कमलामा भूत होइन, देवीदेवता मेला

कमलामा भूत होइन, देवीदेवता मेला

जनकपुरधाम : मानव सभ्यताको उत्पत्तिस्थल नदी। महाभारत पर्वतको तलो खोचहरू, चूरेहुँदै बग्ने कमला नदी सिन्धुली उदयपुर र धनुषा र सिरहाको माटो भिजाउँदै भारत प्रवेश गरी कमलामा मिसिन्छ। नदी जहिले पनि विनाशकारी र जीवनदायी हुन्छन्। वर्षामा विनाश र सुक्खामा जीवनदायी। वर्षामा गढगढाउने कमला, हिउँदमा शान्त भएर कलकल–कलकल बग्छिन्। र, कमलाको त्यही सुमधुर कलकल बग्ने पानीका चारैतिर ढोल, मृदङ्ग र झ्याल, झामरको संगीतमय कर्तल ध्वनि गुन्जिरहन्छ कात्तिक पूर्णिमामा ! 

‘निचा पंथ उपर परमेश्वर ...’ 
‘गुरु दिनानाथ साक्षी रहिए, सत...’

‘पाप की छय, धर्म की जय, सत...’

‘भगता’ अर्थात गीत गाउने भगतिया (ठेटमा मौलिक भाकामा गीत गाउनेलाई भगैत वा भगतिया भनिन्छ।) कमला किनारमा कात्तिक पूर्णिमाको दिन जताततै यत्रतत्र सर्वत्र देवी देवता खेल्ने गरेको देखियो। घरको कूल देवता अर्थात आफ्नो कूल देवको दैव्य शक्ति शरीरमा प्रवेश गरेका छडिदार अर्थात घर कुल देवताको मुख्य सेवक जसलाई स्थानीय भाषामा ‘पन्थ’ भनिन्छ। 

यस्ता महिला र पुरुष एउटा हातमा आहूत (माटोको ढकीनमा दनदनी बलिरहेको आगो) एउटा हाातमा र अर्को हातमा लठ्ठी अर्थात ‘वेत’ जसलाई स्थानीय भाषामा ‘छडी’ भनिन्छ। त्यही लिएर आफ्नो कूल देवता (जसको जून अराध्य कूल देवी देवता छन्) उसलाई साक्षी राखी हाक–बाक मार्दै ‘हैं–हैं’ (ठूलो स्वरले सिंहनाद गर्दै) कमलामा स्नान गरिरहेको भेटिए। 

दैवीय शक्तिको जोडबलमा आगोले भरिएको अर्घ लिएर नदी किनारमा रात्रिकालमा सम्पूर्ण कूल खादानमा भएका देवीदेउता रिझाउने तथा उनीहरूलाई जगाउने गरिन्छ। मध्यरात समाप्तिपछि कर्ताले डुब मार्ने अर्थात डुबुल्की लगाउने र ंप्राप्त सिद्धि सधैंका लागि स्थायी दिन कमला माता (कमलेश्वरी) लाई साक्षी राखी कमलामा नुहाउने गर्छन्। ‘डुब’ लगाउने अर्थात ‘कर्ता’ नुहाउनेको शरीरमा हुने देवी–देवतालाई स्थायी दिन गुरु ‘दिनकर’ अर्थात चन्द्रमा र सूर्यलाई साक्षी राखी बाचा र कसम खुवाउने पद्धति नै कमला स्नान हो। कमला नदीमा आएर शपथ लिए पश्चात् नव धामीझाँक्रीहरू पाको हुने विश्वास गरिन्छ।

यसरी दैवीय रूपमा साक्षात कूल देवता शरीरमा भएको बेलामा मानिस स्वयम् काम्ने, दैविक कौतुक प्रदर्शन गर्ने, रौद्रता देखाउने, ताण्डव गर्ने साथै कसैको घरमा कूल देवता बिग्रिएको, भुतप्रेतको साया भएको तथा बोक्साबोक्सीले जादू तथा टुनामुना गरेको भए खुलासा पनि गर्छ। त्यसैले यो दिनको कमला जमघटलाई स्थानीयले ‘भूत मेला’ भन्छन तर यो भूत मेला नभई ‘वैदिक र दैवीक’ मेला हो।

महोत्तरी गौशाला नगरपालिका कान्तिबजार कालिपुरका मोहन महतो कोइरीले कात्तिक पूर्णिमाको मेलालाई ‘धामीगुणी’ हरूको ‘सतवैद्य’ मेला भन्ने गरेको सुनाए। उनले भने, ‘प्रेत आत्माहरूलाई ठेगान लगाउने हो र देवीदेवताको बास गराउने दिन कात्तिक पूर्णिमाको दिन हो। ‘सतवैद्य’ अर्थात देवी देवताहरूलाई ‘छडिदार’ को शरीर, मन मष्तिषक र मुख्य धर्ताकर्ता र पुजकका रूपमा शपथ ग्रहण गराउनु हो।’ 

मन्त्रगुण सिकेर वा दैवीशक्ति शरीरमा प्रवेश गरेर काम्न थालेका नयाँ धामीहरूलाई कात्तिक शुक्ल पूर्णिमामा दिन कमला नदीलाई ‘गंगा’ मानेर स्नान गराइन्छ। ‘नयाँ बन्ने धामी (कूल देवताको पूजक वा सेवक) हरूलाई कमला नदीमा प्रात प्रहरमा डुबुल्की मार्न लगाइ पवित्र बनाइ शपथ ग्रहण गराउँछौं,’ धनुषाको बटेश्वर निवासी रामेश्वर महतोले भने, ‘नयाँ सिकारु भगतालाई हामीले मन्त्र सिकाउँछौं। शपथग्रहण गराउँछौं। भगताले सिकेको मन्त्र र प्राप्त गरेको दैवी शक्तिलाई मानव, अन्य प्राणी र समाजको हितमा मात्र प्रयोग गर्न वचनबद्धता गराउँछौं। जसलाई स्थानीय भाषामा सतवैद्य भनिन्छ।’ 

धामीहरूले बेला वखतमा प्रकट भएर मानिसलाई दु:ख दिने मृत प्रेत शक्तिहरूलाई मन्त्रद्वारा बाँधेर ‘कैदी’ बनाइ ल्याउने र कमलामा बगाउने अर्थात ‘भसाउने’ पनि गर्छन््। विभिन्न समयमा मानवालई मृत आत्माले सताएकोलाई कैदी बनाएर ल्याएका र त्यस्ता भुतप्रेत शक्तिहरूलाई कमलामा विसर्जन गरिन्छ। यसो गर्नाले उनीहरू पुन: फर्किएर आँउदैन अर्थात उनीहरूलाई कमलाले बगाएर लैजाने गरेको जनविश्वास रहेको छ। यसरी धामी भन्नाले ‘धर्म गर्ने’ र गुणी भन्नाले ‘गुण लगाउने’ अर्थात कसैलाई मृत आत्माले सताए, उनीहरूलाई धामीगुणीको मार्फत छुटकारा दिलाउने भन्ने बुझिन्छ। 

नयाँ धामीहरूमा पहिल्यैदेखि नै कूल देवताले आफ्नो ‘छडिदार’का रूपमा रोजेर दैवीक शक्ति प्रवेश गरेको घोषणा गराउँछ। यसपछि ती मानिसलाई कुल देवताको मुख्य पात्र अर्थात भक्त जसलाई स्थानीय भाषामा ‘भक्ता’ बनाइन्छ। लठीया बाँसले बनेको लाठ्ठी अर्थात ‘वेत’ लाठी थमाइन्छ। भक्तासँग दुईचार जना अगुवा–पछुवा रहन्छन् जसले नयाँ धामीलाई सम्हाल्छ। ५ देखि १० जनाको भगतिया हुन्छन्। उनीहरूलाई ‘दहिन गवैया’ पनि भनिन्छ। उनको काम हुन्छ दैवीशक्तिको स्तुति गीत गाउने। जसलाई ‘भगैत’ गीत पनि भनिन्छ। भगैत गाएपछि देवता खुशी हुँदै ‘छडिदार’को भगताको शरीरमा प्रवेश गर्छ।

वाद्यवादन हुन्छ मृदङ्ग र झ्याली। भक्ताको हातमा माटोको ढकना हुन्छ। त्यसमा भरभराउँदो आगो हालिएको हुन्छ। आगोमा सालधूप हालिन्छ। भक्ताले आगोको लप्काले भरिएको ढकना हातमा नचाउँदै रौद्रता र ताण्डव नाच नाच्छन्। हैं–हैं को सिंहनाद गर्छन््। कतिपय धामीहरूले अविश्वसनीय र अकल्पनीय कर्तव्य गरी देखाउँछन्। तातो खीर हातले चलाउने, अगेनाको भुंग्रोमा हात हाल्ने, आगोमाथि हिँडेर देखाउने जस्ता दृश्यले सर्वसाधारण दर्शनार्थीहरूको आङ सिरिङ्ग हुन्छ।

कात्तिक महिनालाई नदी स्नानको महिना भन्छ। सक्नेले गंगा पुगेर स्नान गर्छन््, नसक्नेले कमला, कोशी वा नजिकको कुनै नदीमा गंगाकमल स्नान कोशी स्नान गर्छन््। कात्तिक पूर्णिमाको दिन जुनसुकै नदीलाई गंगा मानेर स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास छ। त्यसैले कमला नदीमा धनुषा र सिरहाको सबै घाटमा ठूलो भीड लागेको छ। नदीमा स्नान गर्नेहरूको पनि भीड असंख्य हुन्छ।

सिरहाका धामी गंगा मण्डल भन्छन्, ‘हरेक वर्ष कमला स्नान गरेपछि हामी नयाँ शक्ति प्राप्त गर्छौ। हाम्रो मन्त्र प्रभावी हुन्छ। रोग व्याधि निको हुन्छ। भूत प्रेतबाट समस्या भोग्नेहरूलाई ल्याएर निको पार्छौं। कमला, गंगा, कोशीमा स्नान गर्दा पापबाट मुक्ति पाइन्छ।’ साथै कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता (जसको जीउमाथि प्रथमपटक देवताको गात) स्थायी हुने र भगताको गुण तन्त्र शक्ति चल्ने विश्वास धामी झाँक्रीको छ।

संस्कृतिवद् तथा जानकार डा. राजेन्द्र प्रसाद विमलले केही अध्यात्मवादी भूत मेलालाई तन्त्र विद्यालयमाथि आधारित आध्यात्मिक मेलाको संज्ञा दिन्छन् भने भौतिकवादी भने भूत मेलालाई पाखण्डको संज्ञा दिने गरेको सुनाउँछन्। उनी भन्छन्, ‘भूतप्रेत धामी झाँक्री भनेको रुढीवादीको नमूना हो। चलाख ध्रुत व्यक्ति ‘धामीगुणी’ द्वारा सामाजिक प्रतिष्ठा र धन कमाउन सुरु गरिएको आयोजना हो भन्छन्। तर, कमला नदीमा देखिने यस्ता सामूहिक क्रियाकलापलाई टेलिप्याथी उपचार पद्धति हो। यस पद्धतिको मनोविज्ञानसँग गहिरो सम्बन्ध हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.