जिसस कैलालीमा कांग्रेस र एमालेबीच चुनावी तालमेल हुने
धनगढी : स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयनको दिन कैलालीमा भने एमाले र कांग्रेसबीच तालमेल हुने भएको छ। एमालेले कांग्रेसकी उमेदवार टीकाकुमारी भूललाई मत दिने सहमति भएको छ।
नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबीच यस्तो सहमति भएको हो।
कांग्रेसले प्रमुखमा टीकाकुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छन्। टिका कैलारी गाउँपालिका-२ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्।
२०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चल्दै आएको छ। जिसस कैलालीको मतभार २६ रहेको छ।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ। मंसिर १६ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आइतबार साँझ ५ देखि ६ बजेसम्म प्रकाशन गरिनेछ। उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ।
मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ। त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। २०७९ को निर्वाचनपछि रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ। यही उपनिर्वाचनबाट कैलाली जिल्ला समयन्व समिति प्रमुख पनि चयन गरिनेछ।