गहुँ छर्ने बेला किसानले पाएनन् मल

गहुँ छर्ने बेला किसानले पाएनन् मल
मलको अभावमा गहुँ छर्न बाँकी रहेको खेत । तस्बिर : परमानन्द पाण्डे
सुन्नुहोस्

टीकापुर : गहुँ छर्ने बेला भइसक्दासमेत कैलालीमा रासायनिक मलको चरम अभाव भएपछि कैलालीका किसान चिन्तत छन् । कात्तिक अन्तिमदेखि मंसिर दोस्रो साताभित्र गहुँ छर्न उपयुक्त हुने भए पनि किसानले रासायनिक डीएपी मलको पाउन सकेका छैनन् । 

टीकापुर नगरपालिका– २ का किसान मनिराम चौधरीले गहुँसँगै छर्ने डीएपी मलको चरम अभाव हुँदा गहुँ छर्न ढिलाइ भइरहेको बताए । तीन बिघा खेतमा गहुँ छर्दै आएका उनी स्थानीय कृषि सहकारी धाउँदाधाउँदा हैरान छन् । ‘वडा नं. १ देखि ९ सम्मका सबै सहकारीहरूमा धाइसकें डीएपी मल पाउन सकेको छैन’, चौधरीले भने, ‘एउटा सहकारीले अर्कोलाई देखाउँछ, अर्कोले अर्कोलाई । हामीले गहुँ छर्न ढिलो भइसक्दासमेत मल पाइएको छैन ।’

टीकापुरकै अर्का किसान कृष्णप्रसाद धिताल डीएपी मल उपलब्ध हुने टुंगो नलाग्दा गहुँको उत्पादन घट्ने चिन्तामा छन् । ‘गत वर्ष मैले कात्तिक अन्तिममा चार बिघामा गहुँ छरेको थिएँ, यो वर्ष मंसिर पहिलो साता हुँदासमेत मलको जोहो गर्न सकेको छैन’, उनले भने, ‘मंसिर दोस्रो सातासम्म डीएपी नपाउने हो भने गहुँको उत्पादन निकै कम हुन्छ, किसानलाई घाटा लाग्छ ।’ 

कैलालीमा मलको सहज उपलब्धताका लागि प्रदेश सरकारको समन्वयमा जिल्लास्थित कृषि सहकारीलाई कोटा प्रणालीबाट मल उपलब्ध हुँदै आएको छ । किसानको मागअनुसारको कोटामा मल उपलब्ध हुन नसक्दा गहुँ छर्ने समयमा रासायनिक मलको चरम अभाव हुने गरेको छ । 

कैलालीको धनगढीबाट रासायनिक मलको बिक्री कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडले गर्दै आइरहेका छन् । विगत लामो समयदेखि ती कम्पनीबाट खरिद गरी कृषकलाई रासायनिक मलखाद बिक्री गर्दै आइरहेको टीकापुरस्थित शान्ति नेपाल साना किसान सहकारी संस्थाका अध्यक्ष नरेश रावलले किसानको मागअनुसार कम्पनीले मल उपलब्ध गराउन नसक्दा डीएपी मलको अभाव देखिएको बताए ।

‘दैनिक २०/२५ किसानहरू मलको खोजीमा आइरहेका छन्, धनगढीमै रहेका कम्पनीका कार्यालयमा मलको अभाव छ अनि हामीले किसानलाई रित्तो हात फिर्ता गर्नु परेको छ’, अध्यक्ष रावलले भने, ‘कोटा सिस्टमले सबै पालिकाका सहकारीले मल पाउने भए पनि त्यो पर्याप्त हुँदैन, किसानको मागअनुसार कृषि कम्पनी र साल्ट ट्रेडिङले मल दिन नसक्दा किसानले अभाव खेप्नु परेको हो ।’

रासायनिक मलको बिक्री वितरण गर्दै आएको कृषि सामग्रीका प्रादेशिक प्रबन्धक नबलसिंह बोगटीका अनुसार कैलालीमा कम्पनीले ३ हजार १ सय टन डीएपी मल सहकारीमार्फत बिक्री गरेको छ । ‘प्रदेश सरकारले निर्धारण गरेको कोटाअनुसार हामीले डीएपी मल वितरण गरिसकेका छौं’, प्रबन्धक बोगटीले भने, ‘हाल कैलालीमा मात्रै किसानको माग पाँच हजार टनभन्दा बढी रहेकाले अभाव देखिएको हो, कम्पनीमा थप मल आइपुगेको छैन ।’ 

साल्ट ट्रेडिङले समेत मल बिक्री गर्दै आइरहेको छ । कम्पनीले सुदूरपश्चिममा कुल बिक्री हुने मलको ३० प्रतिशतमात्रै बिक्री गर्ने अधिकार पाएको छ । हाल किसानलाई उपलब्ध भएको रासायनिक मल मागको आधारमा निकै कम हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.