दुग्ध किसानको बक्यौता भुक्तानीको माग
इलाम : कात्तिक ५ मा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गर्दै दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि नेपाल सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेको दाबी गरे।
तर, कोशीका किसानले अहिले वैशाख १५ गतेपछिको दूधको भुक्तानी पाएका छैनन्। डीडीसीले कात्तिक महिनासम्मको १९ करोड रुपैयाँ किसानको रकम भुक्तानी गर्न सकेको छैन।
डीडीसीको विराटनगर कारखानामा अहिले दैनिक १५ हजार लिटर दूध संकलन हुने गरेको छ। तर, भुक्तानीका लागि भने किसानले ६ महिनासम्म पर्खनुपर्ने गरेको राष्ट्रिय कृषक समूह महासंघ कोशीकी अध्यक्ष कुसुम दाहालले बताइन्।
महासंघको अगुवाइमा बुधबार कोशीका सबै जिल्लाबाट कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीलाई ज्ञापनपत्र पठाउँदै सात दिनभित्र सबै रकम भुक्तानी गर्न माग गरेको छ।
महासंघले कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीलाई पठाएको ज्ञापनपत्रमा भनिएको छ, ‘पछिल्लो समय सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले किसानबाट खरिद गरेको दूधको मूल्य ६ महिनादेखि भुक्तानी गर्न सकेको छैन। जसका कारण दूध उत्पादक कृषक पेसाबाट बिमुख हुनुपर्ने अवस्थामा छन्। जसका कारण कोशी प्रदेशबाट दुग्ध विकास संस्थानमा दूध बिक्री गर्ने १४ हजार ६ सय ९८ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
राष्ट्रिय कृषक समूह महासंघ दूध उत्पादक कृषकको हालसम्मको बक्यौता एक साताभित्र भुक्तानी गर्ने सरकारसँग माग गर्दछ।’ सात दिनभित्र दूधको मूल्य मुक्तानी नगरे आन्दोलनको घोषणा गर्ने महासंघका केन्द्रीय अध्यक्ष गणेश पोख्रेलले बताए।