गोरखा बजारमा पहिलोपटक गोरखाकै स्याउ
गोरखा : सिजनमा मुस्ताङ, जुम्ला तथा भारत, चीन, जापानबाट आएका स्याउले भरिने गोरखाका फलफूल बजारमा पहिलोपल्ट मनास्लु हिमालको फेदीमा फलेको ‘अर्गानिक’ स्याउ आइपुगेको छ। चुमनुब्री गाउँपालिका २ ल्होमा फलेको गुणस्तरीय ‘मनास्लु’ ब्राण्डको स्याउ बिगत तीन दिनदेखि गोरखा बजारमा बिक्री भएको हो।
पहिलोपल्ट आफ्नै जिल्लाको स्याउ बजारमा देखेपछि उत्साहित बनेका गोरखाका उपभोक्ताहरूले स्याउ किन्दै ‘स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौं’ भनेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गरिरहेका छन्। सधैं आयातित स्याउ किन्न बाध्य उनीहरूले आफ्नै जिल्लाको उच्च गुणस्तरको ‘अर्गानिक’ स्याउ पाएपछि सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका हुन्। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्रेरित गर्दै जिल्ला प्रशासन कार्यालयलेसमेत फेसबुक पेजमार्फत मनास्लु स्याउको प्रचारप्रसार गरेको छ।
विशाल मनास्लु फर्म तथा कृषि अध्ययन केन्द्रले २८०० मिटर उचाइमा फलाएको फुजी, गाला, गोल्डेन जातको ‘मनासलु स्याउ’ अहिले पहिलोपल्ट गोरखा बजारमा बिक्री गरिएको हो।
आफ्नै जिल्लामा फलेको उच्च गुणस्तरको स्याउको जताततै प्रचार प्रसार भइरहेको देखेपछि आफू पनि स्याउ किन्न आएको हरमटारीकी लीला श्रेष्ठले बताइन्। ‘प्रचार प्रसार भइरहेको देखेपछि गोरखामा पनि स्याउ पाइन्छ भनेर पत्याउनै गाह्रो भयो। अनि हेर्न आएको’, आफ्नै जिल्लाको स्याउ देखेपछि दंग भएकी उनले भनिन्, ‘आफूले पनि चाख्नुपर्यो, परिवारलाई पनि चखाउनु पर्यो भनेर दुई किलो किनेको छु।’ आफ्नै ठाउँको स्याउ भनेपछि असाध्यै मन परेर किनेको उनले बताइन्।
स्याउका विक्रेता धार्चेका खड्क गुरुङले पनि ‘मनास्लु हिमालको फेदमा फलेको स्याउ हो’ भन्दै बेच्दै गरेका छन्। ‘आज पहिलो दिन हो। खासै भाउतोल त गर्न जान्दिनँ तर पनि सोचेको भन्दा धेरै राम्रो बिक्री भएको छ’, गुरुङले भन्छन्, ‘तीन दिनमा तीन क्विन्टल बिक्री भइसक्यो। अर्गानिक स्याउ चिन्ने मान्छेहरू खोजी खोजी आउनुभएको छ। एकपटक किनेर लगेकाहरु दोहोर्याई तेहेर्याई आइरहेका छन्।’ पहिलो दिन आधा क्वीण्टल मात्र बिक्री भएको मनास्लु स्याउ बाँकी दुई दिन दोब्बरका दरले बिक्री भएको उनले बताएका छन्।
‘माथि फर्मबाट ५३ प्याक लाएको हो। १४ प्याक ल्याउँदा ल्याउँदै बाटोमै बिक्री भयो। बाँकीचाँहि यहाँ ल्याएको हुँ’, उनी भन्छन्, ‘तीन दिन खच्चड र एक दिन गाडीमा हालेर बजारसम्म ल्याउँदा केही नष्ट भएर फालेको पनि छु। यहाँ आइपुगेको स्याउ ग्राहकहरूले माया गरेर लैजानु भाको छ।’, अधिकांश मानिसहरुले गोरखामा पनि स्याउ फल्ने रहेछ भनेर उत्साही हुँदै स्याउ खरिद गरेको उनले बताएका छन्।
स्याउ किसान छिरिङ लामाले करिब ६० रोपनी जग्गामा ५ हजार ३०० बोट स्याउ लगाएका छन्। भर्खरै मात्र उत्पादन दिन थालेकोमा यो वर्ष परीक्षणका रूपमा गोरखा बजारमा बिक्री गर्न पठाइएको उनले बताएका छन्। ‘यसपालि परीक्षणका लागि भनेर थोरै मात्र पठाएको छु। बजारको माग राम्रो आयो भने अझ थप स्याउहरू पठाउने तयारीमा छु’, लामाले भने, ‘अत्याधुनिक कोल्डस्टोरमा थन्क्याएको छु। वैशाख, जेठसम्म पठाइरहन्छु।’
आफ्नो फर्मको स्याउ विशुद्ध अर्गानिक रहेको लामा बताउँछन्। यो वर्ष १० हजार केजी स्याउ उत्पादन भएकोमा ५० प्रतिशत बिक्री गर्न नमिल्ने रहेको उनले बताएका छन्। ‘हामीले बिना कुनै विषादी स्याउ उत्पादन गरेका छौँ, त्यसैले ५० प्रतिशत स्याउ त बिक्री गर्न नमिल्ने निस्किए’, उनले भने, ‘ढुवानीमा समस्या हुँदा स्याउहरू बाटोमै पनि बिग्रिएको अवस्था छ। बजारको माग राम्रो आयो भने प्याकेजिङका कुराहरूलाई विषेश ध्यानमा राखी काम गर्नेछौँ।’ हाल ५ हजार केजी स्याउ कोल्ड स्टोरमा राखिएको उनले जानकारी दिए। स्याउहरू मनास्लु क्षेत्रमा घुम्न जाने पर्यटन र त्यहाँका होटल व्यवसायीहरूलाई बिक्री गर्ने गरी भण्डारण गरिएको उनले बताएका छन्।