदा अर्र्कोमा दिन भएको पाइन्छ। यद्यपि, जाडोपछि गर्मी र रातपछिको दिन भने निश्चित छ। मानिसको जीवन पनि सुख–दुःख, आँसु–हाँसोजस्ता परिपूरकीय यात्रामा समेटिएको छ। एकअर्कामा समाहित हुँदै दुःखभित्र सुख बगिरहेछ त आँसुभित्र हाँसो मुस्कुराइरहेछ।
समयको परिवर्तनसँगै आजको मानव आफू र आफ्नाभित्र बढी केन्द्रित हुँदै गएको छ। सुख, सुविधा र सम्पन्नता नै जीवनको उद्देश्य र गन्तव्य हो भन्ठानी रहेछन्। इच्छा र आकांक्षाभित्र व्यवहारमा आएको स्वार्थी चिन्तन स्पष्ट देखिन्छ। सुख प्राप्ति नै आनन्द हो भन्ने भ्रममा मानिस सुख खोजिरहेछ। जहाँ विचारमै भ्रम उत्पन्न हुन्छ, त्यहाँ स्वतः अहंकार र अभिमानले जन्म लिने गर्छ। सुख–दुःख मानव विचारका क्षणिक भावना हुन्। यस्तो गर्दा सुख र यसो गर्दा दुःख भन्ने मानवीय भ्रममात्र हुन्। वास्तवमा जीवन एउटा गतिशील शक्ति हो। सुख–दुःख, आँसु–हाँसो सबै जीवनरूपी यात्रामा आउने घामछायाँजस्तै हुन्। घामबिना छायाँले र दुःखबिना सुखले अर्थ राख्दैन। घामछायाँ र सुख–दुःखबाट टाढा रहेर जीवन बाँच्न सकिँदैन। सुखदुःखहरू जीवनका नित्यकर्महरू हुन्। जीवन न सधैं सुखैसुखले पोतिन्छ न दुःखैदुःखले ओसिन्छ।
दुःख–सुख भनेका मानव चिन्तनले ल्याएका परिदृश्यहरू मात्र हुन्। दुःखको कारक मानिस आफैं हो। सुखको भण्डार आफैंभित्र राखेर बाहिर सुख खोजिरहन्छ, भौतारिरहन्छ। भ्रमभित्र पालिएका चाहनाले मानिसलाई बढी पीडा दिइरहेको हुन्छ। कसलाई दुःख, कसलाई सुख अर्थात् कतिलाई दुःख मान्ने र कतिलाई सुख ? आफैंमा भ्रम छ। मानिस आफूलाई भएको दुःख होइन, अरूले भोग गरेको सुखको अगाडि आफूलाई दुःखी बनाउँछ। जब अरूसँग दाँजिन्छ अनि दुःखको अनुभूतिमा गाँजिन्छ। आफूसँग जे छ, त्यसैमा रमाएर खुसी खोज्न सक्नुपर्छ। मागेका खुसीले जीवन सुखी बन्दैन।
भविष्यको अनिश्चित घटनाहरूबाट आशा राख्ने र डराउने मानिस भ्रममा जिइरहेको हुन्छ। आफूसँग भएको ज्ञानलाई व्यवस्थित गर्न नसक्दा पनि मानिस भ्रमको सिकार बनिरहेका हुन्छन्। जुन चिज तथा वस्तुमा सुख देखिरहेको हुन्छ, ती भ्रमबाहेक केही होइन। अन्ततः भ्रमको दलदलमा फस्न पुग्छ। आचरण र व्यवहारले सन्तुष्टिलाई नियन्त्रणमा राख्नुपर्छ। मानिसले वर्तमानलाई अध्ययन गरेर सुखका रेखा कोर्न सक्छ। मानसिक विचलनले अराजकता ल्याउँछ। अराजकताले जीवनका लक्ष्यहरूलाई अनिश्चित बनाउँछ। जीवनका अनिश्चितताहरूले मानिसलाई भ्रम सिर्जना गरिदिन्छ।
देखेका र भोगेका वस्तु र महसुसहरू मात्र सधैं सत्य हुँदैनन्। प्रमाणको अभावमा सत्य पनि कहिले असत्य बनिदिन्छ। सत्यलाई प्रमाण चाहिन्छ तर असत्यलाई हल्ला नै पर्याप्त हुन्छ। प्रमाण नचाहिने यस्ता असत्यहरू जताततै फैलिरहेका हुन्छन्। हल्लाहल्लैमा मानिस जीवन र मृत्युसँग नजिक हुन्छन्। मानिसले जीवन खोजुन् या मृत्यु रोजुन्, दुवै भ्रम हुन्। सत्यलाई भ्रमले चिर्न सक्दैन। सत्य आफ्नै गति र बेगमा बगिरहेको हुन्छ। मानिसले न चाहेर जीवन पाउँछ न मृत्यु नै। मानिसले अनुभूति गर्ने सुखदुःख अर्थात् खुसीआनन्द त गन्तव्यसँग जोडिएको एउटा अंश मात्र हो। जीवनमा न सुख बाहेकको दुःख छ, न धर्तीमा उज्यालो बाहेकको अँध्यारो।
जीवनमा सुख, सुविधा कम हुँदै जानु, के यही हो त दुःख ? पक्कै होइन। जीवनमा चाहेको पाउनु सुख र मन परेको वस्तु गुमाउनु मात्र दुःख होइन। यथार्थमा त तेरोमेरो, पाउनु–गुमाउनु, मिठोनमिठो यी सबै भ्रम हुन्। गीतामा भनिएको छ, ‘तिमीले के लिएर आएका थियौ जुन तिमीले गुमायौ। न तिमीले केही लिएर आएकै थियौ न लाने नै छौ। जे लियौ यहींबाट लियौ र जे दियौ यहीं दियौ। जो आज तिमीसँग छ। जो हिजो कसैको थियो र भोलि कसैको हुनेछ।
भ्रमको मैदानमा नै हुनेहुन् पाउने र गुमाउने खेलहरू। काम, क्रोध, लोभ, अहंकार र ईष्र्या सबै वास्तवमा भौतिक शरीरका साथी र साक्षीमात्र हुन्। यसले जीवनलाई पूर्णतासँग नै तौलन सक्दैन। महसुसमा प्राप्त हुने आनन्दलाई पाउने र गुमाउने तŒवहरूले प्रभाव पार्दैन। मानिसले आफू जे र जेका लागि होइन, त्यसैलाई अँगाल्नु नै दुःखका स्रोत हुन्। कोही खान नपाएर छट्पटिएका छन्, कोही धेरै खाएर छटपटिएका छन्। कोही दिन नपाएर छट्पटिएका छन्, कोही लिन नपाएर छट्पटिएका छन्। कति मानिसहरू आफू जीवित रहेको भ्रममा बाँचिरहेका छन्।
स्वास चल्दैमा मानिस जीवित रहने पनि होइन। मानवमा मर्यादा र भावनाहरू पनि जीवित रहनुपर्छ। खुसी कसैले कसैलाई दानमा दिने वस्तु होइन। आफैंले आफैंभित्र खोजेर आफैंले आफैंसँग लिने सुखानुभूति हो। स्वार्थी चिन्तनमा जकडिएको तेरो मेरो, आफ्नो पराइ सबै सम्बन्धले असन्तुष्टिको महल बनाउँछ। आँखा चिम्लिएर हिँड्नेहरूलाई रातको अँध्यारो र दिनको उज्यालोको कुनै अर्थ रहँदैन। आँखा खोलेर आफ्नै मनभित्र पवित्र सोचले सुख खोज्नुपर्छ। सुख र खुसीबाहेक जीवनमा केही छैन।