मेयर कप ब्याडमिन्टन मंसिर तेस्रो साता
काठमाडौं : ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता आगामी मंसिर १८ गतेदेखि हुने भएको छ।
सहआयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयता बाहेक), यू–१७ ब्वाइज, गल्र्स तथा मास्टर ४५ माथि युगल गरी ६ बिधामा प्रतिस्पर्धा गराइने भएको छ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष एकल र महिला एकलका खेलाडीले खेलको आधारमा वरीयता अंक प्राप्त गर्नेछन्। ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगलतर्फका विजेताले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै दोस्रो हुनेले २० हजार र तेस्रो स्थान प्राप्त गर्नेले १० हजार पुरस्कार पाउने छन्।
यू–१७ तर्फका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः २० हजार, १० हजार र पाँच हजार तथा मास्टर ४५ वर्षमाथिका विजेताले ३० हजार, १५ हजार र सात हजार पाँच सय पुरस्कार पाउने छन्। चार दिनसम्म संचालन हुने प्रतियोगितामा नेपालभरका करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ।