बंगलादेश पुग्यो ४० मेगावाट बिजुली
काठमाडौं : नेपालले ४० मेगावाट बिजुली बंगलादेश बेच्न सुरु गरेको छ। शुक्रबारबाट नेपालको ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात भएको छ। यससँगै तेस्रो मुलुकमा विद्युत् व्यापार सुरु भएको हो। यो वर्षका लागि बंगलादेशलाई बिजुली बिक्री भने यो नै अन्तिम हो। नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात शुक्रबार मध्याह्न साढे १२ बजेबाट सुरु भएर राति १२ बजेसम्म मात्र हुनेछ। त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ। नेपालले हरेक वर्ष जुन १५ बाट नोभेम्बर १५ सम्म बंगलादेशसँग विद्युत् व्यापार गर्नेछ। नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् बंगलादेशमा विस्तार भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअलमार्फत संयुक्त रूपमा स्विच अन् गरी विद्युत् निर्यातको शुभारम्भ गरे। कार्यक्रममा मन्त्री दीपक खड्काले बंगलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताए।
विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौताले विद्युत् निर्यातका लागि मार्ग प्रशस्त गरेको मन्त्री खड्काले बताए। उनले बंगलादेशमा विद्युत् निर्यात गर्न सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बंगलादेश सरकारलाई धन्यवाद दिए।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ। त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि कात्तिक २९ गते बिहीबार स्वीकृति दिएको थियो। केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाहरूबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो। यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्।
विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको जुन १५– नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ। नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ। प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दरअनुसार ८ रुपैयाँ ६२ पैसा) पाउनेछ। नेपालले विद्युत् बिक्रीबाट पहिलोपल्ट डलरमा आम्दानी गर्न लागेको हो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ।
प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात गर्दा २८ हजार १ सय ६० डलर (३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ) पाउनेछ। बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ। मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्नेछ। नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन, भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता (पीएसए) भएको थियो। त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाएको थियो। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो।
कानुनमा भएको व्यवस्थाबमोजिम बीपीडीबी १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो।
प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो। प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युतबक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो।
बंगलादेशमा विद्युत् व्यापारका लागि २०७९ सालदेखि कसरत भएको थियो। २०७९ भदौमा दुई देशका सचिवस्तरीय बैठकले ५० मेगावाट विद्युत् निर्यातका लागि सहमति गरेको थियो।
नेपाल बंगलादेश डेडिकेटेड लाइन नभएको र भारतबाट प्रयोग गरिने प्रसारण लाइन अभावका कारण ४० मेगावाटमा झारिएको थियो।