उत्खननको पर्खाइमा मुस्ताङको नुन खानी

उत्खननको पर्खाइमा मुस्ताङको नुन खानी
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङका विभिन्न स्थानमा खनिज तथा खानीहरू उत्खननको प्रचुर सम्भावना रहेको विभिन्न समयमा गरिएको अध्ययनले देखाएको छ। उपल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम, वारागुङ मुक्तिक्षेत्र-१ को मुक्तिनाथमा ग्यास र घरपझोङ-५ को ठिनी लेंकमा कोइला खानी तथा वारागुङ मुक्तिक्षेत्र-३ तेताङस्थित पहाडको फेंदमा नुन खानी रहेको देखिन्छ। 

तर, विभिन्न समयमा गरिएको अध्ययन अनुसन्धानमा मुस्ताङमा खनिज तथा खानीहरूको सम्भावना रहे पनि सरकारले त्यसको उत्खनन गर्नेतर्फ ध्यान दिन सकेको छैन। सदरमुकाम जोमसोमदेखि करिब ३० किमी दूरीमा रहेको तेताङस्थित नरसिंह खोलामा अवस्थित नुन खानी उत्खननको पर्खाइमा छ।

नुन खानीका लागि सरकारले विभिन्न समयमा गरिएका प्रयासहरू समेत सफल हुन सकेको छैन। संघीयता कार्यान्वयनसँगै २०७४ सालमा खानी तथा भूर्गव विभागका प्राविधिक इन्जिनियरसहितको टोलीले उक्त क्षेत्रमा पुगेर नुन खानीको प्रारम्भिक अध्ययन अनुसन्धान सुरु गरेको थियो। त्यसबेला गरिएको प्राविधिक सोडियम परीक्षणबाट ७०.२८ प्रतिशतदेखि ९३.७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको पुष्टि गरिएको थियो। 

विभागले त्यसबेला गरेको सर्वेक्षणपछि २०७७ सालमा विभागले तेताङ पहाडको खोंचमा उत्पति भएको प्राकृतिक नुन खानीलाई प्रयोगमा ल्याउने उद्देश्यले नुन खानी खोतल्न विभिन्न कम्पनीहरूलाई प्रस्ताव आह्वान गर्‍यो। त्यसबेला विभागले प्रस्ताव आह्वान गरे पनि कुनै पनि कम्पनीले इच्छा देखाएनन्। त्यसपछि तेताङ नुन खानीको चर्चा हराउँदै गयो। त्यसपछि उत्खनन गर्ने तर्फ कुनै चासो दिएन।

चीन जोड्ने (जोमसोम -कोरला)सडक खण्ड अन्तर्गत छुसाङस्थित नरसिंह खोलाको अग्लो पहाडको खोंचमा प्राकृतिक नुन खानी छ। छुसाङबाटै नरसिंह खोला पैदलै पदल वा छुसाङदेखि तेताङसम्म २ किमी सवारी साधनको यात्रा गरेर नरसिंह खोला झर्नुपर्छ। 

तेताङबाट करिब ३ किलोमिटर पैदल हिँडेपछि खानी स्थलमा पुग्न सकिन्छ। हिउँदयामा चिसोका कारण खोलाको पानी चिसो हुने र बर्खायाममा खोलामा पानीको सतह ठूलो हुने भएकाले नुन खानी स्थलमा पुग्न जो कोहीलाई निकै अप्ठ्यारो हुने गर्छ। यद्यपि नुन खानी स्थलको अवलोकन गर्ने उपयुक्त समय वैशाख र जेठमा उपयुक्त हुन्छ।

पहाडको फेंदको प्वालहरूबाट नुन पानी बगिरहेको देखिन्छ। सदियौं वर्षदेखि प्राकृतिक रूपमा खेर गइरहेको उक्त नुन खानीबाट कुनै बेला नुन उत्खनन गर्ने गरिन्थ्यो। बजारमा आयो नुनको प्रयोग हुन थालेपछि यसको प्रयोग हुन छाड्यो। 

वारागुङ मुक्तिक्षेत्र-३ का वडासदस्य धवा गुरुङका अनुसार नरसिंह खोलाको पहाडको फेंदबाट उत्पादन हुने नुन मुस्ताङको साविक ६ वटा गाउँहरूले प्रयोग गर्थे। उनका अनुसार नुन खानीको नुनिलो पानीलाई स्थानीय प्रविधि अपनाएर ढिक्के नुन तयार गर्ने र उक्त नुन तेताङ, छुसाङ, चैले, समर, घ्याकर र ताङ्वे गाउँमा पुर्‍याउने गरेको बताए। ‘बजारिया आयो नुन प्रयोग आउनुअघि हामीले त्यही नरसिंह खोला पहाडको नुनिलो पानीलाई ढिक्के नुन बनाएर मानिस र पशुचौपायालाई खुवाउने गरेका थियौं,’  वडासदस्य गुरुङले भने, ‘पछिल्लो ३ दशकयता नुन बनाउने मान्छे पनि छैन, बजारिया नुन आएपछि त्यसप्रति स्थानीयले वास्ता गर्न नै छाडे।’ वडासदस्य गुरुङले आफू अहिले ४९ वर्ष पुगेको र २० वर्षको उमेर हुँदासम्म त्यहीको नुन खाने गरेको जानकारी दिए।

तेताङका स्थानीय धुली गुरुङले घरेलु प्रविधि अपनाएर ढिक्के नुन उत्पादन गर्ने गरेको बताइन्। स्थानीय धुली गुरुङ बाजे बितेपछि भने त्यहाँको नुन त्यसै खेर गइरहेको छ। पहाडको फेदमा प्वालबाट बगेको नुन पानीलाई कुण्ड कुण्ड बनाएर त्यसबेला ढिक्के नुन तयारी गर्ने गरिन्थ्यो। यसरी नुन तयारी गर्दा कुण्ड कुण्डको नुनिलो पानीलाई स्थानीय प्रविधि अपनाएर प्रशोधन गरी ढिक्के नुन बनाइन्थ्यो। तर, नुन बनाउने स्थानीय धुली गुरुङ बाजेपछि अहिलेसम्म त्यहाँबाट नुन निकाल्न छोडेको वडासदस्य गुरुङको भनाइ छ। धुली बाजेले बर्खायाममा ३ महिनासम्म त्यही बसेर नुन निकाल्ने गरेको वडासदस्य गुरुङको भनाइ छ।
 
नुनिलो पानी आउने ४ वटा छिद्रछिद्र प्वाल छन्। जुन प्वालहरूबाट निरन्तर नुनिलो पानी बगिरहेको छ। २०७५ सालमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले त्यहाँको नुनिलो पानी आउने नुन खानीलाई पर्यटक हबका रुपमा विकास गर्ने पहल गर्‍यो। तत्कालीन गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बजेट विनियोजन गरेर नुन खानी स्थलमा प्रसादका रूपमा उपयोग गर्ने हेतुले नुन संकलन गर्ने ३ वटा पोखरी निर्माण गरेका थिए। 

नुन पानी बग्ने कुण्डबाट ड्याम बनाएर पाइप लाइनमार्फत पोखरीमा नुन पानी संकलन गरिएको थियो। तर, गाउँपालिकाले बनाएको उक्त अस्थायी संरचना पनि बाढीले क्षति बनाइसकेको छ। त्यसपछि भने नुनको भण्डार रहेको त्यहाँको नुन खानीलाई संरक्षण गर्ने र उत्खनन गर्नेतर्फ राज्यका तीनै तहको सरकार बेखवर जस्तै भइरहेको छ।

पछिल्लो समय मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको नुन खानीको अवलोकन गर्ने र त्यहाँको नुन खानी उत्पतिका विषयमा सोधपुछ गरी चासो राख्ने गरेको पाइएको छ। राष्ट्रिय राजमार्ग सडकको नजिकै पर्ने भएपनि राज्यले मुस्ताङको खेर गइरहेको नुन खानीलाई सदुपयोगमा ल्याउन सकेको छैन। 

सरकारले मुस्ताङको नुन खानीलाई ठूलै बजेट खर्चिएर मेगा प्रोजेटका रूपमा कार्यान्वयनमा ल्याउन सकेमा त्यहाँको नुन खानीले विदेशबाट आयात हुने नुन मात्रालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने स्थानीयवासी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.