एनआरएनए संग्ल्याउने अवसर

एनआरएनए संग्ल्याउने अवसर

गैरआवासीय नेपाली संघलाई राजनीतिबाट टाढा राख्न गैरआवासीय नेपालीसम्बन्धी ऐनमा संशोधन गर्न जरुरी छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद मिलाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्वअध्यक्षहरूसहितका केही व्यक्तिलाई मन्त्रालयमा बोलाएर गत हप्ता छलफल गरिन् ।

एनआरएनएका विवादका सम्बन्धमा सर्वोच्च अदालतले दुई छुट्टाछुट्टै फैसला गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा. नहकुल सुवेदीको संयुक्त इजलासले २०२४ अप्रिल ३ मा गरेको पहिलो फैसलाले १०औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति खारेज गर्दै सदस्यता र निर्वाचनसम्बन्धी विवाद टुंग्यायो । त्यसपछि एकताको महाधिवेशन गर्न शेष घलेको संयोजकत्वमा अन्य पूर्वअध्यक्षहरूसहितका व्यक्ति रहेको एउटा उच्चस्तरीय समितिलाई जिम्मा दिन परराष्ट्र मन्त्रालयको नाममा आदेश जारी गरेको छ ।

माननीय न्यायाधीश तिलकप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले २०२४ अगस्ट ६ मा गरेको दोस्रो फैसलाले ११औं महाधिवेशन ‘स्वायत्त र सार्वभौम’ भएको निर्णय गर्दै उक्त महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको कार्यसमितिलाई स्थापित गरेको छ । मन्त्रालयमा भएको उक्त अनौपचारिक बैठकमा सर्वाेच्चका यी दुवै फैसलाबारे महान्यायाधिवक्ताको कार्यालयबाट थप सुझाव लिने र बृहत् राजनीतिक परामर्शपछि अघि बढ्ने मोटामोटी सहमति भएको बुझिएको छ । तर, बैठकमा भएको उक्त सहमति तोड्दै शेष घलेले उच्चस्तरीय समितिको बैठक यही १९ नोभेम्बरमा बोलाएपछि अनेक आशंका पैदा भएका छन् ।

शेष घले एकतर्फी रूपमा चल्न खोजेपछि डा. बद्री केसीको नेतृत्वमा रहेको अहिलेको कार्यसमितिले सर्वोच्च अदालतको आफ्नो पक्षमा आएको फैसला र ११औं महाधिवेशनबाट आफूले पाएको म्यान्डेटको संरक्षण गर्ने निर्णय गरेको छ । पहिलो फैसलाको पूर्णपाठको आधारमा दोस्रो फैसला आएकाले पहिलो फैसलाको निर्णय असान्दर्भिक भइसकेको कार्यसमितिको बुझाइ छ । अदालतका दुवै फैसलालाई सम्मान गर्दै निकास निकाल्ने उपायमा छलफल गर्नुको सट्टा दुवै पक्ष आआफ्ना ढंगले अगाडि बढ्दा एनआरएनएमा एकता होइन, यसले झन् गहिरो विवादमा लैजाने निश्चित छ ।

शेष घलेको रोडम्याप : घलेले सर्वोच्च अदालतको दोस्रो फैसलालाई बेवास्ता गर्दै संघका हालका सबै राष्ट्रिय समन्वय परिषद् भंग गरेर २०२५ को मार्चसम्म राष्ट्रिय अधिवेशन गराउने र २०२५ को मेमा नयाँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने तयारीमा रहेको खुलासा भएको छ ।

विद्युतीय सदस्यता व्यवस्थापनदेखि अनलाइन मतदानलगायतका विधानका सबै संरचनालाई भत्काएर आफू अनुकूलको विधान बनाउने चाहना उनमा रहेको कुरा उनका निकट व्यक्तिहरूले खुलाएका छन् । उनको रोडम्याप अनुकूलको कार्यविधि बनाउन उनले अधिवक्ताहरूसँग परामर्श गरिरहेको कुरा पनि बाहिर आएको छ । समितिमा बहुमतको आधारमा कार्यविधि पास गरेर अगाडि बढ्ने उनको गतिविधिबाट अनुमान लगाउन सकिन्छ ।

घलेले आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्रालयको प्रयोग गर्ने र परिस्थिति अनुकूल नभएमा मन्त्रालयलाई नटेर्ने शैली अपनाउँदै आएका छन् । उदाहरणका लागि, उनले १०औं महाधिवेशनमा तत्कालीन सत्तारूढ दलहरू कांग्रेस र माओवादीसँग साँठगाँठ गरेर निर्वाचित अध्यक्ष कुमार पन्तलाई अधिकारविहीन बनाएर आफूले नै निर्वाचन गराउने अधिकारसहितको पत्र परराष्ट्र मन्त्रालयबाट लेखाएका थिए । तर, उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयद्वारा घलेलाई दिइएको अधिकार खारेज गर्‍यो । त्यसपछि, बृहत् राजनीतिक सहमतिअनुसार तीन अध्यक्षको संरचना बनाएर ११औं महाधिवेशन सम्पन्न भयो । यस महाधिवेशनमा राष्ट्रपति, प्रधानमन्त्री र सबै राजनीतिक दलका नेताहरू उपस्थित भएर सहमतिका पक्षमा उभिएका थिए ।

घलेले भने, ‘सरकारको अनुरोधलाई बेवास्ता गर्दै केही व्यक्तिलाई जोडेर छुट्टै महाधिवेशन गराई विनोद कुँवरलाई अध्यक्ष घोषणा गरे । यद्यपि सर्वोच्च अदालतले कुँवर समूहलाई मान्यता दिएन । सर्वोच्चबाट मान्यता नपाएपछि कुँवरको समितिले ग्लोबल एनआरनएको नाममा गतिविधि गर्न सुरु गर्‍यो । कुँवरको कार्यसमितिले खासै काम गर्न नसकेपछि उनका सहयोगी सोनाम लामाले युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (युनडिओ) नामक नयाँ संस्था दर्ता गराउन परराष्ट्र मन्त्रालयमा निवेदन गरे । परराष्ट्र मन्त्रालयले दर्ता गर्न आनाकानी गरेपछि, लामाले सर्वोच्च अदालतको सहारा लिएर संस्था दर्ता गराए । तर, दर्ता भएको लामो समयसम्म पनि उक्त संस्थाले आफ्नो पहिलो अधिवेशन गर्न सकेको छैन । कुँवर र सोनामका दुवै संस्थाले अपेक्षित रूपमा अगाडि बढ्न नसकेपछि घले पुनः एनआरएनएको संरचनामा केही गर्न सकिन्छ कि भन्ने प्रयासमा देखिएका छन् ।

डा. केसीको आत्मविश्वास ः उता, डा. बद्री केसीले भने सर्वोच्च अदालतको फैसलाअनुसार दुवै राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्हरूले आफ्नो पूरा कार्यकाल पूरा गर्ने र २०२५ को अक्टोबरमा एकताको अधिवेशन गर्ने दृढता व्यक्त गरेका छन् । घलेसँगको व्यक्तिगत विवाद केसीका लागि नयाँ विषय होइन । केसी, घलेको पहिलो कार्यकालमा कोषाध्यक्ष र दोस्रो कार्यकालमा महासचिव पदमा निर्वाचित भएका थिए । एनआरएनए भवन निर्माणका लागि ललिता निवास बालुवाटारमा जग्गा किन्न घलेले राखेको प्रस्तावमा केसीले विरोध जनाएपछि उनीहरूबीच मनमुटाव सुरु भएको थियो । घलेसँग मात्र होइन, केसीको पूर्वअध्यक्ष डा. उपेन्द्र महतो र जीवा लामिछानेसँगको सम्बन्ध पनि सुमधुर छैन ।

कुनै बेला महतो र लामिछानेका विश्वासपात्र थिए केसी । तर, पछिल्लो समय उनले महतो र लामिछानेले आफूमाथि न्याय नगरेको महसुस गरेका छन् । आफूले जित्ने १०औं महाधिवेशन गराउन उनीहरूले सहयोग नगरेको केसीको गुनासो छ । महतो र लामिछानले ११औं महाधिवेशनमा केसी अध्यक्षको उम्मेदवारी नै बन्नु हुँदैन भन्ने धारणा राखे । तर, उनीहरूको चाहनाविपरीत केसीले अध्यक्ष पदमा उम्मेदवारी दिए र आफूसहित महत्त्वपूर्ण पदमा आफ्नो टिमका साथीलाई विजयी गराउन सफल भए । पराजित केही व्यक्तिले केही लफडा गरे पनि आफूलाई अध्यक्ष पद त्याग्न महतो र लामिछानेले दबाब दिइएको महसुस केसीले गरेका छन् । तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदमार्फत आफूलाई पदच्युत गर्ने षड्यन्त्रमा उनीहरू संलग्न भएको आशंका केसीको छ ।

विगतका परराष्ट्रमन्त्रीहरूले जस्तै मन्त्रालयका कर्मचारी, पार्टी कार्यकर्ता र एनआरएनका केही प्रमुख नेताहरूको बहकावमा नलागी निर्णय गर्न सक्नुपर्छ। बरु दुईचारजना नेताहरूको इगोका कारण लाखौं गैरआवासीयहरूको अधिकारलाई कुण्ठित गर्नु हुँदैन।

परराष्ट्र मन्त्रालय र पूर्वअध्यक्षहरू प्रतिकूल हुँदा र सर्वोच्च अदालतको पहिलो फैसलासमेत आफ्नो पक्षमा नहुँदा पनि केसीले हरेस खाएनन् । उनले सर्वोच्च अदालतमार्फत आफ्नो अधिकार स्थापित गर्न सफल भए । अदालतको उक्त फैसला, एनआरएनएमा रूपान्तरण चाहनेहरूको उनलाई दह्रोसाथ र नेपालको सत्ता समीकरण पनि अहिले उनको अनुकूल भएकाले उनको आत्मविश्वास बढ्दै गएको देखिन्छ । त्यसैले उनी अहिले पछि फर्कने मनस्थितिमा छैनन् । यदि वर्तमान अवस्था यथावत् रह्यो भने शेष घलेले एउटा निर्वाचन गर्ने र संस्थापक पक्षको तर्फबाट केसीले अर्को निर्वाचन गराउने अवस्था आउन निश्चितजस्तै देखिन्छ ।

सर्वोच्चले गठन गरेको उच्चस्तरीय समितिको औचित्य माथि प्रश्न : सर्वोच्चको दोस्रो फैसलापछि प्रधान (सुवेदीको इजलासले पहिलो फैसलाले बनाएको उच्चस्तरीय समितिको औचित्य समाप्त भएको बुझाइ एकथरी काननविदु्को छ । प्रधान सुवेदीको फैसला ११औं महाधिवेशन नभएको अवस्थाको परिकल्पना गरेर गरिएको थियो । सर्वोच्चको दोस्रो फैसलाले पनि ११औं अधिवेशनलाई आफैंमा सार्वभौम र स्वायत्त घोषित गर्दै १०औं अधिवेशनको विवादले ११औं अधिवेशनलाई कुनै असर नगर्ने फैसला गरेको छ ।

यस समितिले ११औं अधिवेशनबाट निर्वाचित समिति र अन्य नयाँ सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दैन । एनआरएनएको समानान्तर संस्था यूएनडीओमा संलग्न व्यक्तिहरू पनि यस समितिमा रहेकाले उनीहरूले एनआरएनएलाई कमजोर बनाएर यूएनडीओको हितमा काम गर्ने एकथरीको आशंका छ । विगतमा निर्वाचनमा पराजित भएका व्यक्तिहरूसमेत रहेको यस समितिबाट समाधान खोज्नु भनेको राजा ज्ञानेन्द्रले लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेर जनमतबाट तिरस्कृत भएका तुलसी गिरीजस्ता व्यक्तिहरूलाई जिम्मेवारी दिए जस्तै हो ।

अतः डा बद्री केसीको निर्वाचित कार्यसमितिलाई विश्वासमा नलिई यस समितिले कुनै ठोस निष्कर्ष निकाल्न सक्दैन । कानुनीरूपमा जे जस्तो भए पनि व्यावहारिक रूपमा अब हुने १२औं अधिवेशनमा सबैलाई समेटेर एकताको अधिवेशन गर्न सकिन्छ । त्यस अधिवेशनलाई विवादरहित बनाउन शेष घलेको समितिले सहयोग गर्न सक्छ । दुवै पक्षको मिलन बिन्दु यो हुन सक्छ ।

अदालतमा विचाराधीन मुद्दाको बेवास्ता : सर्वोच्चको पहिलो फैसलाको पुनरावलोकनका लागि अहिले अदालतमा एउटा मुद्दा दर्ता भएको छ । यसैगरी, ११औं अधिवेशनमा पराजित आर.के. शर्माले घले र केसीलाई विपक्षी बनाएर अन्य दुई पक्षभन्दा आफू आधिकारिक भएको दाबी गर्दै अर्को मुद्दा सर्वोच्चमा विचाराधीन छ । सामान्यतया अदालतमा विचाराधीन मुद्दालाई असर गर्ने गरी गतिविधि गर्नु हुँदैन । तर घलेले यी मुद्दाहरूलाई बेवास्ता गर्दै गतिविधि अगाडि बढाउन खोजेका छन् । हुन त घलेले अदालतको फैसलाको बेवास्ता गरेको यो पहिलो पटक होइन । उच्च अदालत पाटनले महाधिवेशन नगराउनू भनी अन्तरिम आदेश दिएको समयमा उनले महाधिवेशन गरेर विनोद कुँवरलाई अध्यक्ष घोषणा गरेका थिए (हेर्नुस् मुद्दा नं ०७९– डब्लूओ–१५०७ को फैसलाको प्रकरण नं ३६) ।

परराष्ट्रमन्त्रीको भूमिका र उनीबाट अपेक्षा ः घले र केसी आआफ्नै ढंगले अघि बढिरहेको र पूर्वअध्यक्षहरूले पनि निर्णायक भूमिका खेल्न नसक्ने अहिलेको अवस्थामा परराष्ट्रमन्त्री डा. देउवा स्वयंले सबै पक्षबीच समन्वय गर्न जरुरी छ । उनले साँच्चिकै डायस्पोराको एकता चाहेकी छन् भने विगतका परराष्ट्रमन्त्रीले जस्तो गल्ती दोहोर्‍याउनु हुँदैन । विगतमा मन्त्रालयका कर्मचारी र आफ्ना दलका कार्यकर्ताले नै मन्त्रीलाई कमजोर बनाएको पाइएको छ । परराष्ट्र मन्त्रालयले गरेका आधा दर्जनभन्दा बढी निर्णयहरू अदालतले बदर गरिदिएका कारण उनीहरूको कार्यक्षमता र नियत माथि प्रश्न उठाउने ठाउँ छ ।

एनआरएनएभित्रको समस्या समाधान गर्ने हो भने परराष्ट्रमन्त्रीले निम्न प्रश्नहरूको उत्तर खोज्न जरुरी छ । २१ वर्षको इतिहास हुँदा पनि आम गैरआवासीय नेपाली, बुद्धिजीवी र पेसागत व्यक्तिहरू यो संघमा सहभागी हुन किन चाहँदैनन् ? किन सीमित व्यक्तिहरूले संघलाई आफ्नो इसारामा चलाउन खोजिरहेका छन् ? किन निर्वाचन जित्न दसौं करोड रुपैयाँ खर्च गर्छन् ? उनको पार्टीको चस्माबाट हेर्दा (नेपाली कांग्रेसको दुई तिहाइभन्दा बढी महाधिवेशन प्रतिनिधि भएको अवस्थामा कांग्रेसले समर्थन गरेको अध्यक्षको उम्मेदवार किन सधैं हार्छन् वा तेस्रो स्थानमा रहन्छ ? 

डा. देउवा १०औं महाधिवेशनको विवादमा अप्रत्यक्ष रूपमा संलग्न थिइन् । उनको त्यो गल्तीलाई सच्याएर अघि बढ्ने अवसर उनले पाएकी छन् । विगतका परराष्ट्रमन्त्रीहरूले जस्तै, मन्त्रालयका कर्मचारी, पार्टी कार्यकर्ता र एनआरएनका केही प्रमुख नेताहरूको बहकावमा नलागी निर्णय गर्न सक्नुपर्छ । उनीहरूले साँघुरो घेराभन्दा बाहिर आएर आम गैरआवासीय नेपाली, बुद्धिजीवी र निर्वाचित समितिका पदाधिकारीहरूको कुरा सुन्नुपर्छ । मन्त्रालयलाई भ्रममा राखेर संघलाई थप विभाजनतिर लैजान खोज्ने सबै प्रकारका गतिविधिलाई उनले तत्काल रोक्नुपर्छ ।

संघलाई राजनीतिबाट टाढा राख्न गैरआवासीय नेपालीसम्बन्धी ऐनमा संशोधन गर्न उनी तयार हुनुपर्छ । दुई, चारजना टाउके नेताहरूको इगोका कारण लाखौं गैरआवासीयहरूको अधिकारलाई कुण्ठित गर्नु हुँदैन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभवले डायस्पोराको शक्ति र विश्वलाई बुझ्ने क्षमता डा. देउवाको छ । त्यसैले डायस्पोरा नेपालीहरूलाई एक बनाउने इमानदार प्रयास उनले गर्नेछिन् भन्ने आम गैरआवासीय नेपालीले अपेक्षा गरेका छन् । 

शर्मा, गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष हुन् 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.