उम्मेदवार भोट माग्दै, मतदाता धान थन्क्याउँदै

उम्मेदवार भोट माग्दै, मतदाता धान थन्क्याउँदै
धान काट्दै गरेका मतदातासँग खेतमै पुगेर भोट माग्दै एमाले उम्मेदवार तुलसीराम विश्वास । तस्बिर : किशोर बुढाथोकी।

विराटनगर  : मोरङको ग्रामथान गाउँपालिका–२ का ६१ वर्षीय मंगलु सरदारलाई यतिबेला पाकेको धान थन्क्याउन भ्याइनभ्याइ छ । 

उनी प्रत्येक दिन परिवारका सदस्यसहित खेतमा पुग्छन् । दिनभर धान काटेर फर्कन्छन् । केही दिनयता उनको दैनिकी यसरी नै बितिरहेको छ । गाउँमा चुनाव आउँदैछ गरेको कुरा पनि थाहा छ । तर, त्यो चुनावले उनलाई छुन सकेको छैन । 

चुनावभन्दा पनि वर्षभरि खाने धान थन्क्याउने चिन्ता उनलाई छ । ‘चुनाव त लाग्यो । तर, हामीलाई धान थन्क्याउने चटारो छ । पाकेको थान बेलैमा काटेन भने थन्क्याउन पाइँदैन कि भन्ने तनाव हुन्छ । चरा र मुसाले सक्न लाग्यो । मौसमले साथ दिएन भने हाम्रो त बिल्लीबाठ हुन्छ । काम छाडेर चुनावमा जाने सम्भावना छैन,’ उनले भने । 

अर्कोतर्फ दिन धुम्म हुन थालेकाले पनि धान थन्क्याउन पाइँदैन कि भन्ने पिरलो रहेको मंगलु सुनाउँछन् । ‘दिन धुम्म हुँदैछ । केही दिनदेखि राम्ररी घाम लागेको छैन । खेतभरि धान काटेर छाडेका छौं । पानी प¥यो भने सबै भिजाइदिन्छ । हाम्रो मेहनत त्यत्तिकै खेर जान्छ । अहिले अरू कुरालाई वास्ता नगरिकन धान थन्क्याउनु छ,’ उनी भन्छन् । 

ग्रामथानकै ठकनीदेवी सरदारलाई पनि पाकेको धान थन्क्याउने हतारो छ । ‘हुन त हाम्रै जनप्रतिनिधि छान्नुपर्ने हो । राम्रो मान्छेलाई जनप्रतिनिधि बनाउनुपर्छ भन्ने लाग्छ । चुनाव लागिसक्यो । तर, धान थन्क्याउने हतारोले अरू कुरामा ध्यान दिन पाएकै छैन,’ उनले भनिन् । 

धान नथन्क्याएसम्म अरू कुरामा ध्यान दिन नसकिने उनले बताइन्् । ठकनीदेवी आफ्नो र गाउँको पीडा बुझिदिने नेताले चुनाव जितोस् भन्ने पक्षमा छिन् । वर्षा भयो भने पाकेको बालीलाई नोक्सान पु¥याउने डरले आकाश हेर्दै धान भित्राउनुपर्ने हतारोा आफूहरू रहेको उनले बताइन्् । उनका अनुसार उम्मेदवार भोट माग्न खेतमै आइरहेका छन् । 

मंगलु र ठकनीदेवी मात्रै हैन, ग्रामथानका किसान अहिले धान बाली भित्राउन निक्कै व्यस्त छन् । गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । चुनाव नजिकिँदै जाँदा उम्मेदवारलाई भने भोट माग्ने चटारो छ । तर, मतदातालाई भने बाली थन्क्याउने हतारो छ । मौसम प्रतिकूल भइदियो भने वर्ष दिनभरि खाने धान स्वाहा हुन्छभन्ने चिन्ता उनीहरू छन् । कृषकको अहिले मानो खाएर मुरी भित्राउने मुख्य सिजन हो । त्यसैले धेरैजसो मतदाता खेतमै व्यस्त छन् । खेतबारीमा व्यस्त किसानहरू अब चुनाव जित्नेले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँछन् । 

गाउँमै रोजगारीको सिर्जना गर्नेदेखि स्थानीयका पिरमर्का र गाउँका समस्या बुझिदिने व्यक्तिले चुनाव जित्नुपर्ने ग्रामथानको नेता चोकका गणेश कार्कीले बताए बताए । उनका अनुसार पछिल्लो समय नेताहरू अनेक अनियमिततामा मुछिने गरेका छन् । तर, अबको निर्वाचनबाट गाउँको समस्या बुझिदिने र असल नेता चुनिनुपर्ने कार्की बताउँछन् । समाज र जनताका लागि काम गर्ने नेताको खाँचो रहेको उनको भनाइ छ । ‘अब नागरिक सचेत भइसकेका छन् । जसले काम गर्न सक्छ, जसको भिजन छ, उसैलाई मत दिने हो । अब भाषण सुनेर भोट हाल्ने जमाना गए,’ कार्की भन्छन् । ग्रामथानमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्ती–बस्ती र कृषकका खेतबारीमा पुगिरहेका छन् । 

उम्मेदवार तथा नेता कार्यकर्ताले प्रचार सामग्रीसहित खेतमै पुगेर भोट माग्ने गरेका हुन् । ग्रामथान किसानहरूको बसोबास बढी भएको पालिका हो । कामको मुख्य याम भएकाले यतिबेला कृषकलाई पाकेको धान थन्क्याउन भ्याइ नभ्याइ हुनु स्वभाविक नै हो । 

उम्मेदवार भने आआफ्नो एजेन्डासहित मतदातालाई फकाउन व्यस्त छन् । खेतमै पुगेर मत दिँदै आफूलाई जिताउन आग्रह गर्छन्् । खेतमै पुगेर भोट माग्नेमध्येका एक हुन् नेकपा (एमाले)बाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार तुलसीराम विश्वास । 

एमाले ग्रामथानको उपाध्यक्षसमेत रहेका उनले चुनाव लक्षित घरदैलोलाई तीव्र पारेका छन् । त्यस क्रममा शनिबार खेतमै पुगेर भोट मागिरहेको भेटिए । ‘चुनाव आइसकेकाले घरदैलोमा व्यस्त छु । हाम्रो गाउँपालिकामा कृषि पेशामा आवद्ध भएकाहरूको बसोबास धेरै छ,’ विश्वासले भने, ‘कामको पनि सिजन भएकाले अधिकांश मतदाता खेतबारीमै भेटिन्छन् । आफ्नो एजेन्डासहित खेतमै पुगेर भोट माग्ने गरेको छु । मतदातालाई विश्वासमा लिइरहेको छु ।’ 

चुनावी अभियानका क्रममा आफूले मतदाताको समस्या नजिकबाट नियाल्न पाएको उनले सुनाए । ‘यहाँका कृषकले सधैंं बिउ, मलदेखि सिँचाइसम्मका समस्या भोगिरहेका छन् । शिक्षादेखि स्वास्थ्यका समस्या त छँदै छन् । मैले चुनाव जितेपछि सबै समस्याको समाधान गर्नेगरी काम गर्छु । नयाँ ढंगले जनताका पक्षमा काम गर्ने योजना बनाएको छु । कृषकको पीडा मैले नजिकबाट बुझेको छु,’ विश्वासले भने । 

ग्रामथानको अध्यक्षका लागि एमालेबाट तुलसीराम विश्वाससहित नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), नेकपा (एकीकृत समाजवादी)बाट दिलबहादुर विक उम्मेदवार छन् । 

उनीहरू आ–आफ्नो एजेन्डासहित चुनावी मैदानमा होमिएका छन् । उनीहरू सबै ग्रामथानमा भिजेका उम्मेदवारहरू हुन् ।  ग्रामथानमा उपनिर्वाचनका लागि १३ हजार ४१ म्हिलासहित २६ हजार ४४ मतदाता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.