सुदूरपश्चिम रोयल्सको र्याली
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली आयोजना गरेको छ। धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्यालीमा हजारौंको सहभागिता रहेको सुदूरपश्चिम रोयल्सले जनाएको छ।
र्यालीमा सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठलगायतका खेलाडीको सहभागिता रहेको थियो।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्रप्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेस्डर दीपक विष्ट, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीलगायत क्यानका कार्यसमिति सदस्य, विभिन्न खेलका प्रदेश तथा जिल्ला संघका पदाधिकारी, खेलाडीसँगै ठूलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो।
र्यालीमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीको पनि सहभागिता रहेको थियो। रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जानकारी दिए।
उनले र्यालीमा स्थानीय सहभागिताले टोलीको हौसला झनै बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको महसुस गरेको जानकारी दिए। र्यालीको समापन रंगशालास्थित कभर्डहलमा भएको थियो। सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्नेछ। क्यानको आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल आयोजना हुँदैछ। सुदूरपश्चिमका मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्।
मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन्। सुदूरपश्चिम टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढा ऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब –इङल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) छन्।