काठमाडौंमा एपिएफ–एसएसबी समन्वयात्मक बैठक बस्दै
काठमाडौं : काठमाडौंमा आजबाट ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ बस्ने भएको छ। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा शनिबार र आइतबार सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन बैठक बस्न लागेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुनेछ।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुने उनले बताए ।
बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाइएको छ।