उजाडिएको बीपी राजमार्ग, कहिले फर्किएला पुरानै अवस्थामा ?

उजाडिएको बीपी राजमार्ग, कहिले फर्किएला पुरानै अवस्थामा ?

काठमाडौं : छठ पर्व सकियो। जन्मथलो बर्दिबासबाट कर्मथलो काठमाडौं फकिर्नै पर्ने थियो। कात्तिक २५ गते, बिहान ७ बजे काठमाडौंको यात्रा तय गरियो। मोटरसाइकल हुँइक्याए। भाइ मनोज सिंह मोटरसाइकलको पछाडि बसेँ। भिमान, सिन्धुली, खनियाखर्क हुँदै खुर्कोट आइपुगियो, बिहानको १० बजे। 

सुनकोशीको किनारमा छ खुर्कोट बजार। सुनकोसीको माछाको स्वादसँगै खाना खाइयो। अनि, लागियो– नेपालथोक—चौकीडाँडा। मनमा डर थियो, बिग्रेको बाटो कसरी पार गर्ने होला ? किनभने, यही बाटोको कष्टकर यात्रा पार गरेर तिहार मनाउन गाउँ गइएको थियो। त्यस बेलाका कष्ट र दुःख त भनिसाध्य छैन। तर, बाटो केही सुधार भएको होला भन्ने अपेक्षासहित अघि बढियो। जब, अघि बढियो, धुलोको मुस्लो उड्यो। अघि–अघि ठूलो गाडी पर्‍यो कि, अन्धकारमा छामछुम गरेजस्तै अघि बढ्नुपर्ने बाध्यता। असोजको भीषण वर्षाले पहाड बगाएर सडकमै धुलोमाटो थुप्रिएको थियो। त्यही हिलो कुल्चिदै दैनिक हजारौं गाडी आवातजावत गरिरहन्छन्। सडकमा थुप्रिएको पहिरो नउठेकाले गाडी कुद्यो कि धुलोको कुहिरोले ढाक्थ्यो। अनुहार र शरीर त पूरै सेतै। धुलोको कुहिरो छल्दै मूलकोट बजार पुगियो। रोशीको बाढीले मच्चाएको बितण्डा देखियो। जहाँ, स्कुल, घर, पसल, रिसोर्ट सबै बाढीले पुरिएका थिए। बजारको नामोनिसान थिएन। उराठलाग्दो दृश्यले मन कटक्क खायो। मध्यान्हको १२ बजिसकेको थियो। फेरि पनि, अघि बढ्ने कि, घरतिरै फर्किने भन्ने दोधारमा मन थियो। तर पनि, भाइ मनोजलाई जसरी पनि बनेपा पुग्नै पर्ने थियो। त्यसैकारण जोखिमै मोलेरै भए पनि अघि बढ्ने निष्कर्षमा पुगियो। 

बिस्तारै अघि बढ्दै थियौ, रोशीले पूरै सडक बगाएको ठाउँमा आइपुग्यौ। जुन स्थान हो नेपालथोक। जहाँबाट सुरु हुन्छ, जोखिमपूर्ण यात्रा। योभन्दा अघिको बाटो पूरै बिग्रेको छ, खोलाको बगरबाट गाडी गुडिरहेका छन्। माथि पहिरोको डर, तल छैन रोशीको भर सडकमाथि अग्लो पहाड। तल, गहिरो रोशी खोला। हेर्दै डर लाग्दो। खोल्सा जस्तो लाग्ने रोशी खोलाले रौद्ररुप देखाएको थियो। जसले राजमार्गको यात्रालाई जोखिमपूर्ण बनाइदियो। हिम्मत कस्यौं, मोटरसाइकल कच्चीबाटो हुँदै रोशी खोलाको बगरतिर तेस्र्याए। चिल्लो बाटोमा बेजोडले हुँइकिने हाइस गाडीहरू बगरमा उफिँ्रदै, घर्संदै अघि बढ्दै थिए। बाटो यस्तो थियो कि, ठूला—ठूला पत्थरहरूमाथिबाटै वैकल्पिक बाटो। बाटोमा राखिएको ग्राबेल बीचको भाग छोडेर दायाँबायाँ ढिस्का भइसकेका थिए। दसैंमा पिङ खेलेको जस्तो थच्चिदै मच्चिदै यात्रा अघि बढ्नु थियो। कति गाडी बाटैमा बिग्रिएर थन्किएका थिए। कति गाडी उकालो चढ्नै सकिरहेका थिएनन्। कतै उकालो, त कतै ओरालो। कतै हिलो कतै मैलो। त्यसमाथि पहिरो जोखिमको त्रास उस्तै। 

धुलाम्य सडकले पढाइ प्रभावित

जतिसुकै कष्ट भए पनि, गन्तव्यमा अघि बढिरह्यौं। मंगलटार पुगेपछि अर्को दूरावस्था देखियो। रोशी—९ स्थित मंगलटारको मंगल जनविजय माध्यमिक विद्यालयका विद्यार्थीहरू खेल्दै थिए। बाढीको भेल विद्यालयमा पसेको थियो। क्याम्पसको एकतले भवन पुरेको थियो। शिक्षक राजेन्द्रप्रसाद अधिकारीले बाढीले दिएका दुःख बिसाए। धुलाम्य सडकले पठनपाठनमा पारेका समस्या पोखे। शिक्षक, अभिभावक, विद्यार्थी मिलेर बाढीले थुपारेको बालुवा, माटो हटाएर भर्खरै मात्र विद्यालय सञ्चालन गरिएको थियो। तर, विद्यालयमा उत्साह भने थिएन।

शिक्षक अधिकारीले भने, ‘भीषण बाढी आयो। सडक, बस्ती, विद्यालय, विद्युत्का पोल सबै बगायो। विकासका सबै पूर्वाधार क्षतविक्षत भए। खै, कसरी यहाँका जनता बाच्ने होलान्, ? कसरी पहिला जस्तो सडक चिल्लो होला ? कसरी धुलो उड्न छोडला ?’ किन बाढीले बगायो बीपी राजमार्ग ? 

रोशीको छेउै छेउ यात्रा गर्दै गर्दा वन तथा वातावरण विज्ञ डा. नागेन्द्र यादवले सुनाएको वातावरणीय प्रभावसम्बन्धी विषय झल्झली याद आयो। उनले भनेका थिए, ‘रोशी खोला वरिपरिका पहाड क्रसर माफियाले अवैध उत्खन्न गरेर कमजोर बनाएका छन्। एक त २०७२ सालको महाभूकम्पले हल्लाएर भूबनोट खलबलाएको छ। यसैले कुनै पनि बेला त्यो क्षेत्रमा ठूलै क्षति नहोला भन्न सकिन्न। अन्धाधुन्ध डोजरे विकासले वातावरणीय असन्तुलनमा मलजल गर्‍यो। वातावरणीय अध्ययन गरेर मात्रै विकासका संरचना निर्माण गर्नुपर्ने उनको भनाइ थियो। 

सडक बगायो, आम्दानी घट्यो

रोशी खोलानजिकै बस्दै आएकी नार्केकी माया योञ्जनको जीवन राजमार्गसँग जोडिएको छ। ९ वर्षदेखि खोला किनारमै बसेर चिया, चटपटे बिक्री सुरु गरेकी थिइन्। व्यवसायबाट राम्रै कमाई भयो। दुई वर्षअघि दुईवटा पसल सञ्चालन गरिन्। असोजको बाढीले घर अगाडीको राजमार्ग मात्रै बगाएन, हेर्दा हेर्दै दुवै पसल ध्वस्त बनायो। अनि, उनलाई पुनः सडकमै पुर्‍यायो। तर, हिम्मत हारिनन, ठेला राखेर पुरानै व्यवसाय सुरु गरेकी छिन्। 

‘दसैं आउनै लागेको थियो। पाँच÷६ लाख जतिको सामान राखेकी थिएँ,’ उनले दुःखेसो पोखिन, राति खोला उर्लेर आयो, सबै बगायो।’ हिँड्ने सड्क पनि बगाएको सुनाउँदै उनले थपिन्, ‘अब के गर्ने ? फेरि खोलामै ठेला राखेकी छु। बाढी कसरी आयो, आयो, केही भन्न सकिएन। आइ त हाल्यो, रोक्न सक्ने कुरा भएन।’ सडक बिग्रिएकाले पहिला जस्तो गाडी अहिले गुड्दैनन। उनीसँगै रहेकी स्थानीय ७० वर्षीया कान्छी तामाङले भनिन्, ‘०२८ सालमा पनि यस्तै बाढी आएको थियो।’ अहिले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको छ। त्यसैकारण होटल, पसल लगायतको व्यापार पनि घटेको छ।

घन्टौंको जामले वाक्क 

रोशी गाउँपालिकाको कटुञ्जेबेसीमा आइपुग्यौं। तीन बजिसकेको थियो। त्यहाँ गाडीको लाइन लागेको थियो। कटुञ्जेबेंसीको नेपाली खाना तथा खाजा घरको अघिल्तिर जाममा फँस्यौ। चौकीडाँडामा भीरको बाटो पनि बाढीले बगाएको थियो। त्यही भएर गाडी वारपार गर्न निकै समस्या भइरहेको थियो। 

क्रसर र डोजरे विकासले नाश कटुञ्जेबेंसीका स्थानीयको अनुभव र भोगाइ सुन्यौ। वातावरणविद् डा. यादवको भनाइसँग ठ्याक्कै मिल्यो। रोशी खोलाको दोहन, अतिक्रमले बीपी राजमार्ग बगाएको स्थानीयले घटनाका वृत्तान्तहरू सुनाए। स्थानीय तेजकुमार श्रेष्ठले अविरल वर्षाले जनको क्षति नभए पनि धनको धेरै क्षति भएको बताए। बाढीले आउजाउ गर्ने सडक मात्रै बगाएन। उनी जस्ता किसानको अन्न फल्ने खेत पनि रोशीको बाढीले सखाप पार्‍यो। 

रोशी बाँचे बीपीको सपना बाँच्छ, अनि मात्रै राजमार्गमा गाडी गुड्छन्। पानी र खानी दुवै एकै ठाउँमा रहन सक्दैन। – कुवेर गौतम, कटुञ्जेबेंसी

क्रसरवालाहरूको ज्यादती अनि डोजरे विकास नै सडक बगाउनुका मुख्य कारण भएको उनले बताए। ‘क्रसरवालाहरूका कारण ठूलो क्षति भयो। हेर्दाखेरि हो जस्तो पनि लाग्छ,’ उनले भने, ‘जताततै क्रसर खानी बनाइए। खानीको माटो खोलामा थुपारे। पनौतीदेखि बाढीले बगाउँदै ल्याउँदै रोशी खोला पुरिँदै गयो। अनि बाढीले बहाब बदल्यो। तहसै नहस गर्‍यो।’

अवैध खानी किन चलाइए त ? उनको जवाफ थियो, ‘प्रहरी—प्रशासन सबै मिलेका छन्। सानातिना त पैसामा मिल्छन् ठूलाको कुरै छोडौं। नेपालको कानुन यस्तै हो...!’ 

 अर्कोतिर डोजरले जथाभावी बाटो खन्दा पहिरो गएर खोला थुनियो। त्यसले पनि ठूलो क्षति पुर्‍यायो। उनले दुःख पोखे, ‘न हिँड्ने बाटो रह्यो। न गाउँलेका घर सद्दे रहे। गरिखाने ठाउँ छैन। २ रोपनी खेत बगायो। १८—२० मुरी धान फल्थ्यो। अब कसरी पाल्ने परिवार ?’ सरकारले सडक त बनाउला, तर पीडितले के कसरी राहत पाउलान भन्ने अन्योलामा उनि थिए। चार जना गाउँले बसिरहेका होटल अगाडि हामी पुगेका थियौं। अनि त्यहाँ त हाम्रो प्रश्नले बहस नै सुरु भएको जस्तो भयो। उदय नारायण गौतमले आफ्नो अनुभूति सुनाए। उनले भने, ‘मेरो जन्म २०१४ सालमा भएको हो। मैले रोशी खोलोमा ०२८ सालमा आएको ठूलो बााढी देखेको थिए। त्यसले दिएको दुःख धेरै समय झेल्नुपर्‍यो।’

उनले एकैसासमा भने, ‘०५२ सालमा सुरु भएको माओवादीको सशस्त्र युद्धले १० वर्ष त्राहीत्राही बनायो। ०७२ मा भुइँचालो आयो। ०७६ को कोरोना भन्ने के–के जाति महामारी आयो। घरमै थुनिनुपर्‍यो अहिले बाढी आएर हामीलाई दुःखै दुःख दिएर गयो। न सडक रह्यो न त गाउँका फाँटहरू। यो खोलाको पनि के ताल हो के ताल ? बुझ्नै सकिन्। क्रसरवालाहरूले खोलालाई जिस्काएर यो सबथोक भएको जस्तो छ है मेरो विचारमा।’

‘रोशमती गंगा’ बचाउन अभियानको माग

जाम खुल्यो। घडीमा चार बजेको थियो। अघि बढन खोज्यौ। कटुञ्जेका स्थानीय कुवेर गौतम हात समातेर रोशी खोला देखाउन लगे। बाढीले पुरेका धानका फाँटबाट रोशीको इतिहास सुनाए,—रोशी खोलाको बाढीले ५३ वर्षपछि विकराल रूप लियो। आकाशबाट परेको पानी मात्रै होइन्। अव्यवस्थित विकास र विकास माथि चलाएका अवैध खानीहरू यसका कारण हुन्। रोशीको शिरदेखि पाउसम्म अधिकांश सडक फैलिएको छ। बाढीले खेत बगाउँदा खाद्यस्टोर र भण्डारहरू नस्ट भए। देशलाई जोड्ने सडक खोलो बन्यो। माननीयहरू संसद्मा बोल्दैनन्। सडक क्षतविक्षत हुँदा र तरकारीखेतहरू बगाउँदा काठमाडौंमा तरकारी महँगिएको छ। यो बढ्दै जाने छ। यो सब रोशी माथि अन्याय, अत्याचार गर्दाको फल हो।’

रोशी खोला वरिपरिका पहाड क्रसर माफियाले अवैध उत्खन्न गरेर कमजोर बनाए । ०७२ सालको महाभूकम्पले हल्लाएर भूबनोट खल्बलियो । त्यही भएर क्षति भयो । – नागेन्द्र यादव, वातावरणविद्

रोशी खोला होइन। रोशमती गंगा हुन्। जतिखेर गंगा ल्याउनका लागि राजा सगर, उनका छोरा दिलिप हुँदै भगीरथले प्रयास गरेका थिए। गंगा आउनुभन्दा पहिला रोशमती गंगा आएको हिमवत् खण्डमा उल्लेख छ। पछिल्लो समय यो कुरा भुलेका छन्। रोशी बौलायो भने बिहारसम्मलाई हिर्काउँछ। रोशी विशाल नदी हुन्। जतिखेर बीपी जिप चढेर हिँड्थें त्यो बेला पनि रोड बगाएको थियो। २०२८ सालको प्राकृतिक प्रकोपले बगाएपछि बीपी राजमार्गको परिकल्पना गरिएको उनले वेलिविस्तार लगाए। रोशीको इतिहास सुनाउँदा उनी भावुक बनेका थिए। किन भने अहिले रोशी सभ्यतामाथि क्रसरमाफियाले आतंक मच्चाएका छन्।

‘रोशमती गंगा बचाउ अभियानलाई अगाडि बढाउनुपर्छ। यो हाम्रो सभ्यता हो। भर्खर जन्मेको शिशुलाई पनि रोशीको पानीमा नुहाइन्छ, मृत्यु हुँदा चित्ता पखाल्ने काम गरिन्छ’, गौतमले सुनाए, ‘रोशी बाँचे बीपीको सपना बाँच्छ, अनि मात्रै राजमार्गमा गाडी गुड्छन्।’

रोशी खोला अवसर र चुनौती दुवै हुन्। अवसरका रूपमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोशी बचाउन उनले माग गरे। ‘पानी र खानी दुवै एकै ठाउँमा रहन सक्दैन। तर, यहाँ पानी र खानी एकै ठाउँमा भए। नेताहरू नीतिगत रूपमा भ्रष्ट भए। उनीहरू व्यवहारमा पनि प्रष्ट देखिएनन्’, उनले भने, ‘विकास लिएर आउँदै गर्दा विनाशलाई निम्तो दिनुहुँदैन। नेपाली जनता विकास विरोधी होइन्न, तर, विनाश विरोधीचाहिँ पक्कै हुन्। प्रकृति, मानवमैत्री विकास हुनुपर्छ। रोशी खोला मास्नेहरूलाई कारबाही गर्न चाहने हो भने प्रहरी प्रशासन नै काफी छ।’ 

कटुञ्जेबेंसीका कुवेर गौतमले सुनाएको अनुभव निकै मार्मिक छ। उनको कुरा गम्दै हामी चौकीडाँडाको जोखिमपूर्ण बाटो छिचोल्दै अघि बढ्यौ। जहाँ सवारीमा यात्रुहरू ओर्लिँदा पनि गाडी उकालो चढ्न सक्दैनथे। गाडी चालक हर्कबहादुर मगरले भने, ‘सडक बिग्रिँदा समय, खर्च, हैरानी सबै बढेको छ।’ बीपीको कष्टकर यात्रा पार गर्दै झमक्क साँझ परेपछि मात्रै काठमाडौं आइपुगियो। 

सडक बिग्रिँदा समय, खर्च, हैरानी सबै बढेको छ। – हर्कबहादुर मगर, सुमो चालक

कहिले बन्छ बीपी राजमार्ग ? 

आफ्ना दुःख त थिए नै, बाटोमा अरुले भोगेका कथाव्यथा सुनि नसक्नु थिए। सरकारले बाटो बनाउने प्रयास गरिसकेको रहेछ। बाटोमा भेटिए केही इन्जिनियरहरू। जोखिम मोलेर सडकको सर्भे गरिरहेका थिए। रपल कन्स्ट्रक्सनका प्राविधिक सन्धिरकुमार पटेल भेटिए। उनले सडक निर्माणका लागि डीपीआरको काम गरिरहेका थिए। उनले सुनाए, ‘चौकीडाँडाबाट सर्भे सुरु भएको छ। छिट्टो काम सक्नुपर्नेछ। तीनवटा टोली खटिएको छ। एक हप्तामा डीपीआरको काम सकिन्छ। त्यसपछि डिजाइन हुन्छ।’

बीपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने छोटो दुूरीको राजमार्ग हो। कांग्रेस नेता बीपी कोइरालाले देखेको सपना जापानको आर्थिक सहयोगमा पूरा भएको थियो। यो राजमार्ग देशको उत्कृष्ट राजमार्गको सूचीमा छ। जुन धुलिखेल–सिन्धुली–बर्दिबास खण्डमा पर्छ। यो खण्डको लम्बाई १६० किलोमिटर छ।

जापान सरकारले २६ अर्ब जापानी ऐनको लागत र प्राविधिक सहयोगमा सडक निर्माण भएको थियो। जापानले बीपी राजमार्ग सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मा हस्तान्तरण गरेको थियो। २०७२ सालको भूकम्पले भत्किाइदिँदा जापानले नै मर्मत गरिदिएको थियो। बाढीले बगाएको राजमार्गको पुनर्निर्माण जापान सरकारले गरिदिन्छ कि नेपाल सरकार आफैंले गर्छ ? यसको टुंगो छैन। 

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशसंग फोन गरेँ। 

उनका अनुसार नेपालथोकदेखि चौकीडाँडा सम्मको  साढे ८ किलोमिटर  बाटो पूर्ण  रूपमा  बाढीले बगाएको छ। साढे ३ किलोमिटर बाटोमा ठाउँठाउँमा क्षति पुगेको छ। कुल १२ किलोमिटर बाढीले बिगारेको हो। राजमार्ग बनाउन कम्तीमा ७ अर्ब लाग्छ। अहिले डीपीआर बनाउन सर्भे भइरहेको छ। बाटो बनाइदिन जापान सरकारसँग पनि छलफल चलिरहेको छ। २ लेनको राजमार्ग बनाउने तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.