सरकारले बिदाको निर्णय ढिलो गर्दा सेवाग्राहीलाई सास्ती
गुल्मी : पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले सोमबार बिहान कार्यालय समय अगाडि मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कार्यालय खुल्ने केही समय अगाडि मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेपछि नागरिकले सास्ती भोग्नु परेको छ ।
सोमबार बिहानैदेखि जिल्ला प्रशासन कार्यालय र गुल्मी अस्पतालमा सेवाग्राहीको लाइन छ । पूर्वसभामुख ढुंगानाको आइतबार नै उपचारको क्रममा मृत्यु भएको थियो । तर सोमबार बिहानसम्म सार्वजनिक बिदा बारे कुनै जानकारी आएको थिएन,एक सेवाग्राहीले भने,' बिदाबारे हिजो नै थाहा भएको भए गाउँबाट हतार गरेर सदरमुकामसम्म आउनु नै पर्ने थिएन ।'
सरकारले अघिल्लो दिनै बिदाबारे कुनै जानकारी नदिएकाले आफूहरूलाई सास्ती भएको उनीहरूको गुनासो छ । जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही विमुख घर फर्कनु परेको छ । प्रशासन कार्यालयले प्रवाह गर्ने विभिन्न खालका सेवाबाट सरकारले मनमौजीले गरेको निर्णयका कारण आफूहरुले दु:ख पाएको सेवाग्राहीको गुनासो छ । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।ढुंगानाको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।