मानिसबाटै असुरक्षित वन्यजन्तु : शिकारीको पासोबाट जोगाउनै मुस्किल
सुर्खेत : मानवको व्यवहारकै कारण वन्यजन्तु असुरक्षित बन्न थालेका छन्। सामुदायिक वनको अवधारणाका कारण वन्यजन्तुको संख्यामा वृद्धि भए पनि चोरी–शिकारीका कारण मर्न थालेका छन्। शिकारीले जंगलमा लुकीछिपी राखेका पासोमा परेर वन्यजन्तु मर्न थालेपछि तिनको संरक्षणमा चुनौती थपिएको हो।
सुर्खेतका ग्रामीण क्षेत्रमा वन कार्यालय र प्रहरीको आँखा छलेर वन्यजन्तुको चोरी–शिकारी हुने गर्छ। तर, वन कार्यालय र प्रहरीको प्रत्यक्ष निगरानी रहने सदरमुकाम वीरेन्द्रनगरभित्रका जंगलमा समेत वन्यजन्तु सुरक्षित छैनन्। अर्थात वीरेन्द्रनगर आसपासका जंगलमा नै शिकारीले वन्यजन्तुको चोरी–शिकारी गरिरहेका छन्। मुख्यगरी वीरेन्द्रनगरमा बाक्लो जंगल रहेको उत्तरी जलाधार क्षेत्र र संरक्षित वन रहेको काँक्रेविहार क्षेत्रमा रहेका वन्यजन्तु नै शिकारीले थापेका पासोमा परेर मर्न थालेका हुन्। शिकारीले पासोमा पारेर मार्न थालेपछि जिल्लामा वन्यजन्तु जोगाउनै मुश्किल भइरहेको हो।
केही साताअघि वीरेन्द्रनगर नगरपालिका–४ स्थित उत्तरी जलाधारमा रहेको भैरम सामुदायिक वनमा शिकारीले थापेको पासोमा परेर रतुवा म¥यो। करिव २० किलोको भाले रतुवा पासोमा मरेपछि प्रहरी र स्थानीयले त्यसलाई जंगलमै गाडे। त्यसअघि पनि सोही वन क्षेत्रभित्र तीन वटा रतुवा शिकारीको पासोमा परेका थिए। वर्ष दिनमा आधा दर्जनभन्दा बढी रतुवाहरू सो वन क्षेत्रमा शिकारीले थापेका पासोमै परेर मर्ने गरेका छन्। यस्तै जीवित फेला परेका वन्यजन्तुलाई भने डिभिजन वनले नै उद्धार गरी जंगलमै छोड्ने गरेको छ।
वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रभित्र रतुवा, जरायो र बँदेल पाइन्छन्। भैरम सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष यामकुमारी चालिसेले वर्षमा चार÷पाँचवटा रतुवा शिकारीले थापेको पासोमा मर्ने गरेको बताइन्। उनले भनिन्, ‘सामुदायिक वनमा वन्यजन्तुको संख्या विस्तारै वृद्धि भइरहेको छ, तर हामीलाई शिकारीले पासो कहाँ र कसरी थाप्छन् भन्ने थाहा नै हुँदैन। शिकारीबाट वन्यजन्तु जोगाउनै कठिन भयो, वन्यजन्तु जोगाउनका लागि हामीले बेलाबेलामा वन क्षेत्रमा गस्ती पनि गरिरहेका छौं।’
अघिल्लो वर्ष पनि वीरेन्द्रनगर आसपासका जंगलमा एक दर्जन वन्यजन्तु पासोमा परेको अवस्थामा भेटिएका थिए। डिभिजन वन कार्यालय सुर्खेतका अनुसार उक्त अवधिमा शिकारीले थापेको पासोमा परेको केही वन्यजन्तुको भने जीवितै उद्धार गरिएको छ। शिकारीले नै लगेको हुनसक्ने भएकाले मरेका वन्यजन्तुको संख्या अरू बढी हुनसक्छ। संरक्षित वन क्षेत्र रहेको काँक्रेविहारमा पनि वन्यजन्तु सुरक्षित छैनन्। शिकारीले त्यहाँँ रहेका वन्यजन्तुको पनि चोरीशिकारी गरिरहेका हुन्। चोरीशिकारी हुन थालेपछि यहाँ पनि वन्यजन्तु सुरक्षित छैनन्। वन्यजन्तु असुरक्षित भएपछि केही दिन अघिमात्र काँक्रेविहार क्षेत्रमा वनभोज र होहल्ला गर्न रोक लगाइएको छ।
शिकारीले मारेर लगेका वन्यजन्तुको तथ्यांक भने वन कार्यालयसँग छैन। तर पासोमा परेका कतिपय वन्यजन्तुहरूको भने वन कार्यालयले उद्धार गर्दै आएको छ। गत आर्थिक वर्ष २०८०-०८१ मा मात्र डिभिजन वन कार्यालय सुर्खेतले डेढ दर्जन वन्यजन्तुको उद्धार गरेको छ। सो अवधिमा जिल्लाका विभिन्न जंगलबाट शिकारीले थापेका पासोमा परेका १८ वटा वन्यजन्तुको उद्धार गरिएको हो। कार्यालयका फरेष्टर इच्छा भण्डारीले उद्धार गरिएका मध्ये करिव आधा भने मरेको जानकारी दिइन्। उनका अनुसार जरायो तीन वटा, बँदेल चारवटा, मयुर, कछुवा र भार्से एक-एक वटा तथा रतुवा आठ वटा गरी १८ वटा वन्यजन्तुको उद्धार गरिएको थियो।
बन्दुकबाट शिकार गर्दा आवाज आउने र प्रहरीले थाहा पाउने भएकाले पनि शिकारीले पासो थापेर चोरी–शिकारी गर्ने गरेको पाइएको हो। डिभिजन वन कार्यालयले वन्यजन्तु पासोमा परेर मर्ने गरेको भन्दै संरक्षणमा समस्या भएको जनाएको छ। जंगलमा सवारीसाधनको ठक्करबाट पनि वन्यजन्तु मर्ने गरेको कार्यालयको भनाइ छ। वन्यजन्तु असुरक्षित हुन थालेपछि अब नियमित गश्ती बढाउनुपर्ने वन कार्यालयले जनाएको छ। डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले वन्यजन्तुको चोरी–शिकारी नियन्त्रण गर्न गश्ती बढाउनुपर्ने बताए।