अनन्त यात्रामा लोकतान्त्रिक आन्दोलनका अभियन्ता
काठमाडौं : ‘सरकार सत्तापक्षको, संसद् प्रतिपक्षको’ भन्दै संसदीय अभ्यासलाई मर्यादित एवं गरिमामय बनाएका सभामुख पदका मानक दमननाथ ढुंगानाको आइतबार निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारका लागि लैजाने क्रममा निधन भएको छ ।
अचानक असहज महसुस गरेका ढुंगानाको फ्रन्टलाइन अस्पतालमा पुर्याउँदा निधन भइसकेको थियो । दसैंअघि भारतमा उपचार गरेर फर्किएका ढुंगाना घरमै आराम गरिरहेका थिए । कलेजोको समस्या झेलिरहेका थिए । ढुंगानाको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ । शान्ति र लोकतन्त्रका पक्षपाति ढुंगानाको सोमबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि नक्सालस्थित सानो गौचरणमा राखिनेछ । बेलायतमा रहेका कान्छा छोरा आएपछि सोमबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । ढुंगानाको काठमाडौं–९, बत्तीपुतलिस्थित निवासमा पुगी शोकाकुल परिवारजनलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, संविधानविद् राधेश्याम अधिकारी लगायतले सान्त्वना दिएका थिए । ढुंगानाकी पत्नी भुवन, दुई छोरा र एक छोरी नीतिका छन् । लोकतान्त्रिक राजनीतिका अथक अभियन्ता ढुंगानाको संविधान निर्माण, लोकतन्त्र र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विद्यार्थीहरू आन्दोलनमा लागेका थिए ।
बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमाथि लगाइएका मुद्दामा ढुंगानाले बहस पैरवी गरेका थिए । ३० वर्षको उमेरमा नेपाल बार एसोसिएसनको महासचिव भएका ढुंगाना झन्डै दुई दशक वकालत पेसामा संलग्न थिए । २०२८ सालमा नेपाल बार एसोसिएसनको महासचिव भएका थिए । पञ्चायतकालमा विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिक यात्रा गरेका ढुंगानाले ०४६ सालको जनआन्दोलनको बेला कांग्रेसका प्रवक्ता थिए । ०४७ साल कात्तिक २३ गते जारी भएको संविधानको मस्यौदा गर्न गठित आयोगमा रहेर ढुंगानाले योगदान गरेका थिए । ०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएका ढुंगाना सभामुख भएका थिए ।
संसदीय अभ्यासलाई मर्यादित बनाउन ढुंगानाले खेलेको भूमिकाको प्रशंसा हुने गरेको छ । उनी ०५१ सालसम्म सभामुख भएका थिए । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् ।
पूर्वसभामुख तारानाथ रानाभाटले पञ्चायतकालदेखि नै ढुंगानासँगै नै मित्रता रहेको बताए । ‘हामी दुवै प्रजातान्त्रिक योद्धा थियौं र कानुनका विद्यार्थी पनि,’ पूर्वसभामुख रानाभाटले स्मरण गरे, ‘त्यो बेला हामी कांग्रेसका नाम चलेका युवा कार्यकर्ता थियौं ।’ बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि प्रतिनिधिसभाको पहिलो सभामुख ढुंगाना थिए । ढुंगाना सभामुख हुँदा रानाभाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री थिए । ‘आत्मीय सम्बन्ध थियो हाम्रो । उहाँ (ढुंगाना) सभामुख हुँदा संसद्को विभागीयमन्त्री थिएँ । ठूलादेखि ससाना कुरामा पनि परामर्श गरेर अगाडि बढिन्थ्यो,’ रानाभाटले भने, ‘उहाँले सबैसँग इमान्दारीपूर्ण सहकार्य गर्नुभएको थियो । उहाँको निधन प्रजातान्त्रिक आन्दोलनलाई घाटा हो ।’
सशस्त्र विद्रोह गरेको माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका समेत निर्वाह गरेका थिए । ढुंगाना पछिल्लो समय राजनीतिमा निस्क्रिय झैं थिए । ०६२/६३ सालको जनआन्दोलनमा उनले नागरिक समुदायको अगुवाको भूमिका निर्वाह गरेका थिए ।
संविधान निर्माण र गणतन्त्र स्थापनामा ढुंगानाको योगदान निकै महत्वपूर्ण रह्यो । संविधानविद् एवं पूर्वकानुनमन्त्री नीलाम्बर आचार्यले श्रद्धाञ्जलि व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘भित्रै चसक्क भयो दमननाथ ढुंगानाको निधनको समाचारले । २०२६ सालदेखिको मित्र दमनजी, ख्यातिप्राप्त नागरिक, मानव अधिकारवादी, प्रजातान्त्रिक राजनीतिज्ञ र असल वक्ता हुनुहुन्थ्यो । ०४७ पछिको पहिलो सभामुखको उहाँको भूमिका र शान्ति प्रक्रियामा सक्रियता स्मरणीय रहनेछन् ।’
पछिल्लो समय ०७४ सालमा भक्तपुर जिल्ला क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा पराजय भएसँग राजनीतिमा निस्क्रिय देखिएका थिए । यद्यपि, मुलुकको राजनीतिक, संवैधानिक र नागरिक अधिकारका लागि उनले सरकारलाई खबरदारी गरिरहन्थे । पछिल्लो समय उनले आफ्ना केही विचारहरू अन्नपूर्ण पोस्ट् दैनिकमार्फत सार्वजनिक गरेका थिए ।
ढुंगानाको योगदान सधैं स्मरणीय
पूर्वसभामुख ढुंगानाको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानाले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ढुंगानाले पुर्याएको योगदानलाई मुलुकले सधैं स्मरण गरिरहने बताएका छन् ।
उनले भनेका छन्, ‘पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ । पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानव अधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई मुलुकले सधैं स्मरण गरिरहनेछ । दुःखको यस घडीमा प्रियमित्र ढुंगानाप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगानाको निधनको खबरले आफूलाई दुखी बनाएको बताएका छन् । ‘२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रबर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु ।’