श्रीलंकामा नयाँ सरकार गठन, राष्ट्रपति दिसानायकेले राखे रक्षा र अर्थ मन्त्रालय आफ्नै मातहत
कोलम्बो : श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्।
गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका छन्। डा. हरिनीले प्रधानमन्त्रीको सपथ ग्रहण गरेसँगै अन्य मन्त्रीहरुले पनि सपथ ग्रहण गरेका छन्।
दिसानायकेले निर्धारित समयभन्दा करिब १० महिना अगावै चुनाव गराउने र आफ्नो एजेन्डाका लागि विधायिकाको समर्थन सुरक्षित गर्ने निर्णयका लागि जनादेश प्राप्त गर्दै नेसनल पिपुल्स पावर (एनपीपी) ले २२५ सदस्यीय विधानसभामा १५९ सिट जितेको थियो ।
सन् १९७८ को संविधानले श्रीलंकामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेयता कुनै पनि दलले दुई तिहाइभन्दा बढी बहुमतसहित सबैभन्दा धेरै सीट ल्याएको छ ।
‘यो पूर्ण शक्तिले हामीलाई पूर्ण रूपमा भ्रष्ट नबनाओस् भनेर हामीले सुनिश्चित गर्नुपर्छ,’राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिएको एक समारोहमा उनले भने, ‘हामीलाई दिइएको यो विशाल शक्तिलाई लामो समयदेखि आर्थिक र राजनीतिक रुपमा उत्पीडनमा परेका जनताको आकाङ्क्षा पूरा गर्न जिम्मेवारीका साथ प्रयोग गर्नुपर्छ।’
नयाँ सरकारले बिहीबारका लागि संसदको पहिलो बैठक बोलाएको छ ।