मोरङको ग्रामथानमा १६ जनाको उम्मेदवारी
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि आइतबार १६ जनाको उम्मेदवारी परेको छ।
राजनीतिक दलबाट १५ र स्वतन्त्रबाट १ गरी १६ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए। उनका अनुसार मनोनयन दर्ताका लागि आइतबार बिहान १० बजेदेखि ५ बजेसम्को समय तोकिएको थियो। दल बलसहित पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन्।
समावेशी समाजवादी पार्टीबाट वोधनारायण माझी र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सुरेशकुमार राजवंशीको उम्मेदवारी परेको छ। नमनारायण चौधरी थारुले स्वतन्त्र उम्मेदवारी दिएका छन्। ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए। पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिएका हुन्।
२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ।