उदयपुरको दुवै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

उदयपुरको दुवै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुन्नुहोस्

उदयपुर : उदयपुरका दुई ठाउँमै शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सदरमुकाममा रहेको त्रियुगा नगरपालिका १२ नम्बर वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृत र बेलका नगरपालिका-९ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

वडाध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गर्दै दुवै वडामा कार्यालय स्थापना गरिएको हो। त्रियुगामा न्यायपरिषदबाट जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपककुमार खरेललाई मुख्य निर्वाचन अधिकृत र बेलकामा न्याय सेवा आयोगबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मनोजकुमार गुप्तालाई तोकिएको छ। 

दुवै जनाले शुक्रबार नै कार्यालय स्थापना गरी काम सुचारु गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा निर्वाचन अधिकृत दीपक दाहालले बताए। कार्यालयको दुवै निर्वाचन अधिकारीले औपचारिक रूपमा उद्घाटन गरेका छन्। निर्वाचन आयोगले मंसिर २ गतेदेखि १६ गतेसम्मको चुनावी कार्यतालिका तोके अनुसार उम्मेदवारको मनोनयन पत्र दर्तादेखि मतदानसम्मको समय निर्धारण गरिएको छ। 

निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा १२ मा पुरुष १ हजार ८ सय ७६ र महिला मतदाताको संख्या १ हजार ९ सय ७१ सहित ३ हजार ८ सय ४० मतदाता रहेका छन्। त्यसैगरी बेलका ९ मा जम्मा ३ हजार १ सय ३६ मतदातामध्ये पुरुष १ हजार ५ सय ७२ र महिला १ हजार ५ सय ६४ मतदाता छन्। 

गत २०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरू त्रियुगा १२ का चुडाराज काफ्ले र बेलका ९ का पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

काफ्लेको चुनाव जितेकै वर्ष फागुनमा शिवरात्रिको साँझ मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। नेपाली कांग्रेसबाट निर्वाचित काफ्लेको ठाउँमा पार्टीले उनकै छोरा सञ्जिवलाई उम्मेदवार बनाएको छ। काफ्लेसँगै वडाध्यक्षका लागि एमालेका लक्ष्मीनारायण चौधरी, माओवादीका नवीनकुमार बान्तवा राई, एकीकृत समाजवादीका निर्मला चौधरी र रास्वपाका ध्रुव पोखरेलले प्रतिस्पर्धा गर्नेछन्। 

त्यसैगरी बेलका ९ मा कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष पदम खड्काको पनि गत जेठमा मोटरसाइकल दुर्घटनामै परी ज्यान गएको हो। त्यहाँ कांग्रेसले नवीन बस्नेतलाई उठाएको छ भने एमालेले मृतककै भाइ मनोज खड्का, माओवादीले भरत घिमिरे र रास्वपाले मेख विश्वकर्मालाई वडाध्यक्षमा प्रतिस्पर्धा गराउने भएको छ। 

कार्यालय स्थापनासँगै दुवै अधिकारीहरूले सर्वदलीय छलफल, लगायतका नियमित कामकारबाही सुचारु गर्ने तयारी गरेको दाहालले बताए। उपनिर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी राजनीतिक सहमति तथा परामर्श, छलफललाई निरन्तरता दिइने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.