अनि आमाहरूले पाउन थाले ‘नयाँ जीवन’

अनि आमाहरूले पाउन थाले ‘नयाँ जीवन’
सुन्नुहोस्

सुर्खेत : डोल्पाको ठूलीभेरी नगरपालिका निवासी अमृता बुढालाई सुत्केरी व्यथाले च्यापो । लामो समयसम्म पनि उनले बच्चा जन्माउन सकिनन् । गाउँको स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा उनको उपचार सम्भव भएन । ज्यान नै जोखिममा परेपछि स्वास्थ्यकर्मीले अमृतालाई तत्काल सुर्खेत लैजान भने । आफन्तले अमृताको ज्यान बचाइदिन हारगुहार गरे । करिब १८ घण्टापछि उनको हेलिकोप्टरबाट उद्धार भयो । उनी प्रदेश अस्पताल सुर्खेतमा सुत्केरी भइन् । विशेषज्ञ उपचार पाएपछि आमा र बच्चा दुवैको ज्यान जोगियो ।

हुम्लाको खार्पुनाथकी दीफकली सार्की सुत्केरी भइन् । अत्यधिक रक्तस्राव भएपछि उनको जिल्ला अस्पतालमा उपचार सम्भव भएन । डाक्टरले तत्काल जिल्ला बाहिर नलगे सुत्केरीको ज्यान नै जाने बताए । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा तत्काल सुविधायुक्त अस्पतालसम्म लैजाने एकमात्र विकल्प हवाईसेवा हो । हवाईसेवासमेत नियमित नहुँदा सुत्केरीको ज्यान बचाउन नसकिने अवस्था आयो । आफन्तहरू निराश बने । तर हेलिकप्टरबाट दीफकलीको उद्दार भयो । सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार हुँदा उनले नयाँ जीवन पाइन् ।

अमृता र दीफकली केवल प्रतिनिधिपात्र हुन् । कर्णालीका दुर्गम जिल्लामा यस्ता धेरै गर्भवती तथा सुत्केरीले नयाँ जीवन पाएका छन् । सुरक्षित प्रसूति सेवा र स्वास्थ्य संस्थाको अभावमा अहिले पनि दुर्गममा उपचार नै नपाएर गर्भवती तथा सुत्केरीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । यस क्षेत्रमा सुत्केरी हुन नसकेर गर्भवतीको अत्याधक रक्तस्राव तथा संक्रमणका कारण सुत्केरीको उपचार अभावमा मृत्यु हुने गरेको छ । हालसम्म धेरै गर्भवती र सुत्केरीले समयमै उपचार नपाउँदा ज्यान गुमाइसकेका छन् । तर, २०७६ सालबाट सुरु भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार हुन थालेपछि धेरै गर्भवती र सुत्केरीको ज्यान जोगिएको हो ।

अहिले पनि दुर्गमका गर्भवती र सुत्केरी महिलालाई जिल्लामै उपचार सम्भव नभएमा हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराइन्छ । प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सक र उपचार सेवा भएका कारण पनि जोखिममा रहेका गर्भवती र सुत्केरीहरू मृत्युको मुखबाट बच्ने गरेका हुन् । पछिल्लो चार वर्षको अवधिमा तीन सयभन्दा धेरै गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । हेलिकप्टरबाट उद्धार भएका कारण उनीहरूको ज्यान बचाउन सफल भएको कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हवाई उद्धार कार्यक्रममार्फत दुर्गमका गर्भवती र सुत्केरी आमाले नयाँ जीवन पाएको मन्त्रालयको भनाइ छ । 

अस्पतालमा सुत्केरी हुने बढ्दै

पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या वृद्धि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाही भन्छन्, ‘अवस्था हिजोको जस्तो छैन, स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रम बढेको छ । यसले पनि मातृ मृत्युदर घटेको छ, स्वास्थ्य सेवाको पहुँच पनि विस्तार भएको छ ।’ सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने गर्भवती र सुत्केरीलाई प्रोत्साहन गर्न थालेपछि यो संख्या बढेको उनको भनाइ छ । सरकारले नियमित स्वास्थ्य संस्थामा जाँच गराउन तथा सुत्केरी हुन आएका महिलालाई प्रोत्साहन रकम प्रदान गर्दै आएको छ ।

प्रदेश सरकारले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई हजार रुपैयाँ प्रोत्साहनबापत उपलब्ध गराएको छ । विस्तारै नागरिकमा सचेतना बढेको, गाउँमा बर्थिङ सेन्टरहरू स्थापना भएको, जिल्लाहरूमा विशेषज्ञ सेवा विस्तार भएको र तीनै तहका सरकारले प्रोत्साहन रकम दिन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको शाहीले बताए । यसले पनि मातृ तथा बालमृत्युदर घटाउन सहयोग पुगेको उनको भनाइ छ ।

गर्भवती र सुत्केरीको ज्यान जोगाउनका लागि मन्त्रालयले नियमित गर्भजाँच, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम, जिल्ला अस्पतालहरूको क्षमता विकास, आवश्यक उपकरणको व्यवस्थापन, विशेषज्ञ सेवाको विस्तार, प्रोत्साहन रकम वितरण र स्थानीय तहसँग सहकार्य गर्ने लगायतका काम गरिरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.