ठगी

प्रश्नबीच सहकारी प्रकरण

प्रश्नबीच सहकारी प्रकरण

संविधानले सहकारीलाई समाजवादी उन्मुख अर्थतन्त्रको जग मानेको छ । अर्थतन्त्रको तीनमध्ये एक खम्बा मानेको छ ।

सहकारी ठगी प्रकरणको चर्चा अहिले उच्च छ । देशविदेश सबैतिर यसको चर्चा र बहस छ । यसैबेला सहकारी पीडितहरूको आन्दोलन एकातिर चलिरहेको छ भने सरकारले सहकारी ठगहरूमाथि कारबाही सुरु गरेको छ । केही व्यक्तिहरू सहकारी ठगीका अभियुक्तहरूको रिहाइको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

नयाँ पार्टीको नयाँ चाल भन्दै नागरिकले भने आश्चर्य व्यक्त गर्दैछन् । केही समयअगाडि संसद्ले बनाएको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सरकारले कारबाही थालेपछि पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको भन्दै रवि आबद्ध राजनीतिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सडक आन्दोलनमा छ ।

तथापि भ्रष्टाचार र सहकारी ठगिएको मुद्दामा सरकारलाई निष्पक्ष छानबिन गर्न दिइनुपर्ने धारणा रास्वपाभित्रै विकास भएको छ । त्यसैले त्यो पार्टी वास्तविक सहकारी पीडितलाई न्याय दिने नारा बनाएर विषयलाई मोड्न खोजिरहेको छ । अढाई वर्षअगाडि जन्मिएर संसद्मा २१ सिट बनाएर सरकारमा दुई—दुई पटक सहभागी भएको उक्त राजनीतिक दलको भविष्य सहकारी मुद्दाले आफैंमा विवाद र अन्योलको घेराभित्र परेको देखिएको छ । यसबीच सबैभन्दा गम्भीर विषय सुशासन र पारदर्शिताको वकालत गर्ने सञ्चारमाध्यम ग्यालेक्सी टेलिभिजनको सञ्चालक संस्था गोरखा मिडिया प्रालिका सञ्चालकहरू जीबी राई, रवि लामिछाने र छवि जोशीसमेत यसमा संलग्न देखिएका छन् ।

यस प्रकरणमा निम्न आय भएका मानिसहरूको बचत रकम हिनामिना गर्नेमा अन्य व्यक्ति र कम्पनीमात्र होइन, सुशासन र पारदर्शिताको वकालत गर्ने सञ्चारगृहहरू पनि संलग्न रहेको खुलासा गरेको छ र छानबिनको दायरामा ल्याएको छ । यसले सञ्चारमाध्यमको छवि पनि विवादास्पद बनाएको छ । संसदीय छानबिन विशेष समितिले ९० दिन लगाएर अध्ययन गरेका ४० वटा सहकारी संस्थामा मात्र बचतकर्ताको ७१ अर्ब ३० करोड ४३ लाख रुपैयाँ अपचलन भएको प्रतिवेदनमा उल्लेख छ । यसबाट तीन खम्बे अर्थनीति अपनाउने देशको तीनमध्येको एक खम्बा सहकारी क्षेत्र धराशायी भएको स्पष्ट छ । यसको जिम्मेवार अपचलन गर्नेहरू मात्र हैन, नियमनकारी निकायहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने आवाज उठिरहेको छ । नत्र नियमनको नाममा तिनीहरूले लिएको भत्ता र सुविधा सुपाच्य हुनु हुँदैन । कोही पनि जवाफदेहिताबाट उम्किनु हुँदैन । नियमनकारी जिम्मेवारी लिएर भत्ता पड्काउने तर वास्तवमा नियमन नगर्नेको मिलेमतो त थिएन ? प्रश्न गर्न सकिन्छ ।

सहकारीको नियमन गर्ने जिम्मेवारी पाएको संस्थाहरू कम्ती छैनन् । धेरै बिरालोले मुसा मार्दैनन् भन्ने उखान यहाँनेर चरितार्थ भएको छ । आर्थिक कारोबारका लागि राष्ट्रिय सहकारी बैंक जिम्मेवार छ भने सुशासनका लागि राष्ट्रिय सहकारी बोर्ड, सहकारी मन्त्रालय छ भने प्रदेशमा सहकारी डिभिजनहरू छन् । त्यस्तै, ७ सय ५३ स्थानीय तहहरूमा सहकारी दर्ता, नियमन र नियन्त्रणको अधिकार दिइएको छ । तर कुनै पनि निकायसँग न विवरण अध्यावधिक छ, न प्रभावकारी अनुगमन प्रणाली नै । कहिलेकाहीँ छड्के अनुगमन भए पनि रहस्यमय ढंगले त्यो सेलाउने गरेको प्रतिवेदनले औंल्याएको छ । सहकारी पीडितहरूको आरोप छ, अनुगमनकारी निकायहरू छड्के गरेर सेलाउने मात्र होइन, मिलेमतोमा काम गर्ने भएकाले नै यस्तो अवस्था आएको हो ।

खासगरी, सहरी भेगमा सञ्चालित सहकारीमा बेथिति धेरै रहेको र ठूलो बचत रकम हिनामिना भएको समितिको निष्कर्ष छ । ग्रामीण भेगमा सञ्चालित सहकारीमा त्यति समस्या नभएको देखिएको छ । देशभरका पाँच सयभन्दा बढी सहकारी संस्थाहरूमा वित्तीय सुशासनको समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । तिनीहरूले बचतकर्ताको अर्बौं रुपैयाँ फिर्ता हुन नसकेर बचतकर्ता सदस्यहरू नै पीडित बनेको गुनासो छ । माथिको अवस्था विश्लेषण गर्दा सहकारी ऐन, २०७४ मा धेरै कमजोरी रहेको पाइन्छ । पुष्टि गर्दै भनिएको छ, ‘एकातिर नियमनको प्रावधान खुकुलो हुनु र अधिकतम पाँच लाख रुपैयाँ जरिबाना गर्ने र समस्याग्रस्त घोषणा गर्नेबाहेक अरू अधिकार नियामकीय संस्थालाई नभएको भन्ने गुनासो रहेको छ ।’

सहकारी रजिस्ट्रारको एकल निर्णयका आधारमा एकै दिन सहकारीको ३५ जिल्लामा सेवा केन्द्र विस्तार गरिएको कुरा उल्लेख गर्दै प्रतिवेदनमा तिनै रजिस्ट्रारको निर्णयबाट दर्जनभन्दा बढी सहकारीका नेपालभर सेवा केन्द्र विस्तार भएको पाइन्छ । यही अनियन्त्रित सेवा विस्तारले सहकारीहरूलाई आर्थिक संकटमा धकेलेको छ । ठगी प्रकरणहरूले नेपालमा सहकारीहरूको पारदर्शिता, नियमन र उत्तरदायित्वको कमीबारे गम्भीर प्रश्नहरू उठाएका छन् । यी प्रकरणहरूले सहकारीका धेरै सदस्यहरूको आर्थिक सुरक्षामा धक्का पुर्‍याएको छ नै साथै सहकारीप्रति आम नागरिकको विश्वासमा आघात पुर्‍याएको छ ।

यस घटनाले केही गम्भीर प्रश्नहरू पनि उठाएको छ जसको चर्चा तल गरिएको छ : –

पहिलो, नियमन प्रभावकारी नभएकै हो ?:  नेपालमा सहकारीहरू सञ्चालन गर्ने नियामक निकायहरू, जस्तै सहकारी विभाग र स्थानीय प्रशासन, प्रभावकारी नियमन गर्न असफल देखिएका छन् । सहकारीहरूलाई व्यवस्थित गर्ने बलिया नियमहरूको अभावमा कतिपय सहकारीहरूले अवैध गतिविधिहरू गरिरहेका छन् तर तिनको रोकथाम गर्ने काम भइरहेको छैन ।

दोस्रो, सहकारीमा पारदर्शिताको अभाव भएको हो ?: धेरै सहकारीहरूमा पारदर्शिता र खाताको प्रभावकारी अभिलेख राख्ने प्रक्रियाको अभाव छ । यसले गर्दा सदस्यहरूले आफ्नो लगानी र लाभको वास्तविक अवस्था थाहा पाउन सक्दैनन् । यसले ठगीका योजना बनाउनेहरूलाई झन् सजिलो बनाउँछ ।

तेस्रो, सहकारी सदस्यहरूको सचेतना आवश्यक छ ? : धेरै सहकारी सदस्यहरूमा सहकारी प्रणाली र तिनमा लगानी विधिबारे आवश्यक कानुनी र वित्तीय जानकारीको कमी छ । कानुनमा सदस्यहरूका लागि नियमित सहकारी शिक्षाको व्यवस्था भए पनि व्यवहारमा त्यस्तो कार्य भएको पाइन्न ।

बरू सहकारी शिक्षाको नाममा देशविदेश भ्रमण गरेर बजेट सिध्याउने अभ्यासहरू प्रशस्त देखिएका छन् । सहकारीहरूलाई सुरक्षित बनाउन सदस्यहरू शिक्षित र सचेत हुनुपर्छ । सदस्यहरूको सचेतन र सक्रिय निगरानी भएमा सहकारीका अधिकांश समस्याहरू न्यून हुन जान्छ ।

चौथो, कडा कानुनी कारबाहीको व्यवस्था आवश्यक छ कि छैन ? : ठगी गर्ने व्यक्तिहरूलाई कडा कानुनी सजाय हुनु आवश्यक छ । सजाय यति कडा हुनुपर्छ कि यस्तो गतिविधि गर्नेको मनोबल घटोस् । साथै, सहकारी सदस्यहरूको रकम सुरक्षित गर्न सहकारी ऐनलाई संशोधन गरी नयाँ र बलियो कानुनी प्रावधान बनाउन आवश्यक छ ।

पाँचौं, सहकारी विभागको क्षमता अभिवृद्धि गर्नु पर्दैन ?: सहकारी विभाग र सहकारी डिभिजन कार्यालयहरूले सहकारीको निगरानी र लेखा परीक्षणमा पर्याप्त ध्यान दिन सकिरहेका छैनन् । यसका लागि विभाग र डिभिजनमा थप साधनस्रोत, प्रविधि र जनशक्ति आवश्यक छ । अपुग छ भने प्रदान गरेर क्षमता विकास गर्नु आवश्यक छ ।

छैटौं, वित्तीय संस्थाको जस्तै भूमिका सहकारीको हुनु उचित हो ? : नेपालमा सहकारीहरू प्रायः बैंकिङ सेवा उपलब्ध गराउने संस्थासरह कार्य गरिरहेका छन् । तर तिनीहरूको नियमन तथा जोखिम व्यवस्थापन बैंकसरह छैन । यसकारण सहकारीहरू आर्थिक संकट र ठगीका घटनाहरूमा फसिरहेका छन् । सहकारीहरूलाई वास्तविक उद्देश्यअनुसार पुनः परिभाषित गर्न र कडाइका साथ नियमन गर्न आवश्यक छ । सहकारीले कतिसम्म आर्थिक कारोबार गर्न पाउने भन्ने विषयमा सीमा तोकिनु पर्छ ।

सहकारी देशको अर्थतन्त्रको एक खम्बा हो। यो खम्बा कमजोर भएमा देशको अर्थतन्त्र कमजोर बन्दै जान्छ। त्यसैले सहकारी ठगीको प्रकरणलाई छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिने काम चाँडो होस्।

सहकारी देशको अर्थतन्त्रको एक खम्बा हो। यो खम्बा कमजोर भएमा देशको अर्थतन्त्र कमजोर बन्दै जान्छ। त्यसैले सहकारी ठगीको प्रकरणलाई छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिने काम चाँडो होस्।

तोकिएको सीमाभन्दा माथि कारोबार गर्ने हो भने वित्तीय कम्पनीमा रूपान्तर गर्ने अनिवार्य व्यवस्था हुनुपर्छ । अर्बौंको कारोबार गर्ने सहकारी हुन सक्दैन । सहकारीको सिद्धान्त नै पुँजीको आधार एक्लै व्यवसाय गर्न नसक्ने कमजोर आर्थिक क्षमता भएकाहरू आपसमा मिलेर ‘सबैका लागि एक र एकका लागि सबै’ सिद्धान्त अनुरूप काम गर्ने संस्था नै सहकारी हो । तर, अहिले सहकारी संस्थाहरू कालोधन राख्ने ठाउँ बनेका छन् । सहकारीमा कालोधन आर्जन गर्नेहरूको हालिमुहाली हुन थालेपछि आर्थिक घोटलाको तानाबाना बुन्नु स्वाभाविक हो ।

सातौं, सरकारको विरोध गरेर सहकारी पीडितको हित बलियो बन्छ ? : यस प्रश्नको जवाफ हो, सहकारी पीडितको पक्षमा आवाज उठाउनेहरूले सरकारलाई काम गर्न दिनुपर्छ । सहकारी ठगहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् भनेर सरकारलाई दबाब दिइरहनु पर्छ । विपक्षी दलहरूको भूमिका पनि दबाब दिने नै हुनुपर्छ । यहाँ अचम्मको कुरा सरकारले रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपा आन्दोलनमा उत्रिएको छ । आफू निक्कै पढेलेखेको दाबी गर्दै भाषण गरिरहेका छन् । निष्पक्ष छानबिनको माग गर्नुपर्ने होइन ? प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) समेत विपक्षीमाथि कारबाही चलाएर निरुत्साहित गर्न खोजेको भनी सरकारको आलोचना गर्दैछ । उसले पनि निष्पक्ष छानबिनको माग गर्नुपर्ने हो ।

आफू सरकारको नेतृत्वमा हुँदा गृहमन्त्री रहेका रवि लामिछाने पूरै निर्दोष रहेको भनी संसद्मा बोलेर सुनपानी छर्किन खाजेको दृश्य देखिएको छ । यसको अर्थ उनी विपक्षी दल पनि सहकारी ठगहरूलाई कारबाही गर्ने क्रमको लहरो लामो समयसम्म नतानियोस् भन्ने पक्षमा देखिएको छ । जुन आश्चर्यको विषय भएको छ । रास्वपाका नेता र कार्यकर्ताहरू रवि जानुअघि गोर्खा मिडियामा भएको घोटालाको जिम्मेवार रविलाई बनाइनु गलत भएको तर्क गर्छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिनुपूर्वको त्यो घोटलामा रविलाई सफाइ दिनुपर्ने माग गर्दै बालुवाटार धाउने र आन्दोलन गर्ने उनीहरूको कुरा आफैंमा सुसंगत देखिँदैन ।

‘सरकारी पीडितलाई न्याय दे !’ भन्ने अनि पक्राउ परेका रविलाई थुनेर सरकारले बेठीक गर्‍यो भन्ने बयान आफैंमा सुसंगत होइन । संविधानले सहकारीलाई समाजवादी उन्मुख अर्थतन्त्रको जग मानेको छ । तीनमध्ये अर्थतन्त्रको एउटा खम्बा मानेको छ । तर अर्थतन्त्रको जग त भताभुंग छ । यति कुरा थाहा नपाउने नियामक निकायहरू र अनुगमन गर्ने निकायलाई यसका लागि जिम्मेवार बनाउनुपर्छ कि पर्दैन ? दुई वर्षअगाडि सप्तकोशी विकास बैंकमा १६ करोडभन्दा बढी रकम प्रमुख कार्यकारी अधिकृतसमेत मिलेर घोटला गरेको कारण उनीहरू जेलमा रहेका छन । ६–७ वर्षदेखि चार्टर्ड एकाउन्टेन्टबाट आन्तरिक र बाह्य लेखापरीक्षण हुने र राष्ट्र बैंकले पनि नियमित रूपमा लेखा परीक्षण र अनुगमन गर्ने काम भइरहेको थियो ।

उक्त विकास बैंकको घोटालामा लेखापरीक्षक र राष्ट्र बैंकका अनुगमनकर्ताहरूलाई कुनै कानुन लागेन । यस्ता उदाहरण थुप्रै छन् । अनुगमन र लेखापरीक्षण विधि पुर्‍याउन र भ्रष्टाचार ढाकछोप गर्न मात्र प्रयोग भएको देखिन्छ । त्यसैले अनुगमनकारी निकाय, व्यक्ति र संस्था पनि त्यसको जिम्मेवारीबाट उन्मुक्ति नपाउने व्यवस्था हुनुपर्छ । कामको अनुगमन हुनु र नियमन गर्ने निकायले जनउत्तरदायी भएर काम गर्नुपर्ने व्यवस्था हुनुपर्छ । कतिपय कानुनी प्वालहरूलाई थुन्न कानुन संशोधन आवश्यक छ भने त्यो पनि छिटोभन्दा छिटो गर्नुपर्छ ।

मुख्य कुरो खुलेआम देखिएको घोटाला प्रकरणलाई निष्कर्षमा पुर्‍याउन र दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने सवालमा सरकारले मात्र होइन, विपक्षी पार्टीहरू, सहकारीका सञ्चालक र सदस्यहरू सबैको कर्तव्य हो । सहकारी देशको अर्थतन्त्रको एक खम्बा हो । यो खम्बा कमजोर भएमा देशको अर्थतन्त्र कमजोर बन्दै जान्छ । त्यसैले सहकारी ठगीको प्रकरणलाई सही किसिमले छानबिन गरी दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने कुरालाई बिथोल्ने होइन तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक छ । यस अभियानमा इमान्दारिताका साथ सम्बन्धित सबैले जिम्मेवार भएर सहकार्य गर्नु आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.