मालढुंगा-बेनी सडकमा ‘टाइमकार्ड’
बेनी : स्तरोन्नतिको कामलाई गति दिन म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा-बेनी सडकमा टाइमकार्ड लागू भएको छ।
सडकको प्रवेशबिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगादेखि लस्तीसम्म कालोपत्र गर्न प्राइम कोट बिछ्याउन सवारी साधन बन्द गर्न लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले यही मंसिर ४ देखि ११ गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी साधन आवतजावत रोकेर निर्माण कार्य गर्ने निर्णय गरेको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए।
‘सवारी साधनको चापका कारण निर्माण कार्य गर्न प्रभावित भएकाले समय तालिका बनाइएको हो,’ उनले भने ‘सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुंगा फुटाउन, सबबेस र बेस राखेको मालढुंगा-लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइम कोट बिछ्याउन लागिएको छ।’
मालढुंगा-बेनी सडक अवरुद्ध हुँदा मालढुंगा-बागलुङ-बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताए। एम्बुलेन्स, दमकल र शव वाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ।
पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्रे गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ।
१३ किलोमिटर दूरीको बेनी-मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रबिधिको कालोपत्रे र ढलान गर्न बेनी-जोमसोम-कोरला सडक आयोजना र एपेक्स-खड्का-कृष्ण जेभीबीच २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुंगा-बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्रे गरिएको थियो।
मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो।