विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिनेशकुमार (दिवेश) थन्दारले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय नेताहरु प्रल्हाद साह,दिनेश साहलगायतका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । बिहान ११:३० बजे उम्मेदवारी दर्ता गराएर राप्रपाको टोली मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिएको छ ।
ग्रामथानमा राप्रपाका थन्दार मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार बनेका छन् । मोरङको ग्रामथानमा अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । अध्यक्ष पदको मनोनयन दर्ताका लागि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुलाई अलगअलग समय दिएको छ ।
सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार मनोनयन दर्ताका लागि जनमत पार्टीका लागि १०:३० बजे , राप्रपालाई ११ बजे, नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई ११:३० बजे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १२ बजे तथा मंगोल नेशनल अर्गनाइजेसनलाई १२:३० बजेको समय दिइएको छ ।
उम्मेदवारी दर्ताका लागि नेकपा (एमाले)लाई १ बजे, नेपाली कांग्रेसलाई २ बजे, नेकपा (माओवादी केन्द्र) लाई २ :३० बजे,नेकपा (एकीकृत समाजवादी) लाई ३ बजे र समावेशी समाजवादी पार्टीलाई ४ बजेको सय तोकिएको पौडेलले बताए ।
दलका लागि निर्धारण गरिएकोबाहेक अन्य समयमा अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गरिने उनको भनाइ छ । ग्रामथानको अध्यक्षमा एमालेले तुलसीराम विश्वास, कांग्रेसले बलराम सरदार, माओवादीले नमोनारायण माझी, एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मा, रास्वपाले नवीनकुमार विश्वास र राप्रपाले दिनेशकुमार ९दिवेश० थन्दारलाई उम्मेदवार बनाएका छन् ।
ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । यसअघि २०७९ मा कांग्रेसका जयप्रकाश गच्छदार अध्यक्ष निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएको थियो । रिक्त रहेको अध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुने भएको हो ।