उदयपुर : मंसिर १६ गतेका निर्वाचनलाई जिल्लाका प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएका छन्।
सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी दलहरू नेकपा माओवादी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाई आइतबार शक्ति प्रदर्शनसहित मनोनयन दर्तामा सहभागी भएका हुन्।
आइतबार बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्तामा सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं. १२ मा सबैभन्दा पहिला बिहान १० बजे नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरी, दोस्रोमा बिहान ११ बजे रास्वपाका धुर्व पोखरेलले उमेदवारी दर्ता गरेका थिए।
त्यसैगरी ११ : ४० मा पार्टी सम्पर्क कार्यालयबाट पञ्चेबाजासहित नारा जुलुस लगाउँदै एमालेका उम्मेदवार लक्ष्मीनारायण चौधरीले वडाभर घुमेर उमेदवार दर्ता गराएका छन्।
१२ : ३० मा माओवादी केन्द्रका नविन राई, १ : १० मा कांग्रेसका सन्जिव काफ्लेले सम्पर्क कार्यालबाट नारा जुलुससहित निर्वाचन कार्यालयमा पुगी उमेदवारी दर्ता गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको समय अनुसार २ बजे राप्रपा र ३ बजे नेकपा (एकीकृत समाजवादी)का उमेदवारले मनोनयन गर्ने तयारी गरेका छन्।
एमालेले पुरानो विरासतलाई कायम राख्ने गरी चुनावी तयारी गरेको जनाएको छ भने कांग्रेसले २०७९ को निर्वाचनको विजयलाई मुख्य आधार बनाई तयारी तीव्र बनाएको छ। त्यस्तै माओवादीले २०७९ मा समाजवादी दलसँगको गठबन्धनबाट पाएको तेस्रो मतलाई पहिलो बनाउने गरी तयारी गरेको छ।
यता एकीकृत समाजवादी पार्टीले उक्त वडा आफ्नो आधार क्षेत्र भएको जनाएको छ। पुर्वमेयर तथा पार्टीका केन्द्रिय उपमहासचिव बलदेव चौधरीको क्षेत्र भएकाले यसलाई प्रतिष्ठाको विषय बनाएको छ। उता बेलका नगरपालिका ९ मा पनि उमेदवारी दर्ताको प्रक्रिया सुरु गरिएको जनाइएको छ।
मनोनयन दर्तासँगै आइतबार नै ५ देखि ६ बजेसम्म विवरण प्रकाशन गर्ने गरी तयारी थालिएको मुख्यनिर्वाचन अधिकृत दिपककुमार खरेलले बताए। मनोनयपत्रको विरोधमा उजुरी दिने समय मङ्सिर ३ गते विहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ।
निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा १२ मा पुरुष १ हजार ८ सय ७६ र महिला मतदाताको संख्या १ हजार ९ सय ७१ सहित ३ हजार ८ सय ४० मतदाता रहेका छन्। त्यसैगरी बेलका ९ मा जम्मा ३ हजार १ सय ३६ मतदातामध्ये पुरुष १ हजार ५ सय ७२ र महिला १ हजार ५ सय ६४ मतदाता छन्।
गत ०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरु त्रियुगा १२ का चुडाराज काफ्ले र बेलका ९ का पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
काफ्लेको चुनाव जितेकै वर्ष फागुनमा शिवरात्रिको साँझ मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो। त्यसैगरी बेलका ९ मा काँग्रेसबाटै निर्वाचित वडाध्यक्ष पदम खड्काको पनि गत जेठमा मोटरसाइकल दुर्घटनामै परी ज्यान गएपछि वडाध्यक्ष पद रिक्त रहको थियो।