जीवनको सुरुआत अमृतसरह हुन्छ। त्यसैले बालसाहित्य लेखकले बालबालिकाको चाहना र आवश्यकता बुझेर लेख्नुपर्छ।
बास बस्न भनेर घरमा विद्वान् कृष्णप्रसाद खतिवडा आए । उनले एउटा सानो बालकको हातमा पुस्तक देखे । २०१५ सालतिरको कुरो हो त्यो । जतिबेला राणा शासनबाट मुक्त भएर प्रजातन्त्रको अनुभूति गरिरहेका थिए नेपाली जनता । राजनीतिक दलका नेता आफैं अलमल गरिरहँदा अधिकांश जनता शिक्षा र स्वास्थ्यबाट समेत वञ्चित भएको बेला थियो त्यो । काभ्रेपलाञ्चोक जिल्लाको भमरकोट गाउँका उनै १३ वर्षीय गोपाल पराजुलीकी आमालाई ती विद्धान् व्यक्तित्वले भने, ‘यी बाबुलाई मसँगै राजधानी पठाइदिनू । पढाइदिन्छु । असल मानिस बनाइदिन्छु ।’
‘मलाई पढाउँछु भन्नु भएको होइन ? ’ : गोपालकी आमाले मनमुटु मिचेरै ‘हुन्छ’ भनिन् । गोपाल राजधानी काठमाडौं सहर पुग्दा खुसीले गद्गद् भए । गाउँमा आँगनबाट देखिने सुन्दर जुगल र गणेश हिमाल हेर्न नपाए पनि स्कुल पढ्न पाउने खुसीले गद्गद् थिए । धेरै दिन बिते पनि उनले भात पकाउने, भाँडा माझ्ने र खरिदार दम्पत्तिको सेवामात्र गर्नेमा समय खर्चिए ।
पढ्ने सपना तुहिरहँदा उनी वाक्कदिक्क भइसकेका थिए । सहर पुग्दासमेत हातमा पुस्तक भएन जब कि गाउँमा हुँदा थियो । चित्त काटिएपछि एक दिन दह्रो मुटु बनाएर गोपालले भने, ‘मलाई पढाउँछु भन्नु भएको होइन ? ’ तर उनी नाजवाफ बने । गोपाल कुनामा पसेर आँसुले साथ दिउञ्जेल रोए । र फर्किए उही आफ्नै प्यारो गाउँ । साधारण ब्राह्मण किसान परिवारका साइला छोरा गोपाललाई पढ्ने धोकोले सताइरह्यो ।
अलबिदा गोपाल दाइ : उनै गोपाल पराजुली, जो यतिबेला हामीमाझ छैनन् । २०२१ सालदेखि निरन्तर साहित्य साधना र लेखनमा होमिएका उनी ७९ वर्षको उमेरमा यसै साता यो धरतीबाट सदाका लागि बिदा भए । भौतिक रूपमा बिदावारी भए पनि उनी खासमा साहित्यिक योगदानका कारण जीवन्त छन् । उनी मूलत : बालसाहित्यकार हुन् ।
करिब ५ सयजना विभिन्न क्षेत्रका व्यक्तित्वको जीवनी लेखेर उनले आफूलाई यसक्षेत्रमा पृथक पहिचान दिलाए । उनका कृतिमा ‘केही राष्ट्रिय विभूतिहरू (भाग १–३), पाँच प्रसिद्ध वैज्ञानिकहरूको जीवनी, हाम्रा प्रसिद्ध साहित्यकार (भाग १–६), नानीको बानी (बालनिबन्ध संग्रह), रूपको साहस (बालकथा संग्रह), एक दिनको यात्रा (बालउपन्यास), समयका डोबहरू (बालकविता संग्रह), नेसनल हिरोज अफ नेपाल, पच्चीस प्रतिभा (भाग १–८) र लिटररी आइकन अफ नेपाल (भाग १ र २) ।
अरूका आँखामा गोपाल : नेपाली समाज र नेपाली भाषाका सुपरिचित, प्रतिष्ठित र इतिहास कायम गर्न सफल दिवंगत व्यक्तिहरूको जीवनी लेखेर गोपाल पराजुली स्वयं ऐतिहासिक व्यक्तित्व बन्नुभएकोमा शंका छैन । प्रसिद्ध कथाकार परशु प्रधानको भनाइ पराजुलीको व्यक्तित्व हेर्ने ऐना बनेको छ । उनलाई बुझ्ने आधार उसो त धेरै तय भएका छन् ।
शिवप्रसाद सत्याल भन्छन्, ‘थोरै अनुच्छेदमा खास कुरा भन्न सक्नु लेखकीय शिल्पको नमूना हो भने व्यक्तिगत रागविरागबाट टाढा रही तटस्थ मूल्यांकन अझ कठिन कर्म हो । पराजुलीले यस धर्मलाई राम्ररी निर्वाह गर्नुभएको छ ।’ राधेश्याम भट्टराई भन्छन्, ‘बालसाहित्य लेखन जटिल र दुरुह मानिन्छ । बालमनोविज्ञान नबुझी बालोपयोगी साहित्य लेख्न सकिँदैन । लेखिहाले पनि त्यो प्रभावकारी नहुन सक्छ । बालमष्तिष्कले बुझ्ने र ग्रहण गर्न सक्ने शब्दचयन, वाक्यविन्यास र प्रस्तुतीकरणको सुन्दर संयोजन गर्न सक्नु नै बालसाहित्यकारको खुबी हो । गोपाल पराजुली यस दिशामा सफल छन् ।’
गोपालले सोधेछन्, ‘तिमीहरूले लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम कसकसलाई चिनेका छौ ?’ विद्यार्थी अकमक्क परे। त्यसपछि उनलाई लाग्यो, ‘अब सबै काम छोडेर निधन भएका प्रतिभाहरूको जीवनी लेख्छु।’
नरेन्द्रराज पौडेलले पनि पराजुलीलाई नजिकबाट चिहाएका छन्, ‘सरल भाषाशैली, सहज प्रकारको अभिव्यक्ति दिएर गोपालजीले आफ्ना सबै कृति पठनीय बनाएका छन् । निरन्तर साधना, सादगी र सरलता उनका आफ्नै विशेषता हुन् । आडम्बर, उपबुज्रुकपन र आग्रह–पूर्वाग्रहको छनक नभेटिने उनको लेखनधर्मिता अरू लेखकका लागि पनि उदाहरणीय बनेका छन् ।’
बालसाहित्यकार भएर आफूलाई सपारेका पराजुली : सतही टिप्पणी गर्न सजिलो हुन्छ । भन्नेहरू भनिदिन्थे, गोपाल पराजुलीले बालसाहित्यमा मात्रै कलम चलाएर आफूलाई बिगार्यो । गोपाल पराजुलीले चाकरी गर्न नजानेर पाउनुपर्ने पुरस्कार पनि पाएन । चिल्लो घस्न जानेन र त गोपालले जागीरमा प्रमोसन पाएन त ।
लप्पन–छप्पन गरेको भए गोपालले यसरी सडकमा पाइला नापेर हिँड्नै पर्दैनथ्यो, कार चढेर हिँड्ने भैसक्थ्यो । धेरै भलाद्मी भएर खै के पायो र ? सँगैका साथी कहाँबाट कहाँ पुगिसके, ऊ भने जहींको तहीं छ । यस्ता थुप्रै प्रतिक्रियालाई गोपाल दाइले कहिले सिरानेमुनि थिचेर निदाए त कहिले पैतालामुनि टेकेर गन्तव्य लम्किए, लम्किरहे । सायद यी सबै सांसारिक मोहभन्दा भिन्न बनाउन सकेर सायद गोपाल पराजुली यतिबेला ‘मौलिक कृति’ बनेको छ, बालसाहित्यको संसारमा
पृथक इतिहास रच्न सफल भएको छ । भन्छु, इमान्दार, सज्जन र चोखो व्यक्ति हो, गोपाल पराजुली । जो अत्यन्तै व्यावहारिक व्यक्तित्व हो ।
बाआमाले देउता बनाउँदा ‘गोपाल’ बनेका उनी गान्धी पथमा : त्यतिबेला नजिकैको स्कुल भनेकै धुलिखेलको । उनलाई २०१६ सालमा १४ वर्षको उमेरमा चार कक्षामा भर्ना गरियो । जाँदा चार र आउँदा चार गरी दैनिक आठ किलोमिटर दूरीको स्कुल सञ्जीवनीमा पढ्न उकालोओरालो गर्न थाले उनी । बुबा टिकाप्रसाद र आमा विष्णुमायाले डोलप्रसाद उनलाई देवताको नाम राख्ने लहडमा गोपाल बनाएका थिए । स्कुलमा शिक्षक थोरै भएकाले कक्षा पाँचमा पुगेपछि उनले शिक्षक बनेर स–साना भाइबहिनीलाई पढाउनु पर्यो । जहाँ उनले पनि धेरै सिक्ने मौका पाए ।
बालसाहित्यमा चर्चित बनेका कृष्णप्रसाद पराजुली अध्यक्ष बनेर गाउँमा जागृति पुस्तकालय खोलेका थिए । त्यहाँ गोपालले ग्रन्थपाल बनेर सेवा गर्न पाए । बिहान बेलुकी पुस्तकालयमा रहँदा एक दिन उनको आँखा महात्मा गान्धीको जीवनी भन्ने पुस्तकमा पर्यो । पढेपछि उनलाई महात्मा गान्धीजस्तै बन्ने प्रेरणा जागेछ । ‘यस्तै पुस्तक लेख्न पाए...’ भन्ने पनि लागेछ । पुस्तकालयले दुईवटा कुराको फाइदा भयो उनलाई । एक भनेजस्ता पुस्तक पढ्न पाइने अर्को महिनामा १५ रुपैयाँ तलब पनि । जतिबेला उनको स्कुलको शुल्क दुई रुपैयाँ थियो । जले उनी सानैदेखि आत्मनिर्भर बनायो ।
मरेर बाँचेका बालमनका गोपालको सिर्जना–यात्रा : हँसमुख, शालीन व्यक्तित्वका गोपालको कद सरदर मान्छेको सरह छ । काठमाडौं बानेश्वरका स्थायीनिवासी बनेका उनले सेवानिवृत्त जीवनलाई पूरै बालसाहित्यमै खर्चिए । जुन जीवन भाग्यले पाएका थिए उनले । घटना भ्रमरकोटकै हो, उनी आठ वर्षका थिए । स्वास्थ्यमा एकदमै कमजोर गोपाल सानैमा दीर्घरोगीजस्तै बने । गाउँमा भएकाले अहिलेजस्तो उपचार गर्न अस्पताल पनि लगिएन उनलाई । दस दिन बेहोस बनेर लडिरहे ओछ्यानमै । एक किसिमले परिवारले माया मारिसकेको अवस्था थियो । दसौं दिनमा घरमा आएका एक पण्डितले कानैमा कराएछन् । गोपालले साउती मार्ने स्वरमा ‘हजुर’ भनेछन् । यसरी पुनर्जीवन पाएका गोपाललाई स्कुल पढ्दा १९ वर्षको उमेरमा शैक्षिक भ्रमण जाने अवसर जुर्यो । त्यो जुराई साहित्य सिर्जनाको जुराई बन्न पुग्यो ।
जानीनजानी उनले भ्रमणबारे लेखे र छपाए । हौसला बुलन्द भइदियो गोपालमा लेखनको । आमा जजमानी पण्डितकी छोरी, त्यतिबेला पढ्ने चलन नभए पनि भित्री चेतले गोपाललाई पढाउनुपर्छ भनेर जोड दिएकै कारण गोपालले पढे र लेख्न पनि थाले । लेखनको गति तीब्र भयो, गान्धीको जीवनीले प्रेरित भएका उनले २०३५ सालमा ‘राष्ट्रिय विभूति’ नामक जीवनीसम्बन्धी पुस्तक लेखे ।
चुनौतीमा अवसर देख्ने सिर्जनशील मन : फलामे गेट मानिने एसएलसी परीक्षा दिन काठमाडौं आउनुपथ्र्यो । २०२२ सालमा काठमाडौं आएका उनी गाउँ फर्किएनन् । दु : ख कष्ट सहेर भए पनि सहरमै बस्ने र केही गर्ने अठोट गरे गोपालले । विश्वप्रसिद्ध व्यक्तित्वहरू माओत्से तुङ्ग, जवाहरलाल नेहरू, शेक्सपियर, महात्मा गान्धी, चावेनलाईका जीवनी पढे उनले । अनि पढे प्रसिद्ध नेपाली साहित्यकारहरू लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, गोपालप्रसाद रिमाल र विजय मल्लजस्ताको जीवनी । उनीहरूबाट प्रभावित भएपछि उनलाई लाग्यो, ‘बालबालिकालाई सानैदेखि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिभा र व्यक्तित्वको जीवनी पढाउन पाए, उनीहरूले पनि आफ्नो व्यक्तित्व त्यस्तै बनाउने छन् ।’
जीवनलाई बालसाहित्य सिर्जनामा अर्पण गर्ने गोपालले ‘सेवावापतको मेवा’ पनि पाएका छन् । बालसाहित्य लेखनका लागि २०४३ र २०४७ सालमा ‘राष्ट्रिय बाल पुरस्कार’, नेपाल बालसाहित्य समाजका तर्फबाट ‘सार्क बालिका वर्ष १९९० को बालकथा पुरस्कार’ र बालसाहित्यका बारेमा उल्लेख्य योगदान गरेबापत २०५७ सालमा ‘बालहितकारी पुरस्कार’ आदि पाएका छन् । बालसाहित्यमा तन, मन र धनसमेत दिएर रमाएका गोपालको बालसाहित्यिक व्यक्तित्वले बालबालिकालाई मजैले गुन लगाएको छ ।
यसरी पृथक लेख्ने सोच बन्यो बालसाहित्यमा : जीवनमा प्रमुख अतिथि हुन पाउनुको गर्व भिन्नै हुन्छ । २०६० सालमा राजधानीकै एक बोर्डिङ स्कुलका प्रिन्सिपलले गोपाललाई प्रमुख अतिथि बनाए लगे । विद्यार्थीसँगको अन्तरसंवाद कार्यक्रममा उनले सोधे, ‘नानीबाबु हो, तिमीहरू ठूलो हुने कि असल ? ’ धेरैले भनेछन्, ‘ठूलो ।’ कतिपयले त हिरो र हिरोनी हुने इच्छा व्यक्त गरेछन् । त्यसपछि गोपालले सोधेछन्, ‘तिमीहरूले लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम... कसकसलाई चिनेका छौ ? ’
कक्षा १० सम्मका ती विद्यार्थी अकमक्क परे । त्यसपछि उनलाई लाग्यो, ‘सबै काम छोडेर यस्तै प्रतिभाहरूको जीवनी लेख्छु । अझ निधन भइसकेकाको लेख्न जरुरी छ ।’ यसअघि जुन ढंगले गोपालले जीवनी जानीनजानी लेख्दै थिए, अब भने उनले लेखन योजनावद्ध ढंगले अघि बढ्यो । लेखनशैली फरक बनाएर लेख्न थाले ।
कहाँ के के गरे गोपालले ? : पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गर्ने बालपत्रिका ‘नानी’ को २०६२ सालदेखि दुई वर्ष सम्पादक बनेर गोपालले बालसाहित्यिक पत्रकारिता पनि गरे । तालिम नलिई केवल सम्पादक हुन पाउँछु भन्ने लोभमा बालपत्रिका प्रकाशन गर्ने परम्पराले बालसाहित्यको श्रीवृद्धि हुन नसक्ने उनका अनुभव छन् । जे आयो त्यहीमात्र छाप्ने परम्पराले बालसाहित्यिक पत्रकारिता अघि नबढेको उनको बुझाइ छ ।
गोपाल २०२४ सालमा खरिदार पदबाट जनक शिक्षा सामग्री केन्द्रमा जागीरे बनेर २०५४ सालमा शाखाअधिकृत पदबाट सेवानिवृत्त भए । सेवाबाट निवृत्त भए पनि उनी साहित्यको सेवाबाट निवृत्त भएका छैनन् । उनले विगतमा बालसाहित्य लेख्न सुरु गर्दा बालपत्रिका थिएनन् । त्यसपछि एकदमै कममात्र देखा परे । तर अहिले संख्यात्मक र गुणात्मक दृष्टिले राम्रो अवस्था देखिँदा उनी खुसी छन् ।
अझ योजनासहित बालपत्रिकाहरू प्रकाशन होउन् भन्ने गोपालको कामना छ ।
जीवनको सुरुआत अमृतसरह हुन्छ : गोपालको बालसाहित्य लेखनबारे मान्यता छ, ‘जीवनको सुरुआत अमृतसरह हुन्छ । त्यसैले बालसाहित्य लेखकले आफ्ना कुरा लाद्ने होइन, बालबालिकाको चाहना र आवश्यकतालाई बुझेर लेख्नुपर्छ । लेखन सरल हुनुपर्छ । नकारात्मक हुनुहुन्न । प्रेरणादायी हुनुपर्छ । शब्द चयनमा गम्भीर हुनुपर्छ । लक्षित वर्ग र उमेर पहिचान नगरी लेख्न हुन्न । त्यसैले बालसाहित्यकार अरूभन्दा बढी इमान्दार हुनुपर्छ ।’