कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोलको उम्मेदवारी दर्ता
काठमाडौं : कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गरेका छन्। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि डंगोलले उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ। वडा नम्बर १ मा इच्छा महर्जन र वडा नम्बर ४ मा राजेन्द्र महर्जनले उम्मेदवारी दर्ता गराएका हुन्।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रका शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन र नेसपाबाट दिलकुमार महर्जनले उम्मेदवार दर्ता गराएका छन्। एकीकृत समाजवादीले भने उम्मेदवारी नदिने जनाएको छ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ।