उग्रतारामा दर्शनार्थीको भीडभाड
डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध ‘देहिजात’ नामले परिचित उग्रतारा भगवती मेला सम्पन्न भएको छ। शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार बेलुकी सम्पन्न भएको हो।
यसपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि मेलामा सहभागी भएका थिए। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाको दिन मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउँसोेडी’ भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसोेडी मेला सुरु भएको थियो। शनिबार बेलुका देउरो फर्केसँगै मेला सम्पन्न भएको क्षेत्र विकास समितिले जनाएको छ।
देहिजातका रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। ‘यो वर्ष पनि हजारौंको संख्यामा श्रद्धालु भक्तजनले मेला भरे’, उनले भने।
अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दरडाँडामा महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिर अवस्थित छ। वर्षमा एक पटक लाग्ने मेलामा उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पुरा हुने, शरीरको रक्षा गर्ने र परिवारले सुख पाउने जनविश्वास रहेको छ।