बर्सेनि सयौंको ज्यान जाने कर्णालीका सडक
वीरेन्द्रनगर : गत कात्तिक २३ गते दैलेख सदरमुकामबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दैलेख–सुर्खेत सिमानामा दुर्घटनामा पर्यो।
उक्त दुर्घटनामा परी चार जनाले घटनास्थलमै ज्यान गुमाएका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उक्त घटनामा ३० जना यात्रु सामान्यदेखि गम्भीर घाइते भए। उक्त दुर्घटना हुनुको पछाडि तीव्र गति र यात्रुको भार धेरै भएको प्रहरीको निष्कर्ष छ। फोर्स गाडीको भारवहन क्षमता १५ देखि १८ जना मात्रै हो। प्रहरी पोस्ट आउनै लाग्दा यात्रुलाई पैदल हिँड्न लगाएर इन्ट्री गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ।
गत कात्तिक २५ गते कालीकोटको पलाता गाउँपालिका— ५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप वडा नम्बर ३ को राडु भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना भयो। उक्त दुर्घटनामा ७ जनाले ज्यान गुमाए भने १३ जना घाइते भए। ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गाडी चालकको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निधन भयो। बोलेरो जिपको यात्रु क्षमता ५ जनाको हो। तर उक्त जिपले १९ जना यात्रु बोकेको थियो। जिप एक्कासि चालकको नियन्त्रणभन्दा बाहिर गएर झन्डै पाँच सय मिटर सडकभन्दा तल जमिनमा बजारिएको थियो।
सडकबाट झन्डै आधा किलोमिटर तल खसेको उक्त जिप दुर्घटना हुनुको कारण साँघुरो सडकमा तीव्र गति र ओभरलोड रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिप दुर्घटना हुनुको मुख्य कारण न्यूनतम मापदण्डसमेत पूरा नभएको ग्रामीण सडक र क्षमताभन्दा बढी यात्रुको भार रहेको प्रहरीको ठम्याइँ छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी टेकबहादुर रावतले भने, ‘दुई वर्षअघिमात्रै खनिएको सडक कच्ची थियो। ५ सिट क्षमताको बोलेरोमा १९ जना यात्रु चढे। उकालो सडकमा जिप चढ्न नसकेर ब्याक हुँदा जिप नै भिरमा खस्यो। खोज्न सकिने अवस्था नै छैन। गाडी पूर्ण रूपमा क्षति भएको छ।’
कर्णालीमा सडक सञ्जाल जोडिएको धेरै समय भएको छैन। २०६० सालभन्दा पहिले साबिकको कर्णाली कालीकोट, हुम्ला, जुम्ला, मुगु र डोल्पा सडक सञ्जालसँग जोडिएकै थिएन। सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिम राप्ती र भेरी अञ्चलमा थिए। हाटबजार जाने र कालापहाड जानेबाहेक कर्णालीका मानिसले गाडी पनि देखेकै थिएनन्।
२०६३ साल चैत ३० गते पहिलो पटक सुर्खेतदेखि जुम्लासम्म गाडी पुगेको थियो। त्यसपछि लोकगायक मिलन लामाले ‘झल्को लाली ओठको, बाटो खुल्यो मोटर चल्यो, जुम्ला कालीकोटको’ बोलको गीत बजारमा ल्याएका थिए। उक्त गीत २०६३ सालदेखि केही वर्ष कर्णालीमा खुब चर्चामा थियो। कर्णालीवासीले नजिकबाट गाडी देख्ने र यातायात सेवा उपभोग गर्न पाउने कुराले यहाँका नागरिकमा खुसीको सीमा नै थिएन। तर उक्त खुसी बर्सेनि हुने सडक दुर्घटनाका कारण दुःखमा परिणत हुँदै गयो।
किट्टु भिरको त्यो भयानक दुर्घटना
२०६६ साल चैत ५ गते कर्णाली राजमार्गको किट्टु भिरमा भएको बस दुर्घटनामा ३८ जनाले ज्यान गुमाए। उक्त दुर्घटनामा दुई बहिनी र एक भान्जी गुमाएका कालीकोट पचालझरना गाउँपालिका— ६ तुडीखेतका कुलराज सन्ज्यालले भने, ‘तुडीखेतबाट राजापुर २६ दिन पैदल हिँडेर हाटबजार गरेको दुःखको अनुभव हामीलाई थियो।
लामो समयपछि आफ्नै जिल्ला र बस्तीहरूमा यातायात सेवा पुग्दा निकै खुसी लागेको थियो। तर किट्टु भिरमा भएको गाडी दुर्घटनामा धेरै आफन्त गुमाउँदा गाउँमा गाडी पुगेको खुसी दुःखका परिणत भयो।’
गाउँमा गाडी पुग्नु आफैंमा दुःखको कुरा भने नभएको उनले बताए। २०६३ सालमा ट्र्याक खुलेको कर्णाली राजमार्ग अहिलेसम्म स्तरोन्नति नभएको गुनासो गर्दै उनले भने, ‘त्यसपछि बनेका ग्रामीण सडकहरूको अवस्था त झन कुरै नगरौं। यसले गाउँमा सुविधाभन्दा सास्ती बढी भएको छ। यसप्रति राज्य गैरजिम्मेवार बनेको छ।’
कर्णालीमा बर्सेनि सयौं दुर्घटना
कर्णाली प्रदेशमा बर्सेनि सयौं सडक दुर्घटना हुने गरेका छन्। प्रहरीका अनुसार चालु आर्थिक वर्षको गत साउन महिनादेखि कात्तिक मसान्तसम्ममा मात्र कर्णालीमा ३ सय ५७ सवारीसाधनहरू दुर्घटनामा परे। उक्त दुर्घटनामा जम्मा ५० जना नागरिकले अकालमै ज्यान गुमाए। जम्मा ७ सय ६८ जना मानिस घाइते भए।
आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशका १० जिल्लामा १ हजार ८६ सडक दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। दुर्घटनाबाट १ सय १२ जनाको मृत्यु भएको छ भने २ हजार ७७ जना दुर्घटनामा परी घाइते भएका छन्। प्रहरीका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट मानवीय क्षति सुर्खेत जिल्लामा भएको छ। एक वर्षमा सुर्खेत जिल्लामा ६ सय ७३ दुर्घटना भएका छन्। दुर्घटनामा १ हजार १ सय ८४ जना घाइते भएका छन्।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा कर्णालीमा ५ सय ४६ सवारी दुर्घटना भए। जसमा १ सय ३१ जनाको मृत्यु भयो। १ हजार ९३ जना घाइते भएका थिए। यस्तै आर्थिक वर्ष २०७६/७७ मा २ सय ३६, आर्थिक वर्ष २०७७/७८ मा २९१ र आर्थिक वर्ष २०७८/०७९ मा ४ सय २ सडक दुर्घटना भएका छन्। आर्थिक वर्ष २०७६/०७७ मा ९७ जना, २०७७/०७८ मा ९८ जना र २०७८/०७९ मा १ सय ९७ जनाको मृत्यु भएको छ। तीनै आर्थिक वर्षमा गरी १ हजार २ सय जना घाइते भएका छन्।
किन बढिरहेछ कर्णालीमा सडक दुर्घटना
भिरालो जमिन, जटिल पहाडी र हिमाली भूगोल भएको कर्णालीमा सडक निर्माणको विषय अत्यन्तै जटिल छ। त्यसमाथि गुणस्तरहीन, असुरक्षित सडक निर्माणले झनै समस्या सिर्जना गरेको छ। त्यसैले अन्य प्रदेशको तुलनामा यस प्रदेशमा सडक निर्माण प्रगतिदर न्यून छ। त्यसमा पनि कच्ची, ग्राभेल तथा धूले सडकको हिस्सा बढी छ। यस्ता सडकमा उकालो, ओरालो, घुम्ती र ओसिलो क्षेत्रजस्ता विषयलाई सुरक्षाको मापदण्डमा राखेको पाइँदैन। जसका कारण कर्णालीका हरेक राजमार्गमा बर्सेनि सयौं दुर्घटना भइरहेका छन्।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले कर्णालीमा सडक दुर्घटना बढी हुनुमा खास तीन कारण रहेका बताए। उनले भने, ‘जसलाई हामीले थ्री–ई का रूपमा इन्जिनियरिङ, एजुकेसनल र इन्फोर्समेन्ट भन्ने गरेका छौं।’ उनका अनुसार कर्णालीका राजमार्गमा सडक दुर्घटना हुनुको पहिलो कारण इन्जिनियरिङ हो। सडक निर्माण गर्दा ग्रेट मिलेको छैन। कुनै पनि सडकमा सडक लाइट जडान गरिएको छैन। ट्राफिक संकेतहरू लेखिएको छैन।
उनले दोस्रो कारण एजुकेसनल भएको बताए। मानिसमा चेतना स्तर कमजोर हुनु, ट्राफिक नियमको बारेमा जानकारी नहुनु, कहाँ हर्न बजाउने, कति मानिस चढ्ने, कहाँ बाटो काट्ने, सडकमा कुन साइड हिँड्ने जस्ता आधारभूत ज्ञानको पनि कमी हुनाले पनि दुर्घटना निम्तिने उनको भनाइ छ। उनका अनुसार तेस्रो कारण इन्फोर्समेन्ट हो। कानुन कार्यान्वयन फितलो हुनु दुर्घटना बढ्नुको कारण हो। ‘गल्ती गर्नेलाई कारबाही हुँदैन। दण्ड र जरिवाना कम छ। भनसुनका आधारमा कतिपय अवस्थामा कानुन नै लाग्दैन। यसले पनि दुर्घटना बढिरहेको छ’, उनले भने।
सिनियर डिभिजनल इन्जिनियर सुवेदीका अनुसारमाथि उल्लेखित कारणहरू बाहेक अन्य कारणहरू पनि उत्तिकै छन्। सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन पनि भएको छैन। सार्वजनिक खरिद ऐनअनुसार कुनै पनि पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नु पर्नेछ। तर, यो कार्यान्वयन भएको छैन। प्रदेश सरकारले नयाँ निर्माण गर्ने योजनाहरूमा भने यसलाई कार्यान्वयन सुरुवात गरेको छ। यस्तो कुरा इस्टिमेट गर्दा नै उल्लेख गर्नुपर्ने हुन्छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा सडक दुर्घटनाका मुख्य कारणहरू गाडी चालक सहचालकहरूमा जनचेतनाको कमी, लापरबाही, बिना लाइसेन्स सवारी चलाउने, लागूपदार्थ सेवन गरी सवारी चलाउने, ओभरलोड हाल्ने र तीव्र गतिमा सवारी चलाउने, जीर्ण सडक, पुराना जीर्ण सवारीसाधनहरू, लामो यात्रा, भौगालिक विकटता, साँघुरो सडक, बढी घुम्तीहरू छन्। यस्तै जस्तोसुकै स्वरूपमा भए पनि सडक बनाएर सवारीसाधन चलाउने गरिएको पाइन्छ। यस्तो अवस्थामा त्यस्ता सडकको यात्रा सधैं जोखिमपूर्ण हुन्छ र बारम्बार दुर्घटना निम्तिरहन्छ। दुर्गम स्थानमा हुने दुर्घटना पछि त तत्काल उद्धारसमेत हुन सक्दैन। त्यसले पनि मृत्युको संख्या बढाउन वा घाइतेको अवस्थालाई थप जटिल बनाउने गरेको छ।
नागरिक समाजका अगुवा दमनराज बमका अनुसार कर्णालीमा यात्रुका पनि आफ्नै बाध्यता छन्। सवारीसाधनको अवस्था र क्षमताका बारेमा सबै यात्रुलाई जानकारी नै हुँदैन। यहाँका ग्रामीण स्तरमा सडक छन्। सवारीसाधन चल्दैनन्। सवारी आवागमन पातलो हुने सडकमा फाट्टफुट्ट रूपमा फेला पर्ने सवारीसाधनमै कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ। नीति निर्माताले नै सडक दुर्घटनालाई गम्भीर रूपमा नलिने प्रवृत्तिका कारण सवारीसाधनका सञ्चालक, चालक तथा यात्रुसम्मले सुरक्षाको विषयलाई नजरअन्दाज गर्ने गरेको पाइन्छ। जसकै कारण पनि कर्णालीमा दुर्घटना बढिरहेको छ। कालीकोटको पलाँतामा जिप दुर्घटनालाई उदाहरणका रूपमा लिन सकिन्छ।
गाउँपालिकाले केही वर्षपहिले कर्णालीमा दुई वटा गाडी तारेर पालिका भित्र चलाइरहेको थियो। एक गाडी पहिले नै दुर्घटना भइसकेको थियो। त्यसपछि एउटा गाडीले मात्र पालिकाभरि सेवा दिँदै आएको थियो। एउटा मात्र गाडी भएकाले पाँच जनाको क्षमता भएको जिपमा १९ जना अगाडि पछाडि कोचाकोच गरी जिपमा चढे। जसका कारण उकालो सडक जिप चढ्न नसकेर दुर्घटना भयो।
ट्राफिक प्रहरीसँगै प्रविधि आवश्यक
कर्णालीमा सडक दुर्घटना न्यूनीकरणका लागि परिचालन हुने जनशक्ति ट्राफिक प्रहरीकै जनशक्ति निकै कम छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख एसपी अपिलराज बोहोराका अनुसार कर्णालीमा ट्राफिक प्रहरीको कुल दरबन्दी १ सय ६८ जनाको छ। तर कार्यरत काजमा ल्याएर २ सय ५९ जना छन्। यतिले पनि कर्णालीको ९ हजार ६ सय ८७ किलोमिटर सडकका लागि ट्राफिक प्रहरी नै अपुग छन्।
यहाँ एक जना ट्राफिक प्रहरीको जिम्मामा ३७ किलोमिटर सडक पर्छ। कर्णालीमा हालसम्म दर्ता भएका सवारीसाधनहरू ३० हजार ३ सय ६७ वटा छन्। एक जना ट्राफिक प्रहरीले १ सय १७ सवारीसाधनहरूको निगरानी गर्नुपर्ने अवस्था छ। कर्णालीमा कुल जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ छ। एक जना ट्राफिक प्रहरीको जिम्मामा ६ हजार ५ सय १८ जना पर्छ।
कर्णालीमा मुख्य राजमार्गहरू कर्णाली राजमार्ग, रत्न राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सुर्खेत दैलेख सडकखण्ड, नाग्म गमगढी सडकखण्ड, राप्ती राजमार्ग, भेरी करिडोर, कर्णाली करिडोरजस्ता आधा दर्जन मुख्य राजमार्गहरू छन्। एसपी बोहराले भने, ‘ट्राफिक प्रहरीले मात्र कर्णालीकोे ट्राफिक व्यवस्थापन गर्न सकिने अवस्था छैन। यहाँ प्रविधिलाई पनि विस्तार गर्नु आवश्यक छ।
प्रविधिबिना अहिलेको ट्राफिक प्रहरीको जनशक्तिले मात्र समग्र कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापन गर्न निकै चुनौती छ। यसलाई पनि मुलुकका तीनवटै तहका सरकारले ध्यान दिनुपर्छ।’ उनका अनुसार प्रदेशभरि जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक बजेट, बिग्रेको ठाउँमा मर्मत, सवारी पार्किङको सुविधा, प्रदेश सवारी ऐन निर्माण, मापसे चेकजाँचका लागि किटको व्यवस्था, प्रदेशका मुख्यमुख्य बजार तथा चोकहरूमा सीसीक्यामेरा जडानजस्ता कार्यहरू जरुरी छ।
जति बढी दुर्गम क्षेत्र, सडक सुरक्षाबारेका कार्यक्रम पनि उति नै कम भइरहेका छन्। सबै ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति पनि हुँदैन। सडकको अवस्थाको अद्यावधिक, मर्मत सम्भार, पुनर्निर्माणजस्ता पक्षमा राज्यको ध्यान पुग्नै सकेको छैन। यातायात व्यवसायी रमेश सापकोटाले भने, ‘कर्णालीमा सडक दुर्घटना हुनुमा यातायात व्यवसायीको मात्रै दोष नभई यससँग सम्बन्धित सबै निकायको कमजोरी रहेको छ। कर्णालीमा बनेका अधिकांश बाटाहरूमा कसरी सुरक्षा नीति अपनाउने, बाटो कति मिटरको हुनुपर्ने, उकालो भिरमा सुरक्षाको वातावरण के हुनुपर्ने कसैलाई मतलब छैन। दुर्घटना भइसकेपछि मात्र यस विषयमा चर्चा हुन्छ।’
दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको पहल
कर्णालीमा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको छ। प्रदेश प्रहरी प्रमख बोहराका अनुसार कर्णाली प्रदेशका बढी दुर्घटना हुने स्थानहरू पहिचान गरी सचेतना बोर्ड राखिएको छ। ट्राफिक नियम पालना गर्न कडाइका साथ चेकजाँचका साथै ठाउँठाउँमा डमी प्रहरी पनि राखिएको छ। यस्तै ट्राफिक प्रहरीको आन्तरिक खटनसम्बन्धी मापदण्ड २०८१ निर्माण गरी लागू गरिएको छ।
सडक दुर्घटनाका मुख्य कारणहरू
- गाडी चालक, सहचालकहरूमा जनचेतनाको कमी
- सवारी चलाउँदा लापरबाही
- बिनालाइसेन्स सवारी चलाउने
- लागुपदार्थ सेवन गरी सवारी चलाउने
- ओभरलोड हाल्ने
- तीव्र गतिमा सवारी चलाउने
- जीर्ण र साँघुरो सडक
- पुराना जीर्ण सवारीसाधनहरू
- लामो यात्रा
- भौगोलिक विकटता
- सडकमा धेरै घुम्तीहरू
यस्तै छाडा पशुचौपाया नियन्त्रण गरी काञ्जी हाउसमा पठाउने, सडकमै चालकसँग एक मिनेट कार्यक्रम, विभिन्न चार वटा स्थानमा कन्भेक्स मिरर जडान, मध्यपहाडी लोकमार्गको २५ स्थानमा ट्राफिक संकेत बोर्ड राखिएको, बढी दुर्घटनाको जोखिम पहिचान भएका बिभिन्न ठाउँमा होर्डिक बोर्ड जडान, कर्णालीका निजी तथा सामुदायिक विद्यालयहरूमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन, सुर्खेत बसपार्कमा चालक र सहचालकलाई प्रशिक्षण दिएको, विश्वविद्यालयका विद्यार्थीहरूलाई अनुसन्धानका लागि सडक स्वयम्सेवकका रूपमा परिचालन गर्ने जस्ता कार्यहरू निरन्तर भइरहेका उनले बताए।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले पनि क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कडाइका साथ कारबाही गर्ने र अतिरिक्त सिट जफत गर्ने कार्य तीव्र रूपमा गरिरहेको छ। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख इन्सपेक्टर वकिल सुनारले भने, ‘यात्रुवाहक जिप, हाइस र गाडीहरूले यहाँको जोखिमयुक्त सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना बढेको छ। त्यसैले हामीले पनि अतिरिक्त सिटको व्यवस्थापन गरी क्षमताभन्दा बढी यात्रुहरू बोक्ने सवारीसाधनहरूलाई कडाइका साथ निगरानी गरी कारबाही गर्न थालेका छौं। कर्णाली प्रदेशका प्रायः सबै जिल्लाहरूमा सुर्खेतबाटै सवारीसाधनहरूको आउजाउ हुन्छ। कोलियामा समेत अतिरिक्त सिट जडान गर्ने र पिर्का राखेर समेत यात्रुहरूलाई कोचाकोच गरेर जोखिमयुक्त यात्रा गर्न बाध्य बनाउनेहरूमाथि चेकजाँच गरी कारबाही गरिएको हो। यसले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्नेछ।’ यसबाहेक नियमित चेकजाँचमा कडाइ गर्नुका साथै राडरमार्फत मापसे चेकिङलाई पनि नियमित बनाइएको उनको भनाइ छ।
यस्तै ट्राफिक प्रहरीले कर्णाली सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न चार्डबाड लक्षित सुरक्षा योजनाहरू, विशिष्ट व्यक्तिको सवारी सुरक्षा योजना २०८१, सवारीसाधन पार्किङसम्बन्धी कार्ययोजना २०८१, रिफ्रेस सेन्टरसम्बन्धी सुरक्षा योजना २०८१, सवारी दुर्घटनासम्बन्धी तथ्यांक विश्लेषणसम्बन्धी कार्ययोजना २०८१, सवारी दुर्घटनामा शीघ्र पहुँच र उद्धार कार्ययोजना २०८१ जस्ता महत्त्वपूर्ण रणनीतिक योजनाहरू निर्माण गरी कार्यान्वयन गरिएको छ। यसले पनि सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्नेछ।
कर्णालीमा सडक दुर्घटना बढी हुनुका खास तीन कारण छन्। जसलाई हामीले थ्री–ई का रूपमा इन्जिनियरिङ, एजुकेसनल र इन्फोर्समेन्ट भन्ने गरेका छौं। कर्णालीका राजमार्गमा सडक दुर्घटना हुनुको पहिलो कारण इन्जिनियरिङ हो। सडक निर्माण गर्दा ग्रेट मिलेको छैन। कुनै पनि सडकमा सडक लाइट जडान गरिएको छैन। ट्राफिक संकेतहरू लेखिएको छैन। दोस्रो कारण एजुकेसनल हो। मानिसमा चेतना स्तर कमजोर छ। ट्राफिक नियमको बारेमा जानकारी छैन। कहाँ हर्न बजाउने, कति मानिस चढ्ने, कहाँ बाटो काट्ने, सडकमा कुन साइड हिँड्नेजस्ता आधारभूत ज्ञानको पनि कमी छ। तेस्रो कारण इन्फोर्समेन्ट हो। कानुन कार्यान्वयन फितलो छ। गल्ती गर्नेलाई कारबाही हुँदैन।
रमेश सुवेदी, प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
कर्णालीमा ट्राफिक प्रहरीको कुल दरबन्दी १ सय ६८ जनाको छ। तर, कार्यरत काजमा ल्याएर २ सय ५९ जना छन्। यतिले पनि कर्णालीको ९ हजार ६ सय ८७ किलोमिटर सडकका लागि ट्राफिक प्रहरी नै अपुग छन्। यहाँ एक जना ट्राफिक प्रहरीको जिम्मामा ३७ किलोमिटर सडक पर्छ। ट्राफिक प्रहरीले मात्र कर्णालीकोे ट्राफिक व्यवस्थापन गर्न सकिने अवस्था छैन। यहाँ प्रविधिलाई पनि बिस्तार गर्नु आवश्यक छ। प्रविधिबिना अहिलेको ट्राफिक प्रहरीको जनशक्तिले मात्र समग्र कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापन गर्न निकै चुनौती छ। यसलाई पनि मुलुकका तीन वटै तहका सरकारले ध्यान दिनुपर्छ।
अपिलराज बोहोरा, प्रमुख एसपी, प्रदेश प्रहरी कार्यालय
यात्रुवाहक जिप, हाइस र गाडीहरूले यहाँको जोखिमयुक्त सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना बढेको छ। त्यसैले हामीले पनि अतिरिक्त सिटको व्यवस्थापन गरी क्षमताभन्दा बढी यात्रुहरू बोक्ने सवारीसाधनहरूलाई कडाइका साथ निगरानी गरी कारबाही गर्न थालेका छौं। कर्णाली प्रदेशका प्रायः सबै जिल्लाहरूमा सुर्खेतबाटै सवारीसाधनहरूको आउजाउ हुन्छ। कोलियामा समेत अतिरिक्त सिट जडान गर्ने र पिर्का राखेरसमेत यात्रुलाई कोचाकोच गरेर जोखिमयुक्त यात्रा गर्न बाध्य बनाउनेहरूमाथि चेकजाँच गरी कारबाही गरिएको हो। यसले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्नेछ।
वकिल सुनार, प्रमुख इन्सपेक्टर, जिल्ला ट्राफिक कार्यालय, सुर्खेत
तुडीखेतबाट राजापुर २६ दिन पैदल हिँडेर हाटबजार गरेको दुःखको अनुभव हामीलाई थियो। लामो समयपछि आफ्नै जिल्ला र बस्तीहरूमा यातायात सेवा पुग्दा निकै खुसी लागेको थियो। तर किट्टु भिरमा भएको गाडी दुर्घटनामा धेरै आफन्त गुमाउँदा गाउँमा गाडी पुगेको खुसी दुःखका परिणत भयो। गाउँमा गाडी पुग्नु आफैंमा दुःखको कुरा होइन। तर २०६३ सालमा ट्र्याक खुलेको कर्णाली राजमार्ग अहिलेसम्म स्तरोन्नति भएको छैन। त्यसपछि बनेका ग्रामीण सडकहरूको अवस्था त झन् कुरै नगरौं। यसले गाउँमा सुविधाभन्दा सास्ती बढी भएको छ। यसप्रति राज्य गैरजिम्मेबार बनेको छ।
कुलराज सन्ज्याल, कालीकोट पचालझरना गाउँपालिका— ६ तुडीखेत