जति भने पनि, सुने पनि, पढे पनि, लेखे पनि उस्तै नौलो र रमाइलो लाग्ने कथा हो, सौर्यजगत् वा ब्रह्माण्ड। यही कथाको गतिमा वर्षौंंदेखि हाम्रा अध्ययनहरू दौडिरहेका छन्।
सूर्य, सौर्यमण्डल परिवारको राजा हो। हरेक ग्रह, उपग्रह, शिशुग्रह र धुम्रकेतुहरूलगायतका उल्का र उल्कापिण्ड सबै यसैको अधीनमा छन। यो अनन्त ब्रह्माण्डको तस्बिर खिच्ने क्यामेरा पनि हो। यसैको चस्माबाट ब्रह्माण्डका देखिने र नदेखिने दुवै किसिमका वस्तुहरूका तस्बिर देख्न सकिन्छ।
स्वयं सौर्यमण्डल र ब्रह्माण्डमा निहित वस्तुहरूको वास्तुकला र वास्तुशास्त्र यसैको अध्ययनबाट अध्ययन गर्न सकिन्छ। यस रहस्यका विषयमा बुझ्न अनुसन्धानकर्ताहरूले कुइपर बेल्ट र यसमा भएका सामग्रीहरूको विशेषतालाई लिएका छन्।
कुइपर बेल्ट : अर्थात् बरुण ग्रहको कक्षभन्दा बाहिर हिउँले बनेको डोनट आकारको क्षेत्र हो, जहाँ रहेर यम ग्रहलगायतका अन्य शिशु ग्रह र धुम्रकेतुहरूले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन्। यो बेल्टमा बरुण ग्रहको गुरुत्वाकर्षण प्रभावका कारण कुनै ग्रहहरू छैनन्। यद्यपि, पाँच आधिकारिक रूपमा मान्यता प्राप्त शिशुग्रहमध्ये ४ वटा (यम, एरिस, मेकेमेक र हाउमी यसभित्र समावेश छन्। र, बाँकी पाँचौं शिशुग्रह (सेरेस भने मंगल र वृहस्पति ग्रहबीचको शिशुग्रह पेटीमा अवस्थित छ।
अत : विशेषज्ञहरूका अनुसार संक्षेपमा, सौर्यमण्डलको बाहिरी भागमा अवस्थित अर्थात् बरुण ग्रहको कक्ष बाहिर रहेको ‘कुइपर बेल्ट’ एक आदिम बेल्ट हो। जहाँ, बरफका चट्टानहरू र ठूलो संख्यामा शिशु ग्रहहरू छन्। यो बेल्ट ग्रहहरूको उत्पत्ति कालदेखि अर्थात् ४.६ अर्ब वर्षदेखि नै सौर्यमण्डलमा रहेको खुलासा अनुसन्धानले गरेको छ। यसले सौर्य जगत्को निर्माण सामग्रीलाई पनि उदघाटन गरेको छ। यस्तै, उर्ट क्लाउड धूलोहरूको चक्र हो। विज्ञहरूले यसलाई सौर्य ग्रहहरूभन्दा बाहिर रहेका अरबौं धूम्रकेतुहरूको विशाल खोल हो भनेर भन्ने गर्छन्।
खाली खाल्डो : कुइपर बेल्ट अध्ययनका लागि जापानिज खगोलशास्त्रीहरूले सुबारु टेलिस्कोप प्रयोग गरेका छन्। तत्कालका अवलोकनहरूले यस ब्रह्माण्डका पुराना कथामा अप्रत्याशित मोडको अनावरण गरेको छ। सुबारु टेलिस्कोपबाट प्राप्त तथ्यांकका अनुसार सूर्यबाट ७० र ९० खगोलीय एकाइहरूको बीचमा कुइपर बेल्टमा अवस्थित क्षुद्रग्रहहरूको घनत्वमा आश्चर्यजनक रूपमा वृद्धि भएको छ। यो खोजले कुइपर बेल्टभित्र दुईवटा भिन्न कम्पोनेन्टहरूको अस्तित्वको उपस्थितिका विषयमा सुझाव दिन्छ।
जुन ठूलो, लगभग खाली खाडलद्वारा छुट्ट्याइएको छ। यस अध्ययनमा, जापानको हवाईस्थित व्यावसायिक तथा वातावरणीय स्वास्थ्य विज्ञान विश्वविद्यालय र चिबा इन्स्टिच्युट अफ टेक्नोलोजीका ग्रह वैज्ञानिक फुमी योशिदाले यस खोजको महत्त्वलाई जोड दिँदै भनेकी छन्, ‘यदि पुष्टि भयो भने यो एक प्रमुख खोज बन्नेछ। र, यसले बताउने छ कि आदिमको सौर्य निहारिका पहिलेपहिले ठूलो भनिएको ठूलोभन्दा धेरै ठूलो थियो। यो प्राप्ति अन्य ग्रह र तिनका उपग्रहहरूका अध्ययनका लागि निकै लाभदायक हुन सक्छ।’
सौर्य वास्तुकलाका महत्त्वपूर्ण वस्तुहरू : विगतका प्राप्तिलाई चियाउँदा कुइपर बेल्टले आदिम समयको सौर्य वास्तुस्थितिको अवशेष पनि बताउँछ। अर्थात् कुइपर बेल्टलाई हाम्रो सौर्यमण्डलको बाल्यावस्थाको संरक्षित अवशेषको रूपमा पनि लिन सकिन्छ। यस बेल्टले आफ्नो चक्रीय बेल्टमा ठूलो मात्रामा रहेका सम्पूर्ण खगोलीय वस्तुहरू जो सूर्यबाट ३० देखि ५० खगोलीय एकाइ टाढा छन, तिनलाई सूर्यका हानिकारक विकिरणहरूबाट बचाउँछ। पृथ्वीको अहिलेसम्मको सरदर उमेर ४.६ अर्ब वर्ष मानिन्छ।
त्यतिबेलैदेखि नै यो ब्रह्माण्डले कुइपर बेल्टलाई अपरिवर्तन रहन अनुमति दिएको बुझिन्छ। यसले अर्को कुन अमूल्य तथ्यको अन्तर्दृष्टि पनि प्रदान गर्दछ भने यो बेल्टमा रहेको यिनै पुरातन सामग्रीद्वारा सूर्य र यसका ग्रह–उपग्रहलगायतका सबै सौर्य पिण्डहरू निर्माण भएका हुन्। अध्ययनले बताएको छ, यो बेल्टमा अवस्थित धूलादेखि ठूला पिण्डहरूका रूपमा रहेको निहारिकाले सम्भावित ग्रहहरूको निर्माणको प्रारम्भिक चरणहरूमा अरू निकै महत्त्वपूर्ण झलक प्रदान गर्छ।
अनौठा रमाइला दृश्यहरू : कुइपर बेल्टपछि फेरि अर्काे कुइपर बेल्टको प्राप्तिले क्यानेडेली खगोलविद्हरूमा नवीन जिज्ञासा पैदा गराएको छ। यसले हाम्रो सौर्यमण्डलको संरचना र विकासका विषयमा अति चाखलाग्दा तथ्यहरू प्रस्तुत गरेको छ। नेसनल रिसर्च काउन्सिल क्यानडाका वेस्ले फ्रेजरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय टोलीको ७० खगोलीय एकाइभन्दा टाढाका ११ वटा वस्तुको प्राप्तिले क्विपर बेल्टको संरचनाको पुन : मूल्यांकन गर्न प्रेरित गरेको छ।
खासगरी ५० देखि ७० सम्मको खगोलीय एकाइबीचको भाग लगभग वस्तुहरू विहीन वा निकै कम वस्तुहरूले युक्त छ। सौर्यमण्डलको अनौठो वास्तुकला बुझ्न यो शून्य स्थान वैज्ञानिक अध्ययनका लागि विशेष उल्लेखनीय क्षेत्र हो। खगोलविद्हरूको तथ्यात्मक टिप्पणी के छ भने यसैको अध्ययन र प्राप्तिहरूले हाम्रो आकाशगंगा
तारापुञ्ज र एकैसाथ अन्य तारापुञ्जको रहस्यमय वास्तुशास्त्रलाई बुझ्न सकिन्छ।
- उचित वास्तुकलाले ब्रह्माण्डबाट सकारात्मक ऊर्जा आफूतिर आकर्षण गर्छ र हाम्रो अवचेतन दिमागलाई चार्ज गर्छ। हामीले हामी बस्ने घरहरू वास्तुशास्त्रले भने बमोजिमका वास्तुकला हुन्। अत : यो ब्रह्माण्ड अति विशिष्ट वास्तुशास्त्रको विशिष्ट वास्तुकला हो।
- कुइपर बेल्ट खगोलविद् गेरार्ड कुइपरको सम्मानमा राखिएको हो। जसले सन १९५१ मा बेल्टको अस्तित्वको अनुमान लगाएका थिए। उहाँभन्दा अघि र पछि पनि यसको अस्तित्वबारे अनुमान लगाउने धेरै अनुसन्धानकर्ता थिए। जस्तै, १९३० को दशकमा केनेथ एजवर्थ। वास्तवमा कुइपर बेल्ट धूम्रकेतुहरूको स्रोत हो।
वेस्ले फ्रेजरले यस खोजको महत्त्वलाई यसरी व्याख्या गरेका छन्, हाम्रो सौर्यमण्डलको कुइपर बेल्ट अरू अन्य ग्रह प्रणालीहरूको तुलनामा धेरै सानो देखिन्छ। तथापि हाम्रो नतिजाहरूले हामीलाई यो सुझाव दिन्छ कि यो विचार केवल एक अवलोकन पूर्वाग्रहको कारण उत्पन्न भएको हुन सक्छ। यद्यपि यो नतिजा प्रमाणित भयो भने हाम्रो कुइपर बेल्ट आकाशगंगाका विशाल ताराहरू र तिनका वरिपरिका यस्तै विशाल कुइपर बेल्टले दिने नतिजाभन्दा कत्ति पनि भिन्न र कमजोर हुनेछैन।
उनी थप्छन्, ‘यो खोजले ग्रह प्रणालीको संरचनाको बारेमा हामीले बुझेका बुझाइमा दूरगामी प्रभाव पार्न सक्छ। खगोलविद्हरूले भर्खरै हाम्रो सौर्यमण्डल नजिकैका रोमाञ्चक नयाँ ग्रहहरूको अस्तित्व र उत्पत्तिका विषयमा नयाँनयाँ खोजहरू गर्न थालेका छन्। यसले सौर्यमण्डलको संरचनात्मक वास्तुकला र इतिहासमा अहिलेसम्मकै हाम्रो ज्ञानलाई महत्त्वपूर्ण प्रभाव पार्छ। साथै यसले हाम्रो सौर्यमण्डलभन्दा बाहिरको जीवनका लागि जारी खोजलाई पनि निकै असरदारी प्रभाव पार्न सक्छ।’
जैविक खोजको स्रोत : फुमी योशिदाले भन्छिन्, ‘यो खोज र यसका प्राप्तिले अन्य ग्रहमा जैविक अस्तित्वको खोज विषयमा व्यापक प्रभाव पार्छ। ब्रह्माण्डमा जीवनका लागि हाम्रो खोजी यस तथ्यले बाधा पुर्याएको छ कि हामीसँग एउटा ग्रहको मात्र पुष्टि भएको उदाहरण छ जहाँ जीवन उत्पन्न भयो। त्यो हो सौर्यमण्डलमा पृथ्वी। यही एउटा मात्र उदाहरणले हामीले आकाशगंगाका अन्य ग्रह प्रणालीमा जीवनको उपस्थितिका विषयमा ठोकुवा गर्न गाह्रो छ। यद्यपि सम्भावित पूर्वसर्तलाई अस्वीकार गर्न हामीले गर्न सक्ने कुनै पनि कुराले हामीलाई जीवनका लागि साँचो आवश्यकताहरू फेला पार्न रहस्यको नजिक भने पक्कै पुर्याउँछ।’ वास्तवमा यो एक महत्त्वपूर्ण खोज हो। कुइपर बेल्ट हाम्रा अनेकन जिज्ञासाका जवाफ बन्न सक्नेछन्। जुन बन्द ढोकाहरूमा मारिएका ताल्चाहरूको चाबीजस्तै बन्नेछ।
सौर्यमण्डल–जीवको पाठेघर : सौर्यमण्डल हाम्रो प्रिय खगोल हो। यसका विषयमा हामीमा कैयन जिज्ञासा छन्। जस्तै, स्थान र समयको प्रकृति के हो ? हामी ब्रह्माण्डभित्र कसरी अनुकूल हुन्छौं ? हामीभित्र ब्रह्माण्ड कसरी अनुकूल हुन्छ ? तर आज, हामीमध्ये थोरैले ब्रह्माण्डलाई चिन्तन गर्ने समय पाएका छौं। अर्थात् थोरैले मात्रै खगोलको अध्ययन गर्दछौं। त्यसो त हामीले खगोललाई हाम्रो भूगोलमा अवतरण गराएर यसको अध्ययन तथा खोज अनुसन्धान गर्न चाहन्छौं। ताकि दिमागलाई रमाइलोसँग हरेक दिन व्यस्ततामा पनि फुर्सदिलो अनुभूति दिन सकियोस्।
यस्तै, हामीलाई हामीले अरू र अनौठा ब्रह्माण्डीय खोज वा शीर्षकहरूका लागि प्रवाहित वा तयार गराउन सकियोस्। शीर्षकका लागि आवश्यक कुराहरू जस्तै : बिग ब्याङ्गबाट ब्ल्याक होलसम्म, क्वार्कदेखि क्वान्टम मेकानिक्ससम्म र ग्रहहरूको खोजीदेखि ब्रह्माण्डमा जीवनको खोजीसम्म हामीलाई तत्पर गराओस्। हामीलाई आजसम्म प्राप्त ज्ञानअनुसार सौर्यमण्डल जीव आविष्कारको केन्द्रीय थलो हो। जीवहरूको पाठेघर हो। ग्रह, उपग्रह, शिशुग्रहलगायत सम्पूर्ण जीवको आमा हो। पिता हो। दाता हो। र, सबै हो।
ब्रह्माण्ड उत्पत्तिको वास्तुकला : पूर्वीय दर्शनले ब्रह्माण्ड उत्पत्तिको वास्तुकलाका विषयमा व्यापक दृष्टिकोण राख्छ। यसले भन्छ, ब्रह्म भनेको शक्ति हो। जो, पूर्ण छ। पदार्थीय जगत् पनि यसैगरी पूर्ण छ। यो निराकार पूर्ण ब्रह्मबाटै पूर्ण पदार्थीय ब्रह्मको उत्पत्ति भएको हो। पूर्णबाट लिएर पूर्ण नै बन्दा पनि ब्रह्म जस्ताको तस्तै रहन्छन्। वा, पूर्ण नै रहन्छन। बाँकी पनि पूर्ण नै रहन्छ। अर्थात् घटाए पनि, जोडे पनि, गुणन गरे पनि, विभाजन गरे पनि, वर्गीकरण गरे पनि वा जे गरे पनि यसको पूर्णतामा कुनै भिन्नता आउँदैन।
यो विराट् विश्व (ब्रह्माण्डको उत्पत्ति हुनुभन्दा अगाडि असीम शक्तिले सम्पन्न भएको एकमात्र ब्रह्मरूप ऊर्जा व्याप्त थियो। फैलिने र खुम्चिने क्षमता भएको यो शक्तिशाली तथा व्यापक ऊर्जा त्यसबखत आफ्नो फैलिने र खुम्चिने सम्पूर्ण शक्तिलाई स्वयंमा नै समेटेर रहेको थियो। ऊर्जाको यो शुद्ध र शान्त अवस्था ब्रह्मको स्थिर (अवस्था हो। यसैलाई ब्रह्मको मूल स्वरूप हो भनेर भनिन्छ।
ब्रह्मरूप ऊर्जामा यसरी संकुचन र प्रसारणको परिणामस्वरूप सर्वप्रथम काल अर्थात् समय वा कम्पन पैदा भयो। कम्पनबाट गति पैदा भयो र गतिबाट चेतना वा प्राण पैदा भयो। ब्रह्मका यिनै तीन शक्ति– काल, गति र चेतनाको दृश्य स्वरूपका रूपमा सौर्यमण्डल सहितको यो अनन्त ब्रह्माण्ड अस्तित्वमा आयो। आजको यो वैज्ञानिक खोज अनुसन्धान भनेको यही दृश्य जगत् हो।
दृश्य जगत्को स्वरूप दिव्य छ। यसको वास्तुकला र वास्तुशास्त्र निकै मजबुत र अनन्तकालको छ। माथि खगोलविद्हरूको कुइपर बेल्टप्रतिको खोज अनुसन्धान सौर्यमण्डल अर्थात् यही ब्रह्माण्डको वास्तुकलाको जानकारीका लागि हो। वैज्ञानिक प्रविधिमार्फत देखिएका, भेटिएका र जानिएका सूचनाबाहेक अरू कही होइनन्। तथापि आफू बसेको जगत्को विचित्रको विशेषताको ऊर्जाले हामी जो कोहीलाई यसको विषयमा चिन्तन नगरी रहन सुखै दिँदैन।
सौर्यजगत्, एक रमाइलो कथा : जति भने पनि, सुने पनि, पढे पनि, लेखे पनि उस्तै नौलो र रमाइलो लाग्ने कथा हो, सौर्यजगत् वा ब्रह्माण्ड। यही कथाको गतिमा वर्षौंंदेखि हाम्रा अध्ययनहरू दौडिरहेका छन्। र, अध्ययनका पछिपछि केही नवीन प्राप्ति र आविष्कारहरू दौडिरहेका छन्। विज्ञानको अध्ययनले भन्छ, ब्रह्माण्डको उमेर करिब १४ अर्ब वर्ष भयो। यो अनन्त ब्रह्माण्ड जन्मिनुअघि अहिले दृश्यमा र भौतिक ज्ञानमा देखिएका पदार्थ, ऊर्जा, समय र स्थान सम्पूर्ण एउटा अति सूक्ष्म बिन्दुमा समाविष्ट थिए। यति धेरै वस्तु यति सूक्ष्म बिन्दुमा कोचिँदा त्यसभित्र तापक्रमको वृद्धि हुन थाल्यो। कालान्तरमा महाविस्फोट भयो। यसरी अहिलेको ब्रह्माण्ड सृष्टिका रूपमा देखियो। यो प्रक्रिया चक्रीय रूपमा आउनेजाने गर्छ। यस विषयमा आइन्स्टाइन, न्युटन, स्टेफन हकिङलगायतका विज्ञानका धेरै ऋषिले खोज अनुसन्धान गरे र आफ्ना केही विचार एवं विज्ञान भावी पुस्ताका लागि अर्पण गरेर गएका छन्।
एक खोज, अनेक प्राप्ति : यस किसिमको रमाइलो किन्तु जटिल खोजका सम्बन्धमा यतिबेला जापनिज खगोलविद् फुमी यशोदा र उनको टोली अनि क्यानेडेली वेस्ले फ्रेजर र उनको टोली जुटेको छ। उनीहरूको यस्तो खोजप्रतिको लगावले लहरो तान्दा पहरो थर्किन्छको परिणाम दिन सक्छ। हामीले एउटा प्राप्तिले अरू अनेकौं प्राप्तिहरू बटुल्न सक्छौं। एउटै प्राप्ति अनेकौं प्रश्नहरूको जवाफ बन्नेछ। खोजका क्रममा घटना, दुर्घटना, सहजता र असहजता सबै किसिमका परिस्थिति उपस्थित हुन सक्छन्। यो सबैको साझा अवस्था हो। जन्मिनेहरूले यिनै परिस्थितिसँग संघर्ष गर्नुपर्छ।
निष्कर्ष : कुइपर बेल्ट खगोलविद् गेरार्ड कुइपरको सम्मानमा राखिएको हो। जसले सन् १९५१ मा बेल्टको अस्तित्वको अनुमान लगाएका थिए। उहाँभन्दा अघि र पछि पनि यसको अस्तित्वबारे अनुमान लगाउने धेरै अनुसन्धानकर्ता थिए। जस्तै, १९३० को दशकमा केनेथ एजवर्थ। वास्तवमा कुइपर बेल्ट धूम्रकेतुहरूको स्रोत हो।
भनिन्छ– धूम्रकेतु वा लाम्पुच्छ्रे ताराहरू यही क्षेत्रबाट आउने गर्छन्। यस क्षेत्रबाट उछिट्टिएर आएका टुक्राहरूलाई बरुण ग्रहले आफ्नो गुरुत्वले समात्छ र सूर्यतर्फै पठाइदिन्छ। यदि त्यहाँबाट भित्र प्रवेश भए भने पनि तिनलाई वृहस्पतिको गुरुत्वले २० वर्षसम्म आफूमा राख्छ र पृथ्वीका जीवजगत्लाई संरक्षण गर्छ। हामीसँग जुन वास्तुशास्त्र छ, त्यसै अनुरूपको वास्तुकला निर्माण गर्छौं।
भनिन्छ– उचित वास्तुकलाले ब्रह्माण्डबाट सकारात्मक ऊर्जा आफूतिर आकर्षण गर्छ र हाम्रो अवचेतन दिमागलाई चार्ज गर्छ। हामीले हामी बस्ने घरहरू वास्तुशास्त्रले भने बमोजिमका वास्तुकला हुन। अत : यो ब्रह्माण्ड अति विशिष्ट वास्तुशास्त्रको विशिष्ट वास्तुकला हो। कुइपर बेल्टको अध्ययनबाट खगोलविद्हरूले ब्रह्माण्डको विशिष्ट वास्तुशास्त्र प्राप्त गरोस्। जगत्मा अरू धेरै जीवनका ठेगाना पत्ता लगाओस्। अनि, जीवहरूका लागि ब्रह्माण्डजस्तै विशिष्ट वास्तुकलाको संरचना गरोस्।