चिया घिचिस्यो

भाषा र संस्कृति कुनै पनि जातिलाई अक्षुण राख्ने कडी हुन्। यी संकटमा परे भने जाति नै मासिन्छ।

चिया घिचिस्यो

अमेरिका बस्ने एक नेपाली मित्रले १४ वर्षकी छोरीलाई चिया पकाउन अह्राएछन्। छोरीले सकेको मेहनत गरेर चिया बनाइन्। लिएर आइन्। र, हातमा दिँदै आदरपूर्वक भनिछन्, ‘बाबा, चिया घिचिस्यो।’

काम लगाएकामा छोरीलाई झाँक् चलेको होइन, भाषामा ढंग नपुगेको हो। एक महिनाअघि भर्जिनियामा भेटिएका उनले ‘नयाँ पुस्तामा नेपाली भाषा’ माथि चिन्ता जनाउँदै आफ्नै घरको कथा सुनाए। विद्यालयमा अंग्रेजी, बाहिर निस्कियो अंग्रेजी, कतिपयको त घरमा पनि अंग्रेजी। नेपाली बोल्ने परिवारमा समेत बालबालिकालाई ‘यो भाषा पनि चाहिन्छ’ भन्ने हेक्का राखिन्न। फलतः नयाँ पुस्तामा नेपाली भाषासँग सँगै संस्कृति खिइँदै, मर्दै गएको छ।

ती मित्रले आफ्नै छोरीको भाषामाथि अनुसन्धान गरेछन्। उनकी श्रीमती घरमा अति आदरार्थी ‘स्यो’ प्रयोग गर्छिन्। कहिलेकाहीँ ठुस्किएर, कहिले जिस्किएर घिचिस्यो पनि भनिन् होला। छोरीले त्यही शब्द कण्ठ पारेकी रहिछन्। नेपाली भाषाको शब्दभण्डार कम भएकी छोरीलाई त्यही शब्द मीठो र पर्याप्त लाग्यो। अनि, भनिदिइछन्– ‘बाबा, चिया घिचिस्यो।’ 

नेपाली को ? भाषा कसको ? 

अमेरिकाकै नेब्रास्कामा एक सौखिन गायक भेटिए। पेसा गायन होइन। कतै गएर संगीतको ‘स’ सम्म सिकेका छैनन्। साधनाको ‘स’ पनि गर्दैनन्। स्वर भने व्यावसायिक प्रख्यात गायकको भन्दा कम सुमधुर छैन। शब्द शिद्धहस्त लेखकको भन्दा निर्गतिलो छैन। संगीत हरपल साधना गर्नेको भन्दा फितलो छैन। 

‘उहाँ गीत पनि गाउनुहुन्छ’, गाडीका सहयात्री कर्ण र भीम गुरुङले सुनाए। 

‘खै सुनौं न त’, मैले चाहना राखेँ। 

उनले रेकर्ड गरिएका आफ्ना केही गीत गाडीमै बजाए। 

म अमूक बनेँ। उनको स्वर, संगीत र शब्द तीनवटै प्रतिभाको तागतबाट। 

त्यसभन्दा धेरै तब म भावमय बनेँ, जब उनको गीत सामाजिक सञ्जालको बाटो हुँदै मेरो मोबाइलमा आइपुग्यो। मैले सुरुमा राष्ट्रिय गीतको अडियो खोलेँ। शब्दले भन्थ्यो– 

म जहाँ गए पनि म जहाँ भए पनि
मेरो देश सबैभन्दा माथि छ
विश्वको कुनामा भए पनि
मरुभूमिको प्यासी बने पनि
मेरो देश मभित्र बाँचेको छ
मेरो देश मभित्र हाँसेको छ 

त्यो देश कुन हो ? उनलाई जन्माएर लखेट्ने भूटान ? कि नागरिकता दिएर उद्यमशील बनाउने अमेरिका ? वा शरण दिएर दुई दशक राख्ने नेपाल ? गीतभरि नाम थिएन। तर, अडियोको पृष्ठभूमिमा एउटा झन्डा गौरवसाथ फहराइरहेको थियो। त्यो थियो– चन्द्र–सूर्य अंकित नेपालको। र, हाम्रो देशलाई आफूभित्र हँसाएर राखेका, सबैभन्दा माथि स्थान दिएका उनी थिए– खड्क गजमेर। 

पुर्खाको थलो नेपाल भए पनि जन्म उनको भूटानमा भयो। शरणार्थी बनेर शिविरमा बसे। पुनर्वासको डोरी समाएर अमेरिका पुगे। विभिन्न देशका नागरिक बनेका उनीजस्ता लाखौंलाख व्यक्ति छातीभित्र नेपालको अमिट माया र आस्था बोकेर बसेका छन्। नेपाली भाषा–साहित्य, संस्कृति जोगाउन उनीहरूको योगदान कहिनसक्नु छ। उसो भए खल्तीमा नागरिकता बोकेर हिँड्ने मात्र नेपाली हुन् कि नेपालीत्वको अगाध भावना मनभरि बोकेर विश्वका कुना–कुना भौतारिने पनि नेपाली हुन् ? 

उदाहरणका लागि हेरौं भूटानी समुदायलाई नै। डेन्जोम साम्पाङ अमेरिकाबाट हालै नेपाल आएर विश्व नेपाली साहित्य महासंघको बृहत् साहित्यिक विश्व सम्मेलन तयारीमा करिब १५ दिन खटे। उनी उक्त संस्थाका उपाध्यक्ष हुन्। नेपाली भाषा, साहित्य र संस्कृतिको सम्बद्र्धन र प्रबद्र्धनमा उनी जहाँसुकै पुगिरहेका हुन्छन्। 

ग्लोबल भुटानिज लिटररी अर्गनाइजेसन (जीबीएलओ) का अध्यक्ष कर्ण गुरुङ हुन् वा भुटनिज अमेरिकन म्युजिक एसोसिएसनका सचिव खेम रिजाल किन नहुन्, नेपाली साहित्य, संगीत र संस्कृतिको उजागरमा सधैं हस्याङफस्याङ गरिरहेका हुन्छन्। साथमै हुन्छन् भीम गुरुङ, पातलो अन्तरे, शेखर कोइरालालगायत। 

नेपाली भाषा र संस्कृति त्याग्न नसक्ने अडान राखेकै मुख्य कारण भूटानीहरू देशबाट लखेटिए। २० वर्ष नेपालमा टहरे शिविरमा गुजारा गरे। अनेक दुःख–कष्ट सहेर पनि धेरैले आफ्ना सन्तालाई सिक्किम–दार्जिलिङतिरका स्कुलमा पढाए। त्यसरी पढेर, बढेर पुनर्वासमा अमेरिका पुगेका युवा पुस्ताको प्रमुख चिन्ता देखिन्छ– नेपाली भाषालाई पुस्तौंपुस्ता कसरी बचाउने ? 

भाषा र संस्कृति कुनै पनि जातिलाई अक्षुण राख्ने कडी हुन्। यी संकटमा परे भने जाति नै मासिन्छ। त्यही भएर, खासगरी प्रवास र नयाँ पुस्तामा नेपाली भाषा र संस्कृति कसरी जोगाउने भन्ने गम्भीर चासो छ। त्यसका लागि भाषा, साहित्य र संस्कृति क्षेत्रमा क्रियाशील जुनसुकै देशबाट, जुनसुकै देश पुगेका नेपाली मरिमेटेर लागेका छन्। नेपालबाट गएका नेपाली मात्र होइन, अन्य देशबाट गएका नेपाली पनि त्यसमा उत्तिकै चिन्तित छन्। 

अझ प्रस्टै भन्नु पर्दा, नेपालीभन्दा भूटानी पृष्ठभूमिबाट अमेरिका पुगेकाहरूमा हाम्रो भाषाप्रतिको अगाध आस्था पाइन्छ। त्यसका अर्का उदाहरण हुन्– डिल्ली अघिकारी। उनी पनि भूटानबाटै लखेटिएकामध्ये हुन्। उनले इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन) नामक संस्था खोलेका छन्। नेपालीत्व एवं नेपाली जातिलाई जोगाउन भाषा र संस्कृति बचाउनुपर्छ भन्ने उनको अभियान छ। प्रवासको यो ज्यादै कठिन कामलाई उनले हार्दिकतापूर्वक अंगालेका छन्। 

विदेशमा रहेको नयाँ पुस्तामा नेपाली भाषाको औचित्य देखाउन गाह्रो छ। ‘हामी किन सिक्ने ? कहाँ प्रयोग गर्ने ? यसले के गर्छ ? ’ जस्ता प्रश्न सोध्छन् बालबालिका। अनि, तिनलाई भाषा सिकाउने सजिलो उपाय खोजे अधिकारीले। त्यसकै लागि उनले इन्ट्रा फाउन्डेसनअन्तर्गन अमेरिकाका विभिन्न सहरमा ७ वटा स्कुल चलाएका छन्। ती स्कुलमा गायन र नृत्यका कक्षा हुन्छन्। नेपाली गीत गाउँदा वा त्यसमा नाच्दा नेपाली भाषा प्रयोग गर्नैपर्ने हुन्छ। यस बाटोबाट नेपाली समुदायका बालबालिकाले क्रमशः भाषा सिक्दै गएको उनको अनुभूति छ। 

उनका स्कुलमा हाल ११ सय हाराहारीमा नेपाली बालबालिका गीत–संगीत र नृत्य सिक्छन्। इन्ट्रा फाउन्डेसनले नै मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स आयोजना गरिसक्यो। त्यसमा बर्मा, थाइल्यान्डदेखिका नेपालीसमेत सहभागी भएका थिए। 

जोगाऔं सांस्कृतिक साम्राज्यवादबाट 

साम्राज्यवाद राजनीतिमा मात्र हुन्न, संस्कृतिमा पनि हुन्छ। अर्काको सीमा मिच्दै शासनको दायरा बढाउनु राजनीतिक साम्राज्यवाद हो। साना समुदायका संस्कृतिलाई ठूला र शक्तिशालीका संस्कृतिले विस्थापन गर्दै लैजानु सांस्कृतिक साम्राज्यवाद हो। 

विदेशमा भाषा–संस्कृति जोगाउने चिन्ता एकातिर छ, देशभित्रै साम्राज्यवादको कोपभाजनमा पर्ने जोखिम अर्कातिर छ। ठूला देशका भाषा÷संस्कृति विभिन्न मिडियामार्फत् भित्रिन्छन्। तिनले जनमनमा प्रभाव जमाउँदै लैजान्छन्। र, विस्तारै रैथानेलाई बिर्साइदिन्छन्। यो जोखिमबाट देशलाई बेलैमा जोगाउन सक्नुपर्छ। 

अन्त्यमा, प्रख्यात नारीवादी लेखिका रीता मे ब्राउनले भनेकी छन्, ‘भाषा संस्कृतिको रोडम्याप हो, जसले मानिसहरू कहाँबाट आएका हुन् र कता गइरहेका छन् भन्ने दर्शाउँछ।

त्यो रोडम्यापै भत्कियो भने ? न कताबाट आएको थाहा हुन्छ, न कता गइरहेको छुट्टिन्छ। हाम्रो पहिचान कतै यस्तै बिन्दुमा त पुग्दैन ? सोचौं बेलैमा। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.