घरभित्र शव, श्रीमती र छोराछोरी हराएको निवेदन प्रहरीमा

घरभित्र शव, श्रीमती र छोराछोरी हराएको निवेदन प्रहरीमा
सुन्नुहोस्

२ महिनाको सुत्केरी सीताले सुत्ने कोठामा कोइला बालेको फेला परेको छ। कोइलाको कारण निस्सासिएर तीनै जनाको मृत्यु भएको हुन सक्ने पनि प्रहरीको अनुमान छ।

काठमाडौं : कात्तिक २९ गते दिउँसो प्रहरी वृत्त बौद्धमा एउटा निवेदन दर्ता भयो । निवेदनमा उल्लेख विवरण भने अलि शंकास्पद थियो । निवेदनमा गोकर्णेश्वर बस्ने ३३ वर्षकी सीता दंगाल कात्तिक १६ गतेदेखि बेपत्ता भएको उल्लेख थियो । साथमा १५ वर्षकी छोरी र २ महिने छोरा पनि बेपत्ता भन्दै खोजबिनका लागि निवेदन दिइएको थियो । 

निवेदन दिने थिए, सीताका पति ४९ वर्षीय कान्छा नगरकोटी । निवेदन विवरणअनुसार १३ दिनअघि हराएका पत्नी, छोरा, छोरी खोज्न कान्छा नगरकोटी बिहीबारमात्रै प्रहरीकहाँ पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार नाबालकसहित महिला हराएपछि प्रहरी वृत्त बौद्धको टोली खोजतलासका लागि तुरुन्तै परिचालन भयो । 

प्रहरी टोली कान्छा नगरकोटीको घरमा गएर खोजी गर्दा उनको श्रीमती सुत्ने कोठाभित्र सडेगलेको अवस्थामा तीनवटा शव फेला प¥यो । सीता दंगाल, उनको छोरी अंशु मोक्तान र दुई महिनाको नाबालक छोरा मृत अवस्थामा भेटिएका थिए । तीनैजना बिस्तारामा सुतेको अवस्थामा मृत फेला परेका हुन् । शव सडेगलेको र गन्ध आएको अवस्थामा भेटिएको थियो । शव भेटिएको कोठा भित्रबाट लक गरेको अवस्थामा छ । प्रहरीले उक्त कोठाको ढोका फोडेर खोजतलास गरेको थियो । 

प्रहरी वृत्त बौद्धले दिएको जानकारीअनुसार, मृतकको शव हेर्दा भवितव्य मृत्युजस्तो देखिन्छ । तर घरधनी कान्छा नगरकोटीले श्रीमती हराउनासाथ किन कसैलाई खबर गरेनन् ? यो बीचमा उनी कहाँ कता गए ? श्रीमतीको कोठामा किन खोजी गरेनन् ? मृतक तिनै जनाको शव कुहिएर गन्ध आउँदासमेत घरमा बस्नेले पत्तो नपाउनु अलि शंकास्पद देखिएकाले उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । 

कान्छा नगरकोटीले आफू सुत्ने कोठामा चाबी लगाएर यतायता हिँड्ने गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कान्छा नगरकोटीले श्रीमतीसँग कहिलेकाहीँ विवाद हुने गरेको बताएका छन् । अरूबेला पनि श्रीमतीले घरमा साँचो लगाएर चाबी बोकेर हिँड्ने गरेकाले कतै गइन् होला भन्ने सोचेर आफू चुप बसेको बताएका छन् । 

कान्छाले हराएको भनेको मितिमै उनीहरूको मृत्यु भएको प्रहरीको अनुमान छ । शवको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । यसको रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी प्रवक्ता अधिकारी बताउँछन् । 

दुई महिनाको सुत्केरी सीताले सुत्ने कोठामा कोइला बालेको फेला परेको छ । कोइलाको कारण निस्सासिएर तीनै जनाको मृत्यु भएको हुन सक्ने पनि प्रहरीको अनुमान छ । हराउनु दुई दिनअघि सीता आफूले गर्दै गरेको काममा गएको सूचना प्रहरीले फेला पारेको छ । सीता र कान्छा दुवैले एकअर्कासँग दोस्रो विवाह गरेका हुन् । मृत भेटिएकी अन्सु सीताको पहिलो श्रीमान्तर्फको छोरी हुन् । कान्छाको पनि एक छोरा रहेको र छुट्टै बस्ने गरेको प्रहरीले जानकारी दिएको छ । 

सीता र कान्छाको भर्खरै मात्रै छोरा जन्मिएका थिए । श्रीमती हराएपछि कान्छाले गाउँमा गएर श्रीमतीले अर्कैसँग बिहे गरेर गएको हल्ला गरेका थिए । घटना केही शंकास्पद देखिए पनि हत्या नै भएको भन्ने प्रमाण भने फेला परेको छैन । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.