कास्कीमा ४८ जना फरार प्रतिवादी पक्राउ
काठमाडौं : अदालतको फैसला कार्यान्वयनका लागि कास्कीमा ४८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार एक महिनामा ४८ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ३६ पुरुष र १२ जना महिलालाई पक्राउ गरेको हो।
पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माले बताए।
पक्राउ परेकाहरूबाट १ वर्ष ६ महिना ६ दिन कैद सजाय र एक करोड दुई लाख एक हजार पाँच सय रुपैयाँ जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको हो।
पक्राउ परेकामध्ये चेक अनादार मुद्दामा ३५, लागू औषध मुद्दामा ५, बैंकिङ कसुर मुद्दामा ४ जना तथा अभद्र व्यवहार, आपराधिक उपद्रव, सार्वजनिक सम्पत्तिको नोक्सान गरी भ्रष्टचार गरेको र लेनदेन बिगो मुद्दामा एकएक जना पक्राउ गरिएको छ।